परीक्षा रद्दविरुद्ध कलैयामा प्रदर्शन

रातोघर

 १४ चैत्र २०७५, बिहीबार २२:५३  मा प्रकाशित
४१९ पाठक संख्या



बारा ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले प्रदेश २ को विज्ञान विषयको रद्द गरेको परीक्षाविरुद्ध परीक्षार्थीहरुले बिहीबार साँझ कलैयामा प्रदर्शन गरेका छन् । मिहेनत गरेर दिइएको परीक्षा रद्द गरेपछि विद्यार्थीको भविष्यसित खेडबाड गरिएको भन्दै सयौं परीक्षार्थीहरुले कलैयाको भरत चोकमा प्रदर्शन गरेका हुन् ।

‘जुन जिल्लाबाट बाहिरिएको हो, त्यही जिल्लाको रद्द गर्नुपर्थ्यो,’ एक परीक्षार्थीले भने, ‘गल्ती अरुले गर्ने र सजाय आफूहरु पाउने ?’ रद्द गरिएको परीक्षालाई मान्यता दिनुपर्ने उनले माग गरे । जारी माध्यमिक (एसईई) परीक्षाको विज्ञान विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि बोर्डको आकस्मिक बैठकले बिहीबार परीक्षा रद्द गरेपछि उनीहरुले त्यसको विरुद्धमा प्रदर्शन गरेका हुन् । सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरिएको थियो । पश्नपत्र बाहिरिएपछि छानबिन समिति गठन गरिएको छ ।

उक्त विषयको परीक्षा चैत २२ मा हुने बोर्डले समय तोकेको छ । करिब २ सयको संख्यामा भेला भएका प्रदर्शनकारी परीक्षार्थीहरुले ७ बजे कलैयाको भरतचोकमा चल्ने सवारी साधनमा अवरोध गर्दै बजारका पसल समेत बन्द गर्ने प्रयास गरेको थियो । पछि प्रहरीले हस्तक्षेप गरेर भीडलाई तितरबितर पारेको थियो ।

परीक्षार्थीको प्रदर्शन र प्रहरी हस्तक्षेपका कारण केहीबेर कलैयाको मुख्य मानिने भरतचोक तनावग्रस्त बनेको थियो । परीक्षा रद्द भएको विरोधमा यातायात र पसल समेत बन्द गर्दै हिँडेका केही परीक्षार्थीको समूहलाई प्रहरीले तितरबितर पारिएको एक प्रहरी अधिकारीले बताए । ‘उत्तेजित परीक्षार्थीको समूहलाई सामान्य बल प्रयोग गरेर तत्काल नियन्त्रणमा लिइयो,’ ती अधिकारीले भने, ‘प्रहरीको सक्रियतापछि असहज बनेको चोक सहज भयो ।’ सदरमुकाम कलैयामा १० परीक्षा केन्द्रमा करिब ३ हजार परीक्षार्थी सामेल छन् ।
-ekantipur

Write your Comment