रामबहादुर बमजनमाथि सुक्ष्म अनुसन्धान भइरहेको छ : गृह

रातोघर

 १४ चैत्र २०७५, बिहीबार १०:३०  मा प्रकाशित
२१६ पाठक संख्या



तपस्वीको भेषमा बस्ने रामबहादुर बमजनको आश्रमबाट हराएका अनुयायीहरूको खोजी र उनको आश्रममा भएका भनिएका घटनामा प्रहरीले सुक्ष्म अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने र दोषीलाई कारबाही गर्ने जवाफ गृहमन्त्रालयले संसदलाई दिएको छ।

गत माघ २१ गते नेपाली कांग्रेसका सांसद गगन थापाले बमजनको आश्रममा चलेका अपराधिक कार्यको अनुसन्धान कसरी भएको छ भन्दै गृहमन्त्रीका नाममा प्रश्न दर्ता गरेका थिए। त्यही प्रश्नको लिखित जवाफमा गृहले बमजनमाथि सुक्ष्म अनुसन्धान भइरहेको उल्लेख गरेको हो।

‘सिआइबी तथा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेकाले अनुसन्धान पूरा भएपछि सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुन बमोजिमको काबाही गरिने छ,’ गृहको जवाफमा उल्लेख छ।

बमजनको आश्रमबाट सम्पर्कविहीन भएका अनुयायीहरू (हालसम्म डोल्मो, चुन्मो, सञ्चलाल वाइवा, सुरेश आलेमगर र रिता बोट) को खोजी भइरहेको पनि गृहले जनाएको छ। प्राप्त उजुरीमाथि प्रहरीले सुक्ष्म तरिकाले छानबिन गरिरहेको गृहको जिकिर छ।

‘प्रहरीबाट घटनाको सुक्ष्म तरिकाले अनुसन्धान कार्य भइरहेकोछ,’ गृहले  भनेको छ, ‘पीडित र सम्भावित व्यक्तिहरूसँग बयान कागज, डग स्निफिङ, पोलिग्राफ टेष्ट, दशीप्रमाणको प्रयोगशालामा परीक्षण गराउने, कल डिटेलिङ अध्ययन गर्ने, शंकास्पद गतिविधिको अवलोकन अध्ययन गर्ने, प्रमाण जुटाउने कार्य भइरहेको छ।’

अहिलेसम्मको अनुसन्धानबाट मिश्रित नतिजा प्राप्त भएको गृहको जवाफमा उल्लेख छ। कतिपयले उजुरी तामेलीमा राख्न निवेदन दिएको लगायत कारणले अनुसन्धान जटिल बनेको पनि गृहले जनाएको  छ।

‘केही उजुरी झुठा विवरणका आधारमा दिएकाले तामेलीमा राखिपाउँ भन्ने निवेदन प्राप्त भएका, पोलिग्राफ टेष्टका लागि स्वीकृति नदिएका जस्ता कारणले गर्दा अनुसन्धानलाई केही जटिल बनाएको छ,’ गृहले भनेको छ।

जवाफमा पीडित र साक्षीहरूको सुरक्षा व्यवस्थापनमा सरकार संवेदनशील रहेको उल्लेख छ।

बमजनले आश्रममा बस्ने आनी र चेलाहरूमाथि गरेको यौनजन्य हिंसा, बलात्कार र हत्याबारे सरकारको धारणा माग्दै सांसद थापाले २ महिनाअघि संसदमा प्रश्न दर्ता गराएका थिए।

संसदको नियमावली अनुसार यसरी दर्ता भएका प्रश्नको उत्तर गृहमन्त्रीले  १० दिनभित्र दिनुपर्छ। तर गृहले संसदको हिउँदे अधिवेशन सकिएपछि जवाफ पठाएको हो।

सेतोपाटीले तीन महिनाअघि बमजनको आश्रममा भएको बलात्कार, हत्या र हिंसाको दुष्चक्रबारे स्टोरीहरू गरेको थियो। तिनमा बमजनले आनीहरूमाथि गरेको बलात्कार र यौन शोषणा साथै चेलाहरूलाई दिएको यातनाबारे विस्तृत विवरण थिए। यसरी यातन दिँदादिँदै मकवानपुरका सञ्चलाल वाइवाको सिन्धुपाल्चोक आश्रममा ज्यान गएको एक प्रत्यक्षदर्शी पूर्व चेलाले सेतोपाटीलाई बताएका थिए।

आश्रमबाट भागेर आएकी गंगामायाले आफूमाथि बमजनले बलात्कार गरेको बताएकी थिइन्।

भदौ ३० गते काठमाडौं आइपुगेर बमजनविरूद्ध उजुरी दिन गएकी गंगालाई प्रहरीले बालबालिकाको संरक्षण गर्ने संस्थामा पठाएको थियो।

पछिल्लो ९ वर्षदेखि बमजनकै आश्रमबाट हराएकी सर्लाहीकी रिता बोट, ४ वर्षदेखि हराइरहेका दुई आनी नुवाकोटकी चुन्मो, मकवानपुरकी डोल्मो साथै मकवानपुरकै सञ्चलालका परिवारले त्यसपछि प्रहरीमा बमजनविरूद्ध जाहेरी दिएका थिए। बमजनको आश्रममा हुने अपराधको श्रृङ्खलापछि आफ्ना छोरा सुरेश पनि ४ वर्षयता बेपत्ता भएको भन्दै बाराका हस्तबहादुर आलेमगरले प्रहरीमा जाहेरी दिए।

यी सबै जाहेरीमाथि सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोट, बारा र सर्लाहीका जिल्ला प्रहरी कार्यालयको संयोजन गर्दै सिआइबीको टोलीले अनुसन्धान गरिरहेको छ।

प्रत्यक्षदर्शीहरूको बयान व्यक्ति मारेर गाडेको भनिएको ठाउँमा उत्खनन लगायतका काम गरेको प्रहरीले जनाएको छ।

मकवानपुरका वाइवालाई कुट्दाकुट्दै ज्यान गएपछि आश्रमभन्दा ३ सय मिटर माथिपट्टीको डाँडामा खाल्डो खनेर गाडेको त्यसपछि नुनका पोका खन्याएको प्रत्यक्षदर्शीले बताएका थिए। उनकै आधारमा उत्खनन् गर्दा प्रहरीले ९ वटा नुनको पोका फेला पारेको थियो। बमजनको आश्रममा अहिलेसम्म बस्दै आएका अर्का अनुयायीले पनि सञ्चलालको हत्या भएको प्रहरीसमक्ष पुष्टि गरेका छन्।

-setopati

Write your Comment