बानेश्वर र सिंहदरबार आसपास एक्लै वा केही साथीहरुसहित तपाईँले नेकपाका अध्यक्ष प्रचण्ड जस्तै मान्छे हिँडेको देख्नुभएको छ ? हाे, उनी प्रचण्डजस्तै देखिन्छन् । उनलाई देख्नेहरु प्रचण्ड ठानेर हरेक दिन झुक्किने गरेका छन् ।तत्कालीन माओवादी २०६३ सालमा शान्तिप्रक्रियामा आएदेखि नै उनलाई प्रचण्ड सोचेर मान्छे नझुक्किएको दिन नै छैन । प्रचण्डजस्तै देखिने यी व्यक्तिपनि २०५२ सालमा सुरु भएको जनयुद्धमा प्रचण्डसँगै भूमिगत भएका थिए । शान्तिप्रक्रियापछि २ पटक संविधानसभा सदस्य भएका उनी अहिले राष्ट्रियसभा सदस्य छन् ।
सर्लक्क पछाडि लगेको कपाल, ठूलो निधार, आँखामा चस्मा, तिलचामले जुङ्गा, झट्ट हेर्दा प्रचण्डजस्तै देखिने यी व्यक्ति हुन् कालीबहादुर मल्ल । जो २०४७ सालदेखि प्रचण्डसँगै एउटै पार्टीमा राजनीति गरिरहेका छन् । प्रचण्डको राजनीतिक ‘मुभमेन्ट’ जस्तो हुन्छ, त्यसलाई इमान्दार कार्यकर्ता भएर उनले पछ्याउँदै आइरहेका छन् ।
तपाईँ प्रचण्ड हैन र !
उनलाई पहिलोपटक देख्नेहरु प्रचण्ड भनेर झुकिन्छन् । एक दिन हैन हरेक दिन । कतिपय त तपाईँ प्रचण्डको आफन्त हो भनेर पनि सोध्छन् । कपाल काट्न गयो, हजामले तपाईँ प्रचण्ड हैन भनेर सोध्छन् । उनले ताजा अनुभव रातोपाटीलाई सुनाए–‘हालैमात्र एकजना पत्रकार दगुर्दै आए । तपाईँ त प्रचण्डजस्तै लाग्यो, बोलिदिनुपर्यो भने । मैले टाइम छैन पछि भेटौला भनेँ ।’
बाटोमा हिँडिरहेको बेला पनि मान्छेहरु उनलाई एकटकले हेर्छन् । धेरैले प्रचण्ड नै हो कि भनेर हेरिरहन्छन् । कसैले सोधिपनि हाल्छन् । ‘म हैन भनेर हाँसेर हिँडिदिन्छु । अस्ति खुमलटारमा कृषि अनुधान परिषद् बाली विज्ञान शाखामा गएको थिएँ । त्यहाँको सशस्त्र प्रहरीले हतार हतार गर्दै गेट खोलिदिए, यसरी धेरै झुक्किन्छन्’ उनले भने ।
एकपटक कोटेश्वर पेरिसडाँडा पार्टी कार्यालयमा झापाका कार्यकर्ता प्रचण्डलाई भेट्न गएका थिए । उनीहरु प्रचण्डलाई बाहिर कुरेर बसेका थिए । बाहिर प्रचण्डको गाडी पनि थिएन । तर भित्रबाट एक्कासी प्रचण्ड निस्किएपछि उनीहरु दगुर्दै नजिक पुगे । तर नक्कली प्रचण्ड थाहा पाएपछि हाँस्न थाले । मल्ललाई हामी त नराम्ररी झुक्कियौँ भने । ‘हामीले प्रचण्डलाई नभएपनि तपाईँलाई फेला पा¥यौँ भनेर उनीहरुले फोटो खिचेर गए’, मल्लले रोचक अनुभव सुनाए ।
हरेक दिन प्रचण्ड सम्झिएर मानिस झुक्किएका उनका थुप्रै अनुभूति छन् ।
काम विशेषले उनी एयरपोर्ट नजिक पुगेका थिए । त्यहाँ प्रहरीहरु केही काम गरिरहेका थिए । उनलाई देखेपछि सबै सर्तक भएर बसे । उनले भने, ‘पछि हामी त्यहाँबाट अगाडि बढेपछि उनीहरु हाँस्न थाले । प्रचण्ड आएको ठानेछन् । हैन रै’छ भन्ने बुझेपछि हाँस्न थाले ।’ उनले धेरै ठाउँमा प्रचण्ड ठानिएका कारण सुरक्षाकर्मीको स्यालुट खाएका छन् ।
यसरी मान्छेहरु झुक्किने विषय उनलाई सामान्य लागिसकेको छ । उनले भने, ‘जहिले पनि बिहान, दिउँसो, साँझ मानिसहरु झुक्किरहेका हुन्छन् । बिहान पत्रिका पढ्न जाने ठाउँमा पनि मान्छे झुक्किरहेका हुन्छन् । उनीहरु यसो रोकिएर हेर्छन् अनि जान्छन् ।’
यस्तो कसरी भयो अचम्म छ । उनी भन्छन्, ‘समुदायको हिसावले पनि हामी फरक छौँ । हामी ठकुरी पर्र्यौ, उहाँ बाहुन । फेरि निधारमा उहाँको पनि एउटै साइडमा यस्तै खत छ । उहाँको नाक लामो छ, तर मेरो अलि छोटो छ । हेयर स्टाइल र जुँगाले धेरै झुक्याउँछ जस्तो लाग्छ मलाई ।’
यो कुरा पार्टी अध्यक्ष प्रचण्डलाई पनि थाहा छ । भेट भएको र मौका मिलेको बेला दुईजना बीच ठट्टा पनि हुन्छ । उनले भने, ‘बेला–बखत पार्टी अध्यक्ष प्रचण्डसँग भेट हुन्छ । हामी एक अर्कालाई जिस्काउँछौ पनि । म उहाँलाई तपाईँ म जस्तो हुनुहुन्छ भन्छु । उहाँ पनि मलाई तपाईँ म जस्तो चाहिँ हुनुहुन्छ भन्नुुहुन्छ । यसरी जोक गर्छौैँ ।’
युद्धको समयमा प्रचण्ड कस्ता छन् भन्ने बारे धेरैलाई थाहा थिएन । त्यसकारण त्यतिबेला झुक्किने कुरा भएन । त्यो बेला मल्लको हुलिया पनि फरक फरक हुने गरेको थियो । तर शान्ति प्रक्रियामा आइसकेपछि उनका पनि जुङ्गा फूल्न थाल्यो । अनुहारको आकार, कपालको स्टाइल र जुङ्गाले दुई जनाको अनुहार मिल्न गएको उनको ठम्याई छ ।
नक्कली प्रचण्डबारे बैठकमै प्रचण्डसँग ठट्टा
उनले एकपटक बैठकमा प्रचण्डसँग ठट्टा गरे । उनले भने, ‘म एकदिन बिहान बालुवाटार जान भनेर टंगालको बाटो गइरहेको थिँए । बाटोमा ३ जना महिलाहरु थिए । मलाई औंल्याएर खासखुस–खासखुस गरे । म आफ्नो बाटो लागेँ ।
भोलिपल्ट पनि ती महिला मध्ये एक जना महिला हाँसिन् । मैले भने, ‘तपाईँ किन हाँस्नुभयो ? उनले तपाईँ प्रचण्डको को पर्नुहुन्छ भनेर सोधिन् । म उहाँको केही पर्दिनँ । उहाँ हाम्रो नेता म उहाँको कार्यकर्ता भनेँ ।’
ती महिलाले भनिन्, ‘हिजो तपाईँलाई हामीले प्रचण्ड ठानेर कुरा गरेको । कसैले हो भने, कसैले हैन भने । झन्डै हाम्रो झगडा परेको ।’
प्रचण्ड भएर किन एक्लै हिँड्या होला भनेर एकजनाले भनिन् । प्रचण्डजस्तो मान्छे, ट्याक्टिस बुझेको मान्छे, काठमाडौंको वातावरण बुझ्न हिँडेको होला भन्ने कुरा भयो ।
अर्की महिलाले प्रचण्डको भूँडी अलि ठूलो थियो, यो मान्छेको भूँडी सानो छ भनिन् । दोश्री महिलाले कहिले बाबुरामले मुक्का हान्छन्, कहिले बैद्यले मुक्का हान्छन्, त्यसलै भूँडी सानो भएको जवाफ फर्काइन् ।
अर्की महिलाले प्रचण्ड त अलि अग्लोजस्तो थिए, अहिले कसरी होचा भए भनिन् । अर्कीले तल–माथिबाट दुबैतिर कार्यकर्ताले थिचेपछि कहाँ मान्छे अग्लो हुन्छ भनिन् ।’ मल्लले यसरी ठट्टा गरेपछि बैठकस्थल हाँसोले गुञ्जिएको थियो ।
प्रचण्ड आफ्नो जीवनको एउटा आर्दश
सँगै जनयुद्धमा होमिएका कालीबहादुर मल्लले प्रचण्डलाई आफ्नो जीवनको एउटा आर्दश पात्रका रुपमा लिएका छन् ।
उनले भने, ‘पार्टी फुटेर तहसनहस पनि भयो । म प्रचण्डलाई धेरै विश्वास गर्छु । म एउटा दावी गर्छु कि यो शताब्दीकै मार्क्सवादको तुलनात्मक सफल प्रयोगकर्ता हुनुहुन्छ । डाइनामिक क्षमता प्रचण्डमा छ । यो देशमा प्रचण्डको नेतृत्वमा थालिएको जनयुद्धले गणतन्त्र ल्याएको छ । संघीयता भएको छ । समावेशी निर्वाचन प्रणाली छ । मौलिक हकसम्बन्धी यतिधेरै कानुन बनेका छन् । तिनको कार्यान्वयन पनि भइरहेको छ ।’
२०४७ सालदेखि २०७५ सालको अन्तिम क्षणसम्म उनी प्रचण्डको वरीपरी छन् । उनले प्रचण्डलाई एउटा आर्दश नेताका रुपमा बुझेका छन् भने प्रचण्डले पनि एउटा राम्रो कार्यकर्ताका रुपमा हेरेका छन् । उनी भन्छन्, ‘हामी ठट्टा पनि गर्छौँ, रमाइलो पनि गर्छौँ, सबै कुरा राम्रो छ । प्रचण्डले मलाई राम्रोसँग चिन्नुहुन्छ । म प्रचण्डलाई विचार, चिन्तनका आधारमा चिन्छु । उहाँले एउटा कार्यकर्ताको रुपमा मलाई बुझ्नुहुन्छ ।’
को हुन् कालीबहादुर मल्ल ?
प्रचण्डभन्दा ४ वर्ष कान्छा मल्ल जाजरकोट खलंगामा २०१६ साल फागुन २२ गते जन्मिएका थिए । स्थानीय त्रिभूवन हिमालय हाइ स्कुलमा १० कक्षासम्म पढेपछि उनले मास्टरी गर्न थाले । १० वर्षसम्म ४ वटा स्कुलमा २०४३ सालसम्म पढाए । उनले भने, ‘त्यो बेला एसएलसी दिनेबित्तिकै स्कुलमा पढाउने काम पाइन्थ्यो । २०४६ मा बहुदलीय व्यवस्था आएपछि औपचारिक रुपमा राजनीतिक दलमा क्रियाशील भएँ । २०४७ मा नेकपा मशालमा पूर्णकालीन भएर लागँे ।’
२०४८ सालको आम निर्वाचनमा उनले जाजरकोट १ बाट मशालको तर्फबाट उम्मेदवारी पनि दिए, पछि एमाललेसँग तालमेल गर्ने भएपछि उनले उम्मेद्वारी फिर्ता लिए । तर २०४९ को स्थानीय तहको निर्वाचनपछि जिल्ला विकास समिति सदस्यमा निर्वाचित भए ।
२०५२ माघ सम्म जिल्ला विकास समिति सदस्यमा रहे । पार्टीले जनयुद्ध घोषणा गरेपछि उनी फागुन १ गतेबाट भूमिगत भए । भूमिगत भएपछि पार्टीले दिएका विभिन्न किसिमका जिम्मेवारीहरु बहन गरे ।
उनले भने, ‘मेरो पार्टीमा सधैं एउटै जिम्मेवारी भएन । कहिले साँस्कृतिक मोर्चा, कहिले जनसत्ता, कहिले जनमुक्ति सेनाको प्लाटुन कमिसार, कहिले भूगोल कहिले के भएर काम गरे । म पार्टीमा सुरुमा साँस्कृतिक मोर्चाको कमिसार थिएँ । हाइस्कुल पढ्ने बेला अलि अलि गीत कविता लेख्थेँ । त्यसलाई आधार मानेर साथीहरुले साँस्कृतिक मोर्चाको जिम्मा लिन भनेका थिए ।’
उनले सुरु सुरुमा गीत लेखे । तर कुनै प्रकाशन तथा रेर्कड भएनन् । जाजरकोटमा प्रकाशन र रेकर्ड गर्ने सुविधा थिएन । २०४५ सालमा उनी शेरबहादुर अधिकारीसँग रेडियो नेपालमा आए । त्यो देउडा गीत थियो । कम्युनिस्ट विचारधारा बोकेका उनलाई त्यो गीत चित्त नबुझेपछि उनी रेकर्ड नगराई फर्किएका थिए ।
२०३९ सालमा जनसाँस्कृतिक केन्द्र नामको संस्था स्थापना गरेका थिए । जुन त्यतिबेलाको नेकपा चौथो महाधिवेशनसँग निकट रहेको थियो । यो संस्थामाफर्त केही गीत रचेर गाउँ गाउँमा साँस्कृतिक कार्यक्रम गरिएको थियो । उनले भने, ‘कम्युनिष्ट संगठन बनाउँन त्यो प्रचारात्मक आन्दोलन थियो । त्यो संगठन २०४३ सालसम्म क्रियाशील भयो । पछि साथीहरु कता कता लागे ।’
१० वर्षको जनयुद्धपछि २०६३ साल वैशाख १९ गते दैलेखबाट उनले भूमिगत जीवन त्याग गरेर खुला भए ।
२०६४ सालमा संविधान सभाको निर्वाचनमा जाजरकोट क्षेत्र नम्बर १ बाट चुनाव लडे । प्रतिस्पर्धीको भन्दा २ तिहाई मत ल्याएर संविधानसभा सदस्यमा निर्वाचित भए ।
२०७० मा भने उनी समानुपातिक प्रणालीबाट सांसद भए । पार्टी फुटेपछि भेरी–कर्णाली इन्चार्ज भएर काम गरे । गत वर्ष भएको निर्वाचनपछि उनी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।
४७ सालमा प्रचण्डसँग भेटः जनयुद्धमा काँचो आलु खाएर ५ छाकको भोक मेटेँ
२०४७ साल असोजमा पहिलोचोटी उनले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेका थिए । चितवनमा मशालको पहिलो महाधिवेशन थियो । उनले भने–‘सोही क्रममा उहाँसँग मेरो पहिलो भेट भएको थियो ।’
फागुन १ गतेदेखि सुरु हुने जनयुद्धका लागि उनले माघ २५ गतेबाट भूमिगत हुने तयारी गरेका थिए । घरमा अब जनयुद्ध सुरु हुन्छ भनेर उनी हिँडे । उनको परिवारै पार्टीमा लागेको हुनाले कसैले रोक्ने कुरा भएन । त्यही दिन बाटोमा पुलिस भेट भयो । उनलाई कहाँ जान लागेको भनेर सोधेपछि जिल्ला विकासको योजना अनुगमन गर्न जान लागेको उनले बताए । त्यसपछि उनी भूमिगत भए । जाजरकोटमा फागुन ३ गते गाउँको ‘सामन्तीको तमसुक’ जलाएर जनयुद्ध सुरु गरिएको उनले स्मरण गरे ।
जनयुद्धलाई उनले सहज रुपमा लिएका छन् । ‘मैले डु अर डाईको रुपमा मात्र लिँए । अरु कुरा भनिनँ । यसलाई ठूलो भारीको रुपमा लिइनँ । रमाइलो पनि हुने, नरमाइलो पनि हुने दुईटै कुरा थियो । युद्ध भनेपछि रुने हाँस्ने दुबै हुँदोरहेछ । कहिले पुलिसले लखेट्ने आफू भाग्ने, कहिले आफूले लखेट्ने पुलिस भाग्ने, दुईटै कुरा हुन्थ्यो । मोर्चामा विजय प्राप्त गर्यो हाँसो आयो, साथीहरु सहिद हुँदा आँशु पनि आउँथ्यो । त्यही ढंगले हाम्रो १० वर्ष चल्यो । बाँच्न बिर्सियो भने सबै कुरा सहज हुँदो रहेछ ।’
युद्धका क्रममा धेरै घटनाक्रम भोगेका उनले केही घटना स्मरण गरे ।
५३ सालतिरको कुरा हो । अहिलेका बनमन्त्री शक्ति बस्नेत, उनी र केही साथीहरु जंगलमा थिए । पुलिसले घेरा हालेको रहेछ । उनीहरुले जंगलमा मृगको आवाज भन्ने ठानेका थिए । खाना नखाएको पनि ४ छाक भएको थियो । मृग बसेको भनेको त पुलिस पो रहेछ । उनले भने–‘हामीलाई घेरा हाल्यो, हामी तोडेर भाग्यौँ । कापी किताव सबै मेरो झोलामा थियो । पुलिसले झोला तान्न खोजेको थियो म भीरबाट हामफालेँ ।
निधारमा चोट लागेर रगत आयो । शक्तिजी पहाडको दुलोमा लुक्नुभएको रहेछ । बाहिर आउनुस् भनेर बोलाएँ । राती–राती धेरै पहाडको एउटा ओडारमा गएर बस्यौँ । बिहान ढिलासम्म सुतिएछ । हामीलाई त देखेन तर बिहान पुलिस आएर घेरा हालिसकेछ । झोला छुटेछ । त्यसमा मेरा गीतका डायरी थियो । फिलिप्सको रेडियो थियो । मैले बजाउने गरेको रेडियो फेला पारेपछि कालीबहादुर म¥यो भन्ने हल्ला चलेछ । पहिलोचोटी आफू मरेको हल्ला सुनेँ ।’
११ बजे पुलिस फर्किएपछि माथि उनीहरु लेकतिर गए । खाना नखाएको ५ छाक भइसकेको थियो । त्यहाँको आलुबारी खोस्रिएर ढुङ्गाले थिचेर काँचै आलु खाएँ । हिउँमा शिकारीले खसालेको नुन खुसार्नीको पोको भेटियो त्यो पनि खाएको उनले सुनाए ।
उनले भने, ‘पाँचौ दिन पुलिस छैन भन्ने थाहा पाएपछि १ जना साथीलाई गाँउमा पठाएर रोटी ल्याउन लगाएर रोटी खायौँ । त्यो बेला हाम्रो ६ जनाको टोली थियो । पुलिसले लखेटेपछि डुमरबहादुर राउत भन्ने साथीलाई घँुडामा काठ बिझेर घाइते हुनुभएको थियो । उहाँहरु ३ जना छुट्नुभयो । शक्तिजी म लगायत हामी ३ जनाको टोली थियौँ ।’
मृत्यु नजिकै आएर फर्किएको अर्को एउटा घटना उनले सम्झिए ।
५७ सालतिर कर्णाली जनसत्ताको घोषणा कार्यक्रम थियो जाजरकोटको जुगाथापाचौरमा । अहिलेका सभामुख कृष्णबहादुर महरा प्रमुख अतिथि थिए । जनसत्ताको खड्गबहादुर विश्वकर्मा संयोजक र उनी सहसंयोजक भएर १५ जनाको कमिटी बनेको थियो । हेलिकोप्टरबाट बम प्रहार भयो । एउटा भैसी मर्यो, एकजना कार्यकर्ताको मृत्यु भयो ।
युद्ध नै भइसकेपछि हरेक दिनको घटना महत्वपूर्ण हुन्छ । जनयुद्धमा लागेपछि उनले निरन्तर रुपमा पार्टीले दिएको हरेक जिम्मेवारी पूरा गरेका थिए ।
उनले भने, ‘भूमिकाका हिसावले म पोलिटिकल कमिसार नै थिएँ । त्यतिबेला हेडक्वाटरलाई हेर्ने, सेनाका लागि आवश्यक सामग्री आपूर्ति गर्ने, कब्जा गरेर ल्याएका हतियार, गोली गठ्ठालाई भण्डारण गर्ने, कहीँ प्रशिक्षण भयो भने त्यसमा सहभागी हुने, प्रशिक्षणपछि आफ्नो ठाउँमा जाने कुरा हुन्थ्यो । युद्ध हुँदा बन्दुक समातेर प्रत्यक्ष्य लडाइँ भन्दा पनि राजनीतिक क्षेत्रमा म बढी सक्रिय हुन्थेँ ।’
जनयुद्धका बेला उनको ३ वटा रुप हुन्थ्यो । उनी त्यति धेरै लुकेर बसेनन् । उनी कुनैबेला पूरै दारी पाल्थे, कहिले दारी राख्दैनथे, कहिले टोपी लगाउथे । त्यतिबेला सेना पुलिसले नचिन्ने भेषभूसामा हिँड्ने गर्थे । उनले भने, ‘अनुहार चेन्ज गरेर म आफ्नो गतिविधिहरु गर्ने गर्थेँ ।’
जनयुद्ध क्षति भन्दा उपलब्धि : जाँदा चार, फर्किँदा छ
१० वर्ष चलेको युद्धमा प्रत्यक्ष संलग्न भएका तथा संलग्न नभएका धेरैले अकालमा ज्यान गुमाए । परिवार सहित जंगल पसेका कैयौंले आफन्त गुमाएर फर्किएका धेरै उदाहरण छन् । तर मल्लको कथा भने अली फरक छ । उनको ४ जनाको परिवार जनयुद्धमा सहभागी भए । युद्धकै क्रममा जेठो छोराले बिहे गरे । बुहारी र नाती समेत थपिएर ६ जना भएर घर फर्किए ।
उनले भने, ‘युद्धको मोर्चामा निरन्तर रहेपनि सायद गोली नलागेको परिवार हाम्रो होला । जाजरकोटको जुली भन्ने ठाउँमा केन्द्रीय कमिटीको कार्यक्रम थियो । पोष्टबहादुर बोगटी इन्चार्ज हुनुहुन्थ्यो । माथिबाट बम खसालियो । त्यहाँ त्यस्तो क्षति त भएन तर पछि थाहा भयो बमको आवाजले मेरो कानमा असर गरेको रहेछ । यति मात्रै हो, हाम्रो परिवारले त्यस्तो क्षति बेहोर्नुपरेन ।’
उनको कान्छो छोरा जनमुक्ति सेनाको कमान्डर नै थिए भने पार्टीको कामका लागि जेठो छोरा बर्दियामा खटिएका थिए । युद्धका क्रममा परिवारका सदस्यहरुको बेला बेला भेट हुने गथ्र्यो । अहिले जेठो छोराको परिवार जाजरकोटमा छन् भने कान्छो छोरा नेपालगञ्जमा बस्छन् ।
बिन्दास जिन्दगीः पत्रिकालाई १ घण्टा, फेसबुकलाई २ घण्टा
अहिले उनको जिन्दगी बिन्दासले बितेको छ । पहिले पहिले पत्रपत्रिकाका लागि लेख पनि लेख्ने गर्थे । अहिले छोडिसेके । उनले भने, ‘पहिले म पत्रिकामा लेख्ने गर्थे, अहिले फेसबुकमा लेख्छु । बिहान १ घण्टा पत्रिका पढ्ने, २ घण्टा फेसबुक चलाउने गर्छु । त्यसपछि नियमित रुपमा सिंहदरबार आउँने गर्छु । जनताको काम गर्छु । कोही सिंहदरबारको गेट पास चाहियो भन्दै आँउछन् । उनीहरुलाई सहयोग गर्न बढी भन्दा बढी कोशिस गर्ने हो ।’
जिल्लाबाट कोही राहतका लागि आँउछन्, कोही उपचार सहयोगका लागि आउँछन् । सहयोगका लागि गृह मन्त्रालय गइदिने, संघीय मामिला मन्त्रालय गइदिने गरेको उनले सुनाए । काठमाडौंमा उनी, श्रीमती र २ नाती बस्छन् । राष्ट्रियसभामा उनको अब १ बर्ष कार्यकाल बाँकी छ । उनले भने–‘आफैले गोला निकालेको २ बर्षको समय आएछ ।’ अब १ वर्षपछि जाजरकोट फर्किने, खेतीपाती गर्ने र पार्टीले जिम्मा दिएको काम गर्ने उनको योजना छ ।
-ratopati
Write your Comment