टीकापुर घटनाको फैसला आज

रातोघर

 २२ फाल्गुन २०७५, बुधबार १३:१९  मा प्रकाशित
२७६ पाठक संख्या


कैलाली

उच्च सुरक्षा अधिकारीसहित नौ जनाको हत्या भएको टीकापुर घटनाको आज अन्तिम फैसला हुने भएको छ।

जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासमा रहेको यस घटनाको बहस मंगलबार सकिएको र आज फैसला हुने कैलाली जिल्ला अदालतले जानकारी दिएको छ।

गत बुधबारदेखि सुरु भएको बहसमा वादीतर्फका न्यायाधीवक्ता र प्रतिवादीतर्फका कानुन व्यवसायीहरूले बहस गरेका थिए। मंगलबार वादी तर्फबाट जिल्ला न्यायधिवक्ता विष्णु प्रसाद पौडेल र प्रतिवादी तर्फबाट ६ जना कानुन व्यवसायीहरुले बहस गरेका थिए।

प्रतिवादी तर्फबाट कानुन व्यवसायी गंगाराम उपाध्याय, वीरबहादुर जेठारा, गम्भीर सिंह ऐर, गजेन्द्रबहादुर केसी, नाथुराम महतो र प्रयागराज भट्टले बहस गरेका थिए।

बहस सकिए पनि समय अभावका कारण हिजो फैसला हुन सकेको थिएन।

यो घटनाको आठौं पेसीमा बहसमा प्रवेश गरेको थियो। १२औं पेसीमा यसको फैसला हुन लागेको कैलाली जिल्ला अदालतले जनाएको छ। घटनाको सुनुवाइमा भएको ढिलाइलाई मध्यनजर गर्दै अदालतले मुद्दालाई गत बुधबारदेखि निरन्तरता दिएको थियो।

प्रतिवादीहरूको वतनको अस्पष्टता लगायत विभिन्न कारणले सो घटना ढिलाइ भइरहेको थियो। थरुहट/थारूवान आन्दोलनका क्रममा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक बालक गरी नौ जनाको ज्यान गएको थियो।

घटनामा संलग्न रहेको आशंकामा कैलाली निर्वाचन क्षेत्र १ का प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरी सहित ५८ जना विरुद्ध कैलाली प्रहरीले कर्तव्य ज्यान, डाका चोरी तथा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर गरेको थियो।

घटनाको अर्को दिन थारू समुदायलाई लक्षित गरी व्यापक आगजनी, तोडफोड तथा लुटपाट भएको थियो।

कैलाली कारागारमा २४ जना थुनामा रहेका छन्। हाल चौधरी काठमाडौं डिल्लीबजार कारागारमा थुनामा रहेका छन्।

घटनामा संलग्न अरू भने फरार रहेका छन्। थुनुवा रहेका अभियुक्तमध्ये नाबालकलाई पोखरास्थित बाल सुधार गृह, सांसद चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोर कारागारमा र बाँकीलाई कैलाली कारागारमा राखिएको छ।

@nepallive.com

Write your Comment