कास्की ।
विगत दुई दिनमा असिना पर्दा पोखरालगायत क्षेत्रका बालीनालीका साथै फलफूल खेतीमा ठूलो क्षति पुगेको छ ।
हावाहुरीका साथै वर्षासँगै असिना परेपछि खेतमा लगाइएका गहुँबाली, तरकारीका साथै लिच्ची, आँप र सुन्तलामा क्षति पुगेको पोखरा–२१ का कृषक टीकाराम भण्डारीले जानकारी दिए ।
आइतबार अपराह्न वर्षासँगै परेको असिनाले पोखराका सडकहरु करीब १५ मिनेटसम्म ढाकिएका थिए । वर्षासँगै असिना परेपछि पोखरामा सामान्यतया जाडो वृद्धि भएको छ ।
यसैबीच रुपा गाउँपालिकामा असिनाले तरकारी र फलफूल खेतीमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । तरकारीका टनेल, फलफूलका बालीको क्षतिका साथै कतिपयको घरको छानामा राखिएका पानीको ट्याङ्कीसमेत असिनाका कारण फुटेको उनले बताए ।
-KHABARHUB
Write your Comment