सहरको ट्राफिक जाम, प्रदूषण, कोलाहल र भिडभाडसँग हामी दिनहुँ भुक्तमान हुनुपर्छ। सहरलाई अपनाउँदा–अपनाउँदै हामी सहरसँग अभ्यस्त भइसकेका छौं।
यही सहर हाम्रा साना केटाकेटीलाई कस्तो लाग्दो हो?
कस्तो लाग्दो हो उनीहरूलाई यहाँको ट्राफिक जाम? यहाँको प्रदूषण? यहाँको कोलाहल र भिडभाड?
अझ ती साना नानीबाबुहरू साइकल चलाउँदा हुन् त यति ठूलो सहरमा एउटै गतिलो साइकल मार्ग नदेख्दा कस्तो प्रश्न उठ्दो हो उनीहरूको मनमा?
हामीले काठमाडौंलाई यसरी साना नानीबाबुहरूका आँखाबाट अहिलेसम्म हेरेका छैनौं।
हल्यान्डको राजधानी एम्सटर्डम यसमा उदाहरण हुन सक्छ।
एम्सटर्डमले सहरी सडकहरू केटाकेटी र खासगरी साना साइकल चालक निम्ति सुरक्षित बनाउने अभियान सुरु गरेको छ।
यसको निम्ति सहरी पूर्वाधार, यातायात र ट्राफिक समस्याबारे उनीहरूको धारणा र अनुभव बुझ्न ९ वर्षीया लोट्टा क्रोकलाई ‘जुनियर साइकल मेयर’ नियुक्त गरिएको ‘गार्डियन’ पत्रिकाले लेखेको छ।
गार्डियनका अनुसार एम्सटर्डमका साइकल मेयर केट्लीजेन बोयर्माले सहरलाई बालबालिकामैत्री बनाउने उद्देश्यले गत जुन महिनामा ‘जुनियर साइकल मेयर’ पद सिर्जना गरेकी थिइन्।
उक्त पद सिर्जना भएपछि सहरभरिका केटाकेटीबीच प्रतिस्पर्धा गराइएको थियो। स्कुले विद्यार्थीलाई सुरक्षित साइकल यात्रा गराउन जसले नयाँ योजना फुराउन सक्छ, उसैलाई नियुक्त गर्ने भनिएको थियो।
लोट्टा क्रोक यही प्रतिस्पर्धामा सबैलाई उछिनेर जुनियर साइकल मेयर बनेकी हुन्।
उनले एम्सटर्डममा बस्ने १४ वर्षमुनिका १ लाख २५ हजार बालबालिकाका लागि कसरी सहर सुरक्षित बनाउन सकिन्छ भनी मेयर बोयर्मालाई सुझाव दिने छिन्।
केटाकेटीलाई साइकल चलाउन प्रेरित गर्नु र साइकल यात्रा क्रममा आउने अवरोधबारे सम्बन्धित निकायलाई जानकारी गराउनु उनकै जिम्मेवारीमा पर्छ।
एम्सटर्डमलाई संसारकै साइकल राजधानीका रूपमा लिइन्छ। यहाँको जनसंख्या ८ लाख ५० हजार छ भने साइकलको संख्या त्योभन्दा बढी ८ लाख ८१ हजार छ। सहरको ६३ प्रतिशत जनसंख्या दिनहुँ साइकल चढेरै ओहोरदोहोर गर्छन्।
यति बाक्लो साइकल प्रयोगबीच पनि केटाकेटीहरूका लागि यो सुरक्षित सवारी मानिँदैन।
लोट्टाले जुनियर साइकल मेयर बनेलगत्तै ‘रेल्वे स्टेसनहरूमा ठूला मान्छेलाई जस्तै सानाहरूका लागि साना साइकल व्यवस्था गर्न’ सुझाव दिइन्।
‘मेरो आमाबुबासँग कार छैन। हामी सार्वजनिक रेल प्रयोग गर्छौं। त्यसपछि रेल्वे स्टेसनमा पाइने साइकल चढ्छौं,’ उनले गार्डियनसँग भनेकी छन्, ‘त्यहाँ मेरो निम्ति सानो साइकल छैन। मैले बुबाकै साइकल पछाडि बस्नुपर्छ। अर्काको साइकल पछाडि बसेर यात्रा गर्न मलाई त्यति सुरक्षित लाग्दैन।’
यस्तो सुझावपछि उनको घरछेउको रेल्वे स्टेसनमा साना साइकल राख्ने प्रस्ताव गरियो।
जुनियर साइकल मेयर भने यतिमै सन्तुष्ट भइनन्।
‘म जुनियर साइकल मेयर भएको आफ्नो निम्ति मात्र होइन,’ उनले भनिन्, ‘एम्सटर्डमका सबै केटाकेटीले यस्तै सुविधा पाउनुपर्छ।’
उनको अडानपछि एम्सटर्डम रेल्वेले पहिलो चरणमा एउटा स्टेसनबाट सुरु गरेर विस्तारै सबैतिर साना साइकलहरू राख्ने बताएको छ।
आफ्नो अभियानकै क्रममा लोट्टा साइकल लिएर सहरको अत्यन्त व्यस्त मूलचोकमा निस्किइन्।
‘हेर्नुस्,’ उनले भनिन्, ‘यति बेला यहाँ चारै दिशाबाट गाडी आइरहेका छन्। यस्तोमा साइकल चलाउने केटाकेटीहरू अलमलिन्छन्।’
उनले साइकल चलाउन तीनवटा मुख्य समस्या पहिचान गरेकी छन् — कार, साइकल चलाएर सहर घुम्ने पर्यटक र स्कुटर।
‘कारले सडकका धेरै ठाउँ ओगट्छन्। पर्यटकहरू साइकल चलाउँदै घरि दायाँ कुना पुग्छन्, घरि बायाँ। सोच्दै नसोचेको ठाउँमा घ्याच्च साइकल रोकेर अलमल्याइदिन्छन्। स्कुटरहरू हामीलाई उछिनेर अघि बढ्न खोज्छन्,’ उनी भन्छिन्, ‘मूलचोकहरूलाई साइकलमैत्री बनाउन ट्राफिक चाप कम गर्नुपर्छ।’
जुनियर साइकल मेयर नियुक्त गर्ने ‘आइडिया’ मेयर केट्लीजेन बोयर्माकै हो।
‘यो सहरमा १ लाख २५ हजार बालबालिका छन्, उनीहरूलाई कसरी साइकल चलाउन प्रेरित गर्ने भनेर म सोचिरहेको थिएँ,’ उनले भनिन्, ‘यसका लागि उनीहरूकै उमेरको ‘रोल मोडल’ तयार पार्नुपर्छ।’
लोट्टाले एम्सटर्डममा त्यही ‘रोल मोडल’ को भूमिका निर्वाह गर्नेछिन्।
तर, के एम्सटर्डममा अझै पनि साइकल चलाउन प्रेरणा दिइरहनुपर्ने खाँचो छ र?
‘यो सहरमा दुई सय समुदायका मान्छे बसोबास गर्छन्। सबैलाई साइकल सुरक्षित सवारी हो भन्ने नलाग्न सक्छ,’ बोयर्मालाई उद्धृत गर्दै गार्डियन लेख्छ, ‘उनीहरूका केटाकेटी बस चढेर स्कुल जान्छन्। सोह्र वर्ष पुगेपछि स्कुटर चलाउन थाल्छन्। जब जागिर खान्छन्, कार चढ्छन्।’
‘हामीले सहरबाट चारपाङ्ग्रे सवारी कम गर्दै लैजाने हो भने साना केटाकेटीलाई साइकल चलाउन प्रोत्साहित नगरी हुन्न। उनीहरूले आज साइकल चलाउन थाले भोलि ठूलो भएपछि कारको आवश्यकता देख्ने छैनन्,’ साइकल मेयर बोयर्मा भन्छिन्।
जुनियर साइकल मेयर नियुक्त भएयता लोट्टा अन्तर्वार्ता दिन र सहरमा हुने साइकल प्रतियोगिताहरू उद्घाटन गर्नमा व्यस्त छिन्।
उनी अब मेयरलाई भेटेर आफ्ना नयाँ प्रस्तावमा छलफल गर्ने तयारी गर्दैछिन्।
‘मेरो एउटा प्रस्ताव साइकल पार्क बनाउने हो, जहाँ केटाकेटीले साइकल सिक्न सक्छन्,’ उनी भन्छिन्, ‘अहिले मजस्ता धेरै केटाकेटी सडकमै सिक्छन्। यो सुरक्षित तरिका होइन। छुट्टै पार्क बनाउने हो भने धेरैभन्दा धेरैलाई सिकाउन सकिन्छ।’
उनको अर्को प्रस्ताव एम्सटर्डम आउने पर्यटकलाई साइकल चलाउने नियम सिकाउनु हो।
‘धेरै पर्यटकलाई हाम्रो नियम थाहा छैन। त्यही भएर जथाभाबी कुदाइरहेका हुन्छन्। छुट्टै एप बनाएर पर्यटकलाई साइकल नियमबारे जानकारी दिन सकिन्छ,’ लोट्टा भन्छिन्।
उनी आफैं पनि नियमित साइकल चलाउँछिन्।
‘म स्कुल जाँदा हिँडेरै जान्छु, किनकि मेरो स्कुल घरनजिकै छ। यसबाहेक अरू जहाँ जानपरे पनि साइकल नै चढ्न रुचाउँछु,’ उनी भन्छिन्, ‘म हरेक शनिबार साइकल लिएरै थिएटर जान्छु। एम्सटर्डमको ट्राफिक धेरै व्यस्त छ। सडकलाई साइकलमैत्री बनाउन अझ धेरैभन्दा धेरै मान्छेले कार चलाउन छाडेर साइकलमा आउनु जरुरी छ।’
एम्सटर्डमको सफल प्रयोगपछि संसारका अन्य साइकल मेयरहरू पनि आफ्ना जुनियर सहकर्मी नियुक्त गर्ने योजनामा छन्।
‘हाम्रो प्रयास सबैले मन पराएका छन्,’ बोयर्मा भन्छिन्, ‘म अभिभावकलाई सम्झाउँछु, लोट्टा केटाकेटीसँग कुरा गर्छिन्। हामीले केटाकेटीका आँखाबाट हेर्न सक्यौं भने मात्र उनीहरूका लागि सहर सुरक्षित र सहज बनाउन सक्छौं।’
‘सहर भनेको ८ वर्षे र ८८ वर्षे व्यक्तिको निम्ति बराबर सुरक्षित हुनुपर्छ,‘ उनी भन्छिन्।
लोट्टा पनि जुनियर साइकल मेयरको अवधारणा संसारभरि लागू हुनुपर्नेमा जोड दिन्छिन्।
बेलायतको बाथ सहर भ्रमणमा जाँदाको अनुभव सुनाउँदै उनले भनिन्, ‘त्यहाँ धेरै कम केटाकेटीले साइकल चलाइरहेको देखेँ। जुनियर साइकल मेयर नियुक्त गरेर सबैलाई साइकल चलाउन प्रोत्साहित गर्न सकिन्छ।’
Write your Comment