राजबिराज, १९ फागुन ।
भूमि व्यवस्था तथा कृषि मन्त्रालयले चालु आर्थिक वर्ष (आव) मा कृषि, पशु, पक्षी क्षेत्रको प्रवर्द्धनमा २ करोड रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन गरेको छ । मन्त्री शैलेन्द्रप्रसाद साहले मन्त्रालयबाट चालू आवमा सञ्चालित योजना कार्यान्वयनका लागि स्थानीय स्तरमा गइसकेकाले सुविधा लिन प्रदेशवासीलाई आग्रह गरेका छन् ।
सप्तरीको तोपामा साझा कृषि सहकारीको उदघाटन गर्दै भूमि व्यवस्था तथा कृषि र सहकारीमन्त्री साहले भने, ‘कार्यक्रम कार्यान्वयनको चरणमा गइसकेको छ, सुविधा लिन र अनुगमन मूल्यांकन गर्न प्रदेशवासीलाई आग्रह गर्छु ।’
मन्त्रालयले कृषि बजार प्रवर्द्धन, पशुपक्षी बजार प्रवर्द्धनका लागि विभिन्न भौतिक निर्माणका लागि प्रस्ताव आहान गरेको मन्त्री साहले बताए । उनले कृषि क्षेत्रमा युवालाई जोडन र बेरोजगार युवालाई स्वरोजगार बनाउन जिल्लास्तरमा कृषि ज्ञान केन्द्रमार्फत तरकारी खेती, बेमौसमी तरकारी खेती, च्याउ खेती र बगरको खेती लगायतको तालिम सञ्चालन भइरहेको जानकारी दिए ।
कृषि क्षेत्रलाई परम्परागत शैलीबाट आधुनिकीकरणतर्फ लग्नका लागि कृषिमा यान्त्रीकरणलाई मन्त्रालयले विशेष जोड दिएको उनले बताए । पछिल्लो पटक मन्त्रालयले यान्त्रीकरणलाई विशेष जोड दिँदै कृषि कार्यका लागि ट्रयाक्टर खरिद गर्न ५० प्रतिशतसम्म अनुदान दिने नीति बनाएको साहले जनाए । उनले धान रोप्ने, धान काटने लगायतका यन्त्रको खरिदमा बढीमा ८५ प्रतिशतसम्म अनुदान दिने व्यवस्था मन्त्रालयले गरेको जानकारी दिए ।
पछिल्लो समय माछामा परनिर्भर हुनुपर्ने विवशतालाई समाप्त पार्न मन्त्रालयले माछापालनका लागि पोखरी खन्न पनि अनुदान दिन सुरु गरेको छ । ‘एक हेक्टर पोखरी खन्नका लागि मन्त्रालयले ३ लाख रुपैयाँ अनुदान दिने व्यवस्था छ,’ उनले भने, ‘कुनै बेला माछा नेपालको विभिन्न सहरमा सप्लाइ गर्दै आएको प्रदेश नम्बर २ मा अहिले माछामा परनिर्भरता हुँदै गएकाले माछामा आत्मनिर्भर बनाउँदै व्यावसायिक रूपमा विकास गर्न मन्त्रालयले अनुदानको व्यवस्था गरेको हो ।’
जनआन्दोलन, मधेस आन्दोलनका सहिद परिवार र सख्त घाइतेका परिवारलाई एउटा दुहुनो गाई वा भैंसी उपलब्ध गराउन निवेदन माग गरिएको उनले बताए । यसका अतिरिक्त प्रदेशको कृषि मन्त्रालयको बजेटमा महोत्तरीबाहेक अन्य सातवटै जिल्लामा गरी कुल ८ वटा शीत भण्डार निर्माणको प्रक्रिया समेत अघि बढिसकेको साहले बताए ।
‘केही जिल्लामा शीत भण्डार शिलन्यास भई काम सुरु भइसकेको छ, केही जिल्लामा निर्माण सुरु हुने तयारीमा छ,’ मन्त्री साहले भने, ‘शीत भण्डार निर्माण भएपछि कृषि उपज राख्न किसानलाई सहज हुनेछ ।’
प्रदेश सरकारले कृषि क्षेत्रलाई अत्याधुनिकीकरण गर्नका लागि ३ वटा नयाँ संरचनाको विकास गरिएको साहले जानकारी दिए । प्रदेश नम्बर २ कृषिका लागि नाम चलेको भए पनि पछिल्लो समय माटोको खराबीका कारण उपजमा समस्या हुँदै आएको विषयलाई दृष्टिगत गरी सप्तरीमा प्रदेश स्तरीय माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको र आठवटै जिल्लामा काम थालिएको साहले जनाए ।
पछिल्लो समय माटोमा उत्पादन शक्ति ह्रास हुँदै गएको, माटोसम्बन्धी स्पष्ट ज्ञान नभएका कारण अत्यधिक रासायकिन मलको प्रयोगले उत्पादनमा ह्रास आएकाले माटो परीक्षण प्रयोगशाला किसानका लागि उपयोगी सावित हुने मन्त्री साहले बताए । यस्तै सिरहामा बाली संरक्षण कार्यालय र महोत्तरीको जलेशवरमा बीउविजन कार्यालय गरी तीनवटा नयाँ संरचना प्रदेश सरकारले स्थापना गरेको उनले बताए ।
‘हामीले कृषि र पशुपक्षी क्षेत्रलाई प्रवर्द्धन गरी आधुनिकीकरण गर्दै व्यावसायिक बनाउन विभिन्न कार्यक्रम स्थानीय स्तरमा लगेका छौं,’ मन्त्री साहले भने, ‘उपयुक्त समयमा सुविधा लिन र मूल्याङकन गर्न सबै सरोकारवालामा आग्रह गर्छु ।’
Source : https://www.kantipurdaily.com/
Write your Comment