१४ हजार पदमा लोकसेवा खुल्दै

रातोघर

 १४ चैत्र २०७५, बिहीबार २२:१३  मा प्रकाशित
३३५ पाठक संख्या



काठमाडौं ।

सरकारले कर्मचारी समायोजन सम्पन्न गरेलगत्तै लोकसेवा आयोगले संघीयदेखि स्थानीय तहसम्मका लागि १४ हजार पदमा बिज्ञापनमार्फत आवेदन खुला गर्ने तयारी थालेको छ ।

सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले कर्मचारी समायोजन सम्पन्न भइसकेकोले अब अपुग कर्मचारी भर्ना प्रक्रिया थाल्न लोकसेवा अयोगलाई निर्देशन दिइसकेको बताएकाछन् ।

तर आयोगले भने कर्मचारी समायोजनसँगै १४ हजार पदमा आवेदन माग्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।

सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन सकेर प्राविधिक पदमा जनशक्ति अभाव भए प्रदेश र स्थानीय तहलाई नै भर्नाको अनुमति दिएको बताएपनि आयोगले भने प्राविधिकसहितको पदमा दर्खास्त माग्ने तयारी थालेको हो ।

सरकारले यही आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था गर्ने योजना पनि अघि सारेपछि बिज्ञापनको तयारीमा लोकसेवा आयोग लागेको हो ।

देशका विभिन्न स्थानीय तहमा कर्मचारीहरुको अभाव भईरहेको गुनासो आईरहेका बेला मन्त्री पण्डितले चालू आर्थिक वर्षभित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था हुने गरी परीक्षा लिन लोक सेवा आयोगलाई निर्देशन दिएको पनि बताए ।

सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगले तत्काल २० हजार विभिन्न तहको कर्मचारीको लागि आवेदन खुला गर्ने बताएको छ ।

मन्त्री पण्डितले कर्मचारीहरुको व्यवस्थापनका लागि प्रदेश लोक सेवा आयोग गठन नभएसम्म संघीय लोक सेवा आयोगले नै संघ, प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनका लागि परीक्षा लिने काम गर्ने अख्तियारी दिइएको बताएकाछन् ।

सरकारको यो निर्णयसँगै आयोगले तत्कालका लागि १४ हजार पदमा भर्ना खोल्ने तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामापनि फाष्ट ट्याकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन गर्ने गृहकार्य अघि बढाउने उल्लेख छ ।

प्रशासन, स्वास्थ्य, इन्जिनियरिङ, कृषि तथा वन, लेखापरीक्षणलगायत सबै सेवा समूहमा सहसचिव स्तरसम्ममा लोकसेवा खुल्ने छ ।

समायोजनसँगै सरकारले तीनै तहमा रिक्त दरबन्दीको प्रक्षेपण गर्दा तत्काल सबै सेवा समूहका कम्तीमा २० हजार दरबन्दी रिक्त हुने देखिएको हो ।

तर लोकसेवाले भने हाल यतिधेरै संख्यामा लोकसेवा आयोग आवेदन माग्न नसकिने जनाएको हो । ‘सरकारले भनेजस्तो २० हजार पदमै बिज्ञापन हुदैन, कम्तीमा १४ हजारसम्म यो बर्षभित्र भर्ना हुनेगरी काम गर्ने गरी प्रक्रिया अघि वढेको छ,’ आयोगका एक अधिकारीले शिलापत्रसँग भने ।

हाल प्रदेश लोकसेवा आयोग गठन भइनसकेकाले एकपटकका लागि केन्द्रीय लोकसेवा आयोगले नै संघ, प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने कर्मचारीको पदपूर्ति गर्ने गरी व्यवस्था मिलाइनेछ ।

लोकसेवाले जुनजुन तहमा कर्मचारी आवश्यक पर्ने हो सोही तहकै लागि मात्र विज्ञापन प्रकाशन गर्नेछ । फरकफरक तहकै लागि परीक्षा लिएपछि लोकसेवाले जुन तहकालागि परीक्षा लिएको हो सोही तहमै कर्मचारीलाई नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था मिलाइनेछ ।

प्रदेश लोकसेवा आयोग गठन भएपछि भने प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने कर्मचारीको पदपूर्ति प्रदेश लोकसेवा आयोगले गर्नेछ । केन्द्रीय लोकसेवा आयोगले भने संघीय सरकार र यसअन्तर्गत रहने कार्यालयकालागि मात्रै कर्मचारीको पदपूर्ति गर्ने संवैधानिक व्यवस्था छ ।

समायोजन प्रक्रिया लम्बिएका कारण लोकसेवा आयोगले यसवर्ष सञ्चालन गर्ने विभिन्न तहको परीक्षा र विज्ञापन प्रकाशन कार्यतालिका प्रभावित हुँदै आएको थियो । समायोजन सकिएपछि अब आयोगलाई यो बाटो खुलेको छ ।

वार्षिक ८ लाख हाराहारीमा योग्यता पुगेका नेपाली नागरिकले लोकसेवा आयोगकालागि तयारी गर्ने गरेका छन् ।

-shilapatra

Write your Comment