विप्लव समूहका प्रभावशाली नेता हेमन्तप्रकाश ओली पक्राउ

रातोघर

 ९ चैत्र २०७५, शनिबार ०८:०५  मा प्रकाशित
१३८ पाठक संख्या



काठमाडौं ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता हेमन्तप्रकाश ओलीलाई प्रहरीले पक्राउ गरेको छ। ओलीलाई हिजो (शुक्रबार) राति काभ्रेबाट पक्राउ गरिएको हो । उनी पार्टीको मध्य केन्द्रीय कमाण्ड इन्चार्जका रुपमा कार्यरत थिए ।

ओलीलाई विप्लवसमूहले नख्खुमा गराएको बम विस्फोटका मुख्य योजनाकारका रुपमा लिएर प्रहरीले खोजी अभियान चलाएको थियो ।

सरकारले गठन गरेको वार्ता टोलीसँग वार्तामा नआएको विप्लवसमूहका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको छ । सरकारले पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएपछि विप्लव समूहका नेताहरु पनि गाउँ छिरेका छन् भने, प्रहरीले उनीहरुको खोजीलाई तीव्र पारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वार्ता र सम्बादको माध्यमबाट समाधान खोज्न आग्रह गदै हिंसा र ध्वंसात्मक गतिविधि छोडन आग्रह गर्दै आएका छन् । उनले ध्वंसात्मक गतिविधि सञ्चालन गर्ने समूहलाई कानूनी कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

यसैबीच विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि सरकारले उच्च निगरानी थालेको छ ।

गएको फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै गृह मन्त्रालयले उसका गतिविधिमाथि उच्च निगरानी गर्दै संलग्न व्यक्तिलाई कानूनी कारबाही थालेको हो ।

सरकारले सबै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्ना गतिविधि र निगरानी बढाएको छ ।

नेपाल प्रहरीका ७७ वटै जिल्लामा उच्च सतर्कता अपनाइएको तथा शान्ति सुरक्षासमेत सबल र सुदृढ पारिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिएकोसमेत उनले बताए ।

-khabarhub

Write your Comment