व्यापारी सुरेश केडियालाई अपहरण गर्ने दुई जनालाई पर्सा प्रहरीले गर्‍यो सार्वजनिक

रातोघर

 २५ फाल्गुन २०७५, शनिबार १२:५७  मा प्रकाशित
१२९ पाठक संख्या


पर्सा- 

उद्योगपति सुरेश केडिया अपहरणको मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पासवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

२०७३ जेठ १३ गते बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित पसहापुलबाट उद्योगपति केडिया अपहरणमा परेका थिए। केडिया अपहरणको मुख्य योजनाकार पासवान र चालक महतोलाई पर्साको छिपहरमाई गाउँपालिकाबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।

उनले सीमापारीबाट आएका संदिग्ध व्यक्तिले आपराधिक घटना घटाउन योजना बनाएको गोप्य सूचनाको आधारमा गाउँपालिका–५ भिष्वामा कारबाही गर्दा उनीहरु फेला परेको बताए।

पक्राउ परेका दुवैविरुद्ध बारा जिल्ला अदालतमा अपहरण, शरीर बन्धक, सङ्गठित अपराध, हातहतियार तथा खरखजाना मुद्दा रहेकाले आवश्यक कारबाहीका लागि बारा प्रहरीको जिम्मा लगाइने उपरीक्षक ढकालले जानकारी दिए।

प्रहरी नियन्त्रणमा रहेका पासवानले केडिया अपहरणको योजना बनाएको स्वीकार गर्दै प्रतिबन्धित लागुऔषध खरीद गर्न नेपाल आउने क्रममा पक्राउ परिएको बताए। अपहरणमा परेका केडियालाई भारतीय सुरक्षाकर्मीको सहयोगमा भारतको मोतिहारीबाट उद्धार गरिएको थियो।

@nepallive

Write your Comment