बारा ।
कलैया उपमहानगरपालिका २४ को आयोजनमा मंगलबार मनहर्वामा शहरी विकास अन्तर्गत जनता आवास कार्यक्रमका विषयमा छलफल सम्पन्न भएको छ । प्रदेशसभा सदस्य ज्वालाकुमारी साहको अगुवाईमा कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागिहरुले गतबर्ष जेठमा पहिलो किस्ता रकम पाए पश्चात आफुहरु अलपत्र परेको गुनासो प्रदेश सभा सदस्य साह समक्ष गरे ।
‘पहिलो किस्ताको रकम पाएसँगै हौँसिएर पुरानो घर भत्कायाँै र सोही ठाउँमा जग बसाल्यौं । त्यस पश्चात सरकारले अलपत्र पा¥यो,’ कार्यक्रमा सहभागी कलैया उपमहानगरपालिका २४ सखुईका राम बहादुर हजराले भने, ‘८३ हजार रकम आयो ,सो रकमले विजोक बनायो ’
त्यस्तै जनता आवासको रकमले गरिवलाई पालमा बस्न बाध्य बनाएको जितपुरसिमरा उपमहानगरपालिक १८ का ज्ञान बहादुर दर्जीको भनाई छ ।
‘जनता आवास कार्यक्रमले घरको जग निर्माणको काम मात्रै भयो’, उनले रातोघरसंग भने, ‘बाँकी काम होला भन्दाभन्दै पाल फेर्ने बेला भयो ।’
त्यसैगरी कलैया उपमहानगरपालिका २४ श्रीपुरकी ममिता देवीको पनि उही गुनासो छ ।
‘सबै प्रकृया पुरा गरेर बैंकमा खाता खुल्यो, पैसा आउने आशमा पुरानो छाप्रो भत्काएँ । ममिताले भनिन् , ‘न खातामा पैसा आयो , न पुरानै जस्तो घर बनाउन सकें, मलाई सरकारले बर्वाद बनायोे ।’
यता प्रदेश साँसद ज्वाला साहले संघिय सरकार अन्तरर्गत रहेको कार्यक्रम प्रदेश मातहत आएको र सो कार्यक्रमको जिल्ला समितिमा आफु समेत रहेकाले समस्याको तत्काल समाधानमा लाग्ने बताईन् ।
अधुरा र पुराना कामको निरीक्षण पश्चात वास्तविक विपन्नको पहिचान गरी बाँकी काम चाँडै सुरु गर्ने उनको प्रतिवद्धता छ । साहले जनता आवासको बजेट ब्यापक रुपमा दुरुपयोग भएको स्विकार गर्दै जिल्ला समन्वय समितिको कार्यालयमा यसै महिना जिल्ला कार्यालय स्थापनाको तयारीमा रहेको समेत सुनाईन् । उनले संसोधित जनता आवास ऐन अनुसार विशेष गरी डोम, मुसहर, मेस्तर र हल्खोर परिवारको घर निर्माणलाई प्राथमिकता दिने बताईन् ।
कार्यक्रममा वडा अध्यक्ष हरिलाल चौधरीले गरिबका घर बनाईदिने हो भने दुई वा तीन महिनामा सम्पन्न हुने गरिदिन आग्रह गरेका छन् । पञ्चबर्षिय योजनाले गरिबले दुःख पाउने काम भएको उनको भनाई थियो ।
शहरी विकास मन्त्रालय अन्तरगतको जनता आवास कार्यक्रमले जिल्लाका ९ सय ९३ विपन्न दलित परिवारका लागि कार्तिक महिना भित्र हस्तान्तरण गर्ने गरी २ कोठे घर बनाईदिन सुरु गरेको थियो । यद्यपी हाल सम्म एकचौथाई काम समेत भएको छैन ।
बारा जिल्लामा गत बर्षबाट सूरु भएका ९ सय ९३ वटा घरमा ९ मात्रै पूर्ण रुपमा तयार भएको र बाँकी अधुरो रहेको कार्यालयको तथ्याँकमा छ ।
Write your Comment