प्रधानाध्यापकको एसईई टिप्स : परीक्षामा कसरी राम्रो गर्ने ?

रातोघर

 ११ चैत्र २०७५, सोमबार १८:२९  मा प्रकाशित
३७२ पाठक संख्या



चैत १० गते आइतबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको छ । यो परीक्षाले उच्च शिक्षाको ढोका खोल्नेछ । विगतमा एसएलसीलाई र पछिल्ला वर्षहरुमा एसईई परीक्षालाई विद्यार्थी र अभिभावकले हाउगुजीका रुपमा लिएर मनोवैज्ञानिक भय, त्रासमा पर्ने गरेका छन् । तर, त्यस्तो विल्कुल होइन, एसईई परीक्षालाई पनि अन्य परीक्षा जस्तै सहज रुपमा लिएर पूर्ण आत्मविश्वासका साथ उत्तर लेखेमा राम्रो नतिजा ल्याउन सकिन्छ ।

विद्यार्थीहरुमा परीक्षाका लागि के-के तयारी गर्ने भन्ने कुराको राम्रो ज्ञान नभएका कारण परीक्षामा आफूले जानेका विषयवस्तुहरु राम्ररी लेख्न नसकेको पाइन्छ । अनावश्यक तनाव लिने कारण धेरै परीक्षार्थीले जानेका कुरा पनि बिर्सने र राम्ररी लेख्न नसकेर नतिजा बिगार्ने गर्छन् ।

यसकारण निम्न कुराहरुलाई परीक्षार्थीहरु र अभिभावकहरुले समेत ध्यान दिई व्यवहारमा कार्यान्वयन गरेमा परीक्षामा सफलता प्राप्त गर्न सकिन्छ । एसईई परीक्षामा कसरी राम्रो गर्ने भन्ने सम्बन्धमा विद्यार्थी र अभिभावकलाई उपयोगी र सहयोगी हुन सक्ने केही टिप्सहरु यस्ता छन् –

१. अघिल्लो दिनको तयारी

– घरमा अभिभावकहरुले रमाइलो वातावरणको सिर्जना गर्नका लागि सहयोग गरिदिने । कुनै प्रकारको तनाब उत्पन्न हुने खालका कृयाकलापहरु घरमा हुन नदिनका लागि पहल गर्ने ।

– सकेसम्म परीक्षाको समयमा अभिभावकहरु आˆना बालबालिकाहरुसँगै बस्ने । परीक्षा केन्द्रसम्म आफैंले पुर्‍याइदिने र उत्साह भर्ने काम गर्ने ।

– भोलि परीक्षा छ, पढ पढ .. भनेर छोराछोरीहरुलाई दबाव नदिने । स्वतन्त्र रुपमा छाडिदिने । सल्लाह मात्र दिने र निगरानीमात्र राख्ने ।

-परीक्षाको अघिल्लो दिन शरीरलाई अपच हुने किसिमले खाना नखाने । पानी प्रशस्त पिउने ।

– परीक्षाका लागि आवश्यक पर्ने सामग्रीहरु जस्तै कलम, जियोमेट्री बक्स, क्याल्कुलेटर र प्रवेशपत्र एकैस्थानमा ठिक्क पारेर राख्ने ।

– राति अबेरसम्म नबस्ने, सुत्नुअघि एक गिलास मनतातो पानी पिएर सुत्ने । बरु बिहान सबेरै उठेर आफ्नो तयारीका साथै पुनरावलोकन गर्ने ।

– परीक्षा केन्द्रमा पुगेर वा परीक्षाको दिन नयाँ कलम किन्नुहुँदैन । आफूले लेखिरहेको कलम कम्तिमा ३ वटा जति ठिक्क पारेर राख्नुपर्छ । ताकि कलमका कारणले परीक्षामा धोका नहोस् ।

२ . परीक्षाको दिन

बिहान आफूले आस्था राखेको भगवानको आराधना गर्ने वा प्रार्थना गर्ने । यसले आफूप्रति आत्मविश्वास जगाउन मद्दत गर्दछ ।

-बिहान हल्का नास्ता खानुपर्छ भोकै परीक्षा दिन जानुहुँदैन ।

-विद्यालय पोशाक वा हल्का रङका पोशाकहरु लगाउनुपर्छ । आफूलाई सहज हुने पोशाक लगाउने ।

– परीक्षाका लागि प्रवेशपत्र लगायत अघिल्लो दिन नै तयारी गरेका सामग्रीहरु लैजान कुनै हालतमा पनि नबिर्सने ।

– सकभर सम्भव भएसम्म आˆना घरपरिवारका सदस्यहरुसँग नै परीक्षा केन्द्रमा जानुपर्छ । नभए आफ्नो मन मिल्ने साथीहरुसँगै रमाइलो कुराकानी गर्दै परीक्षा केन्द्रमा जानुपर्छ । यसरी गरिने कुराकानीहरुमा केही रुपमा विषयवस्तुहरु पनि समेटिउन् ।

– पहिलो दिनमा ४५ मिनेट अगाडि र अरु दिनमा आधा घण्टाअघि परीक्षा केन्द्रमा पुग्ने गरी पूर्ण तयारीका साथ घरबाट निस्कनु पर्छ ।

३. परीक्षा केन्द्र जाँदा 

– आफूले परीक्षाका लागि आवश्यक पर्ने सामग्रीहरु बाटोमा सुरक्षित साथ लैजानका लागि ध्यान दिनुपर्छ ।

– मनमा कुनै पनि डर र त्रासको भावना पैदा हुने कुराहरु कत्ति पनि सोच्नु हुँदैन । सबै मैले पढेका विषयहरु त हुन् जानेकै र पढेकै पाठहरुवाट नै प्रश्नहरु आउने हुन् भन्ने कुरा मनमा सोच्नुपर्छ ।

४. परीक्षा केन्द्रमा पुगेपछि

– गेटमा पुगेर सुरक्षाकर्मी वा कसैलाई प्रवेश पत्र देखाएर भित्र पस्नुपर्ने हुन्छ । त्यसैले त्यसको पूर्वतयारीका साथ गेटमा पुग्ने ।

– परीक्षाकेन्द्रमा पुगेर कुनै पनि कुरा पढ्ने घोक्ने वा रट्ने गर्नु हुँदैन र साथीहरुसँग धेरै कुराकानी नगरीकन आफूले जांच दिने कोठा खोज्नतर्फ लाग्नुपर्छ ।

– आफ्नो कोठा पत्ता लागिसकेपछि १५ मिनेटअगावै परीक्षा हलमा पसेर आफ्नो सिम्बोल नम्बर भएको स्थानमा बस्नुपर्छ ।

५. परीक्षा हलमा

– परीक्षा हलमा परीक्षार्थीले बिताउने तीन घण्टाको समय निकै महत्वपूर्ण हुन्छ । यस समयको सही सदुपयोग र केही सामान्य कुराको हेक्का राख्न सकिएमा परीक्षामा सोधिएका प्रश्नहरुको समाधान सहज रुपमा दिन सकिन्छ ।

कतिपय विद्यार्थीहरुलाई यस कुराको सही ज्ञान नहुँदा परीक्षा सकिएपछि पछुताउनुबाहेक अरु केही हुँदैन ।

क) उत्तरपुस्तिका पाएपछि –

– सर्वप्रथम उत्तर पुस्तिकाको अवस्था हेर्ने यदि कतै च्यातिएको छ वा कतै खुम्चिएको उत्तर पुस्तिका छ भने तुरुन्त निरीक्षकलाई भनेर कपी साट्नु पर्छ ।

– उत्तर पुस्तिकामा आˆनो नाम नलेखी सिम्बोल नम्बर अंक र अक्षर दुबैमा स्पष्टसँग केरमेट नगरीकन लेख्नुपर्छ ।

– सिम्बोल नम्बरलाई पुनः प्रवेशपत्र अनुसार जाँच गरी मिले नमिलेको यकिन गर्नुपर्छ ।

अन्य विवरणहरुमा परीक्षाको मिति, विषय, पत्र, स्कृ प्ट (भाषा), राम्ररी नआत्तिइकन लेख्नुपर्छ ।

– मार्जिन मिलाउने अनि संभव भएसम्म दायाँ, बायाँ धर्का तान्ने गर्नुपर्छ । -कपीमा नै पहिल्यै धर्का भएमा तान्नु आवश्यक छैन ।)

– आˆना सबै सामग्रीहरु पूर्णरुपमा तयारी गरी राख्नुपर्छ ।

– यी सबै काम सकेपछि धैर्य भएर प्रश्नपत्रको प्रतिक्षा गरी बस्नुपर्छ ।

ख) प्रश्नपत्र पाएपछि –

– प्रश्नपत्र पाएपछि प्रश्नहरु पूरा भए वा नभएको, नछापिएको, काटिएको, मधुरो भएको अवस्थामा निरीक्षकलाई तुरुन्त जानकारी गराई अर्को प्रश्नपत्र लिनुपर्छ । सबै प्रश्नहरुलाई सर्सती एकपटक हेर्नुपर्छ । यसरी पहिल्यै हेरिएमा ढुक्क हुन सकिन्छ र मस्तिष्कमा उत्तरको खाका पनि तयार हुँदै जान्छ ।

ग) प्रश्नहरु समाधान गर्ने क्रममा –

– प्रश्न समाधान गर्नुपूर्व प्रत्येक प्रश्नहरुको प्रश्न नम्बर अनिवार्य रुपमा लेख्नुपर्छ । प्रश्न नसारिकन उत्तर लेख्नुपर्छ ।

जस्तै : प्रश्न नम्बर १ को उत्तर

– विशेष गरी व्याकरणमा खाली ठाउँ भर्ने, सही उत्तर छानेर भर्ने जस्ता प्रकृतिका प्रश्नहरुमा भने प्रश्न लेख्ने गर्नु पर्छ । प्रश्नमा दिइएको निर्देशन राम्ररी अध्ययन गरी उत्तर लेख्नु पर्छ ।

– संभव भएसम्म क्रमानुसार नै प्रश्नहरुको समाधान गर्नु राम्रो हुन्छ । कुनै प्रश्नको उत्तर नआएमा त्यसलाई छोडेर अर्को प्रश्नको उत्तर लेख्नुपर्छ । त्यही प्रश्नमा नै अल्झिएर समय खेर फाल्नुहुँदैन ।

– फरक छुट्टयाई लेख्नुपर्ने, पत्र लेख्नुपर्ने, चित्र बनाउनुपर्ने जस्ता प्रश्नको समाधान सकेसम्म एउटै पेजमा अट्ने गरी लेख्नुपर्छ । कुनै पेजमा उत्तर लेखेर थोरै मात्र ठाउँ छ भने अर्को पेजमा लेख्नुपर्छ ।

– प्रत्येक प्रश्नको उत्तर लेखिसकेपछि दुई लाईनजति छाडेर अर्को प्रश्नको उत्तर लेख्नुपर्छ । यसो गर्दा कपी सफा र आकर्षक देखिन्छ ।

– कलममा मसीको प्रयोगका हकमा भने सकभर नीलो मसी प्रयोग गर्दा धेरै राम्रो हुन्छ । चित्र सिसाकलमले बनाउनुपर्छ । कलमको मसी वा कलम नै परिवर्तन गर्नुपर्ने अवस्था आएमा निरीक्षकलाई जानकारी गराएर हस्ताक्षर गराई मात्र प्रयोग गर्नुपर्छ ।

– कुनै दुईको वा तीनको मात्र उत्तर दिनुहोस् भनिएका निर्देशनहरुलाई राम्ररी बुझेर मात्र उत्तर लेख्नुपर्छ नत्र अनावश्यक रुपमा बढी प्रश्नहरु हल गर्दा समय पुग्दैन । अन्य प्रश्न छुट्न सक्छन् ।

– परीक्षा हलमा साथीहरुसँग कुराकानी गर्नुहुँदैन । परीक्षाको मर्यादालाई कायम राखी उत्तर लेखनमा व्यस्त रहनु पर्छ ।

– हाजिरी अनिवार्य रुपमा गर्नु पर्छ । हाजिरी विवरण भर्दा आफ्नो सिम्बोल नम्बर, मूल कपीनम्बर, विषय, आफ्नो नाम र हस्ताक्षरका विवरणहरु राम्ररी नआत्तिएर भर्नुपर्छ । नबुझेमा निरीक्षकलाई सोध्नुपर्छ ।

– जुन प्रश्नहल गरिन्छ, त्यसलाई प्रश्नपत्रमा सानो ठीक लगाउनु पर्छ । जसले गर्दा प्रश्नहरु छुट्ने सम्भावना हुँदैन ।

– कपी सकिनुभन्दा ५ मिनेट अगावै निरीक्षकसँग उठेर थप कपी माग्नुपर्छ । पूर्णरुपले सकिएपछि मात्र कपी माग्नु हुँदैन यसो गर्दा कपी माग्दा निरीक्षकले कपी ल्याएर दिँदा एक, दुई मिनेटको समय त्यसै खेर जान्छ ।

परीक्षामा सेकेण्ड समयको पनि निकै महत्व हुन्छ । अगाडी नै थप कपी मागेर निरीक्षकले कपी दिँदै गर्दाको समयमा पनि आफूले लेख्दै गर्नुपर्छ ।

घ) सबै प्रश्नको उत्तर लेखेपछि – 

– सकभर समयको व्यवस्थापन गरेर अन्तिममा १० देखि १५ मिनेट बचाउनु पर्छ । यो बाँकी समयमा लेखेका उत्तरहरु पढ्ने कतै केही गल्ती भेटिएमा सुधार गर्ने धेरै नै शब्द गल्ती भेटिएमा धेरै फोहर नगरीकन एक लाइनले चट्ट काटेर सफा अक्षरमा लेख्नुपर्छ । कतै केही कुरा छुट भएमा पनि लेख्न सकिन्छ ।

– खाली ठाउँमा भरेका शब्दलाई अन्डरलाइन गर्नुपर्छ ।

– समय भएमा आफूले लेखेका उत्तरहरु (हिसाब आउने विषयहरुका हकमा) प्रश्नपत्रमा टिपोट गर्नुपर्छ ।

– कपीको अन्तमा समाप्त, द्यभकत या गिअप, आˆनो सम्पर्क फोन नम्बर, कपी परीक्षकहरुलाई आˆना कथा व्यथाहरु अनि मलाई जसरी पनि पास गरिदिनुहोला लगायतका अनुनय विनयका कुराहरु पटक्कै लेख्नुहुँदैन ।

सही उत्तर लेखिएका कपीहरुको सहीरुपमा मूल्याङ्कन हुन्छन् । त्यस्ता कुराहरु लेखिएमा कुनै अर्थ रहँदैन ।

ङ) उत्तरपुस्तिका बुझाउँदा –

– राम्ररी सबै थप कपीहरु राम्ररी स्टिच (नथ्थी) गर्नुपर्छ । सम्भव भएसम्म स्टिच मेशिन पनि आफैले लैजाँदा राम्रो हुन्छ ।

– कपी थपिएको विवरण मूल उत्तर पुस्तिकामा उल्लेख गर्नुपर्छ, जसका लागि निरीक्षकलाई वा आफैंले पनि ‘१’ प्लस १ प्लस ‘१’ लेख्नुपर्छ । आफैले लेखेमा निरीक्षकसँग रुजु गराउनुपर्छ ।

-उत्तरकपी परीक्षा हलमा खटिएका निरीक्षलाई नै बुझाउनुपर्छ ।

च) परीक्षा हलबाट बाहिरिनु अगाडि –

– प्रवेशपत्र लगायत आफ्ना सम्पूर्ण परीक्षाका सामग्रीहरु सम्झेर ल्याउनुपर्छ ।

– हलबाट बाहिर निस्केर परीक्षा के भयो कस्तो भयो भनेर साथीहरुसँग सामान्य रुपमा छलफल हुनु त स्वभाविकै हो तर यसमा धेरै समय खर्चिनु हुँदैन ।

– खुसी भएर मैले जे गरेको छु राम्रो गरेको छु भन्ने सम्भिmएर घर वा स्कूलको होस्टेल जानुपर्छ ।

५. र, घरमा पुगेर-

– परिवारका सबै सदस्यहरुलाई परीक्षामा के कस्तो भयो भनेर जानकारी दिनुपर्छ । प|mेस भएर आराम गरी अर्को दिनको परीक्षाको तयारीमा पूर्ववत अनुसार लाग्नुपर्छ ।

-घनश्याम पाठक (लेखक नेपालको उत्कृष्ट सामुदायिक विद्यालय कालिका मानव ज्ञान मावि बुटवलका प्रधानाध्यापक हुन् ।)

Write your Comment