अमेरिकामा उजुरी परेको मलाई थाहा नै थिएन – प्रचण्ड

रातोघर

 १४ चैत्र २०७५, बिहीबार २१:२८  मा प्रकाशित
२५३ पाठक संख्या



काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि अमेरिकामा परेको उजुरी थाहै नपाएको बताएका छन् । पत्नी सीता दाहालको उपचारका लागि एकसाता लामो अमेरिका भ्रमणमा गएका प्रचण्ड नेपाल फर्केपछि विहीवार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अमेरिकामा आफूमाथि परेको उजुरीको बारेमा आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका हुन् ।

‘मेरिल्याण्ड भन्ने स्टेटको अदालतमा उजुरी परेको भन्ने कुरा रैछ,’ प्रचण्डले भने, ‘जहाजमा हुँदा मैले चाहिं थाहा पाइन, तर मेरो छोरी र अरुलाई थाहा भइसकेको रैछ । मलाइ टेन्सन हुन्छ भनेर नभनेका रैछन् । प्लेनमा उत्रिनेबित्तिकै त्यहाँ राजदूत र अरू आउनुभएको थियो । मलाई त भूमिगत रूपमा बाहिर निकाल्ने जस्तो कुरा गर्नुभो । मैले त किन त्यसो गर्ने, सिधै नगएर भन्ने सोचें ।’

दूतावासमा अधिकारीहरूले केही भइहाल्यो भनेपनि सफलतापूर्वक निकाल्ने प्लान गरेको प्रचण्डले खुलासा गरे । ‘तर केही हुनेवाला थिएन फेरि,’ प्रचण्डले भने, ‘खालि भनौं एउटा कन्फ्युजन जस्तो मात्र सृजना भएको थियो । तर हामी त्यस्तो केही अनुभव त गरिएन । भोलिपल्ट बिहान नै आफ्नो प्रक्रियामा लागियो ।’

‘केही मान्छेहरू अमेरिकामा नेपाललाई बदनाम गर्न पाउँदा, नेपालको जो कोही नेतृत्व गएपनि नकारात्मक दृष्टिले हेर्ने र अलि बदनाम गर्न पाइयो भने खुसी हुने प्रवृत्ति केही मान्छेमा छ,’ प्रचण्डले भने, ‘तर त्यस्तो केही हर्कत हुन भने पाएन ।’

अमेरिकास्थित केन्‍टुकी विश्विविद्यालय फ्र्यांकफोर्ट केवाईका अनुसन्धान सहायक तीलबहादुर श्रेष्ठले संघीय अनुसन्धान ब्यूरो बाल्टिमोर, एमडीमा प्रचण्डविरुद्ध १७ मार्चमा उजुरी दिएका थिए ।

-lokantar

Write your Comment