जीतपुर –
एम्बुलेन्स सञ्चालन सहयोगार्थ आयोजना गर्न लागिएको दोस्रो जीतपुर वृहत खेलकुद, सांस्कृतिक एवम् ब्यापार मेलाको तयारी पूरा भएको छ ।
मेला आयोजक समितिले बुधवार जीतपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।
आयोजकका अनुसार महोत्सवको बिहिवार अपरान्ह उद्घाटन हुने भएको छ । मेलास्थलबाट बिहान ११ बजे कलशयात्रा सुरु हुने र कलश यात्रा सकिएपछि उद्घाटन कार्यक्रम सुरु हुने संयोजक शक्ति गुप्ताले बताए ।
जीतपुरका स्थानिय युवाहरुको सक्रियतामा आयोजना गर्न लागिएको ११ दिने महोत्सवको मुख्य उदेश्य एम्बुलेन्स सञ्चालनका लागि सहयोग जुटाउने रहेको छ । महोत्सवमा उद्योग प्रतिष्ठानको उत्पादन प्रदर्शनी, सूचना तथा प्रविधिको प्रदर्शनी, अटोमोबाईल्स, ब्यापारिक तथा ब्यवसायिक वस्तुको प्रदर्शनीका साथै विभिन्न जाति र समुदायको झाकी, विभिन्न खेलकुद प्रतियोगिता, बालउद्यानका साथै राष्ट्रिय तथा स्थानियको कलाकारको प्रस्तुती रहने आयोजक समितिका संयोजक गुप्ताले जानकारी दिएका छन् ।
पशुपति फेयर एक्जीभिसनको ब्यवस्थापनमा सञ्चालन हुने मेलामा एक सय २५ स्टल रहनेछ । आयोजकका अनुसार हालसम्म ८० भन्दा बढी स्टल बिक्री भईसकेको र स्टलमा स्थानियलाई प्राथमिकता दिइएको संयोजक गुप्ताले बताए । मेलाको मुख्य प्रायोजकको रुपमा जगदम्बा ईन्टरप्राईजेज, सहप्रयोजकमा जगदम्बा स्टील्स् रहेको छ ।
झण्डै ६३ लाख ५० हजार अनुमानित लागत रहने मेलाको सहयोगी संस्थाको रुपमा जीतपुरसिमरा उपमहानगरपालिका, रारा चप्पल, केबी साम आल्मुनियम, हुलास स्टील्स, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ रहेका छन् । मेला संयोजक गुप्ताले मेलालाई आकर्षक र उपलब्धीमूलक बनाउनका लागि विभिन्न उपसमिति गठन गरी तयारी गरिएको बताए ।
पत्रकार सम्मेलनमा प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष रामबाबु गुप्ताले स्थानिय स्तरको ब्यापारब्यवसाय प्रवद्र्धनका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत एम्बुलेन्स सञ्चालनको उदेश्य राखिएको मेला सफल हुनेमा आफू आशावादी रहेको बताए । उनले मेलाको सफलताका लागि जुटन स्थानियलाई आग्रह गर्दै एम्बुलेन्स सञ्चालनको अभियानमा आफूले पनि सहयोग गर्ने बताए ।
मेला समिति संयोजक शक्ति गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव श्रीराम साह, कोषाध्यक्ष प्रिन्स गुप्ता, प्रथम महोत्सवका संयोजक मनोजकुमार साहलगायतले मेलाको उदेश्यका बारेमा बोलेका थिए । कार्यक्रमको सहजीकरण सञ्चार संयोजक रञ्जन यादवले गरेका थिए ।
Write your Comment