भुमाफियाको चंगुलमा सिमरा मालपोत र नापी

यहाँ मालपोत कार्यालयकै परिसरमा लेखापढी ब्यवसायी संघको कार्यालय छ, जहाँबाट प्रत्येक सेवाग्राहीसंग अझैपनि शुल्क लिइन्छ ।

पुष्पराज खतिवडा

 २४ फाल्गुन २०७५, शुक्रबार १०:०२  मा प्रकाशित
७४६ पाठक संख्या



बारा ।

अनलाईन प्रणालीमा गएपछि सुध्रिएला भन्ने लागेको बाराको मालपोत र नापी कार्यालय

अझै सुध्रिन सकेको छैन । मालपोत र नापी शाखा कलैयाबाट छुट्टीएर सिमरा बजनी आएको यी दुई कार्यालय बिचौलीकाको चंगुलमा छन् ।

देशका केही यस्ता उदाहरणीय यी दुई कार्यालयहरु पनि छन् जहाँ बिचौलीयालाई नौ इन्ट्री छ । सेवाग्राही स्वयम आफ्नो कामको लागी आफैँ धाउने गरेका छन् ।

हामी अनलाइन प्रणालीमा गयौँ भनेर केही दिनअघि मात्र तामझामका साथ उत्सव मनाएको सिमराको मालपोत कार्यालय पछिल्लो समय बिभिन्न कारणमा बिवादमा पर्दै आएको छ ।

अनलाईनमा गएको महिनौ बितिसक्दापनि कार्यालयले पुरानै फारमबाट सेवा दिइएको पाइएपछि गएको आइतबारबाट मालपोत कार्यालयले अनलाईन प्रणालीको नयाँ फर्म बाध्य भएर लागु गर्यो ।

अझ रोचक त के रहेछ भने, कार्यालयलाई फारम बिक्री गर्ने निकाय त लेखापढी ब्यवसायी संघ रहेछ । उसलाई पटक पटक ताकेता गर्दापनि नयाँ फारम नदिएपछि कलैयाबाट नयाँ फारम ल्याएर मालपोतले केही दिन अघिदेखी नयाँ फारम लागु गरेको मालपोतका प्रमुख मदन गुप्ताको जानकारी छ ।

यता सरकारले अब मालपोत र नापी कार्यालयको कुनैपनि सेवाको लागी सेवाग्राही स्वयमले सेवा लिन सक्ने उद्धी जारी गरिरहेको छ । तर यहाँ मालपोत कार्यालयकै परिसरमा लेखापढी ब्यवसायी संघको कार्यालय छ, जहाँबाट प्रत्येक सेवाग्राहीसंग अझैपनि शुल्क लिइन्छ ।

‘अनलाईनमा गएपनि हाम्रो छाप नभै हुन्न, हामीलाई सवोच्च अदालतले नै मुद्धा जिताएको छ’ लेखापढी संघ सिमराका अध्यक्ष पवन पोख्रेल भन्छन्, सेवा ग्राही आफ्रैले सबै सेवा पाउँछन भने हाम्रो भन्नु केही छैन , तर हामी पनी बाँच्नु त पर्यो नि !’

यता मालपोत कार्यालय बाराका प्रमुखले अब सेवाग्राहीको सबै काम आफैँले गर्न सक्ने ब्यवस्था भएको बताउँछन् । तर कार्यालयको सेवा लिने झ्यालमा सेवा ग्राही भन्दा बढी प्राय परिचित बिचौलीयाहरुको अनुहार देखिन्छ । सधैँ मालपोतको झ्यालमा उही मानिस भेटिन्छन् । सेवाग्राही उही बिचौलिया अड्डामा पर्खिरहन्छन ।

त्यतीमात्रै होइन पहुँच पुग्ने बिचौलिया सोझै स्रेस्ता कोठामा पुगेर आफैले आफुलाई चाहिने कागज खोसल्न सक्छ र भित्रैबाट सेवा लिएर बाहिन निस्कन सक्छ ।

यो कन्तबिजोगको परिणाम स्वरुप सेवाग्राही स्वयमले भोगेको एउटा अचम्मको उदाहरण –

बीस बर्षअघि बिक्री भएको जमिनमा अहिले आएर कित्ताकाट गर्ने बदमासी हुँदा चौथौपटक जमिन खरिदकर्ता जितपुरसिमरा उपमहानगरपालिका १७ जैतापुरका नरबहादुर थिङ्गको करिब ५० लाख जोखिमा परेको छ ।

मालपोत कार्यालय सिमरा मार्फत साविक मनहर्वा ५क को कित्ता नं.६५ क्षेत्रफल ९ कठ्ठा जमिनबाट कित्ता नं.१०६० र १०६१ गरी कित्ताकाट भयो । सो कित्ता मध्ये २०७४ फागुन २९अमा १०६० बाट १०४१ र १०४२ गरी २ कठ्ठा २०५५ साल माघ १९ मा कित्ताकाटको चौथोपटक किनबेच हुँदा समेत मालपोत श्रेतामा कुनै आधिकारिक जानकारी थिएन ।

बारम्बार ९ कठ्ठा नै विक्री हुँदैआएको उक्त जमिन यसपटक स्थानिय थिङ्गले खरिद गरेपश्चात सोही जमिनको कित्ताकाट सहितको श्रेस्ता अकै ब्यक्तिले देखाएपछी यो रहस्य बाहिर आयो ।

‘ट्रायल, श्रेस्ता सहितका सम्पूर्ण प्रमाणका आधारमा कित्ता नं. ६५ खरिद गरेका हुँ, हाल खरिद गरेको ९ कठ्ठा जमिन गायब पार्ने काम नापी कार्यालयबाट भयो,’ थिङ्गले दुखेसो गरे , ‘नापी कार्यलयले जे पनि गर्ने रहेछ, अन्यायमा परियो ।’

नापीले खरिदकर्ता र बिक्रिकर्ताको रोहवरमा गरिएको कित्ताकाट गायब गर्दा आफु अन्यायमा परेँको थिङ्गले गुनासो छ । उक्त कित्ता केहीदिन अघिमात्रै लेखापढी कानुन ब्यवसायिसँगको साँठगाँठमा नापीकार्यालय सिमराबाट कित्ताकाट भएको थाहा पाएपछी उनी अहिले तनावमा छन् ।

थिङ्गले आफ्नो समस्या समाधान गरिदिन जिल्ला प्रशासन कार्यालय बारामा उजुरी गरेपछी नापी कार्यालयको बदमासी वाहिर आएको हो ।
सम्पूर्ण प्रमाणका आधारमा रजिस्टेशन गर्ने मालपोतले समेत कित्ता काटको विवरण लुकाएर पटकपटक २० बर्ष अघिकै ६५ नम्बर कित्ता खरिद बिक्रि गर्न सहयोग गर्दा अन्तिम पटक खरिद गर्ने थिङ्गको लाखौं रकम जोखिममा परेको छ ।

उक्त जमिन २० बर्षदेखी क्रमैसंग गगनदेवका माध्यमबाट विक्रि वितरण हुँदै चौथोपटकमा थिङ्गलाई विक्रि गरेपश्चात समस्या बाहिर आएको हो थिङ्गले गगनदेवसँग समन्वय गरी गत मंसिर २० गते एकमुष्ठ ५० लाख रकम बुझाएर मवडवारीसँग उक्त जमिन खरिद गरेको बताए ।

जिल्ला प्रशासन कार्यालय बाराले मालपोतका कर्मचारीहरु, कानुन ब्यवसायी र गगनदेवबाट लापरवाही र राजश्वमा समेत अनियमिता भएको ठहरगर्दै अख्तियारमा अनुसन्धान गरीदिन पत्रचार गरेको छ ।

Write your Comment