गोकुल बास्कोटालाई किन उठ्छ रिस ?

रातोघर

 १७ चैत्र २०७५, आईतवार २१:५५  मा प्रकाशित
२४९ पाठक संख्या



सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा बेला–बेला मिडियाप्रति आक्रोशित हुन्छन् । पत्रकार सम्मेलन र सार्वजनिक समारोहबाट उनी मिडियाप्रति आक्रोश पोखिरहन्छन् ।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले मिडियाको धोती फुस्केको भन्दै, ‘आफ्नो धोती फुस्केको थाहा छैन, सरकारमाथि ख्याउँ, ख्याउँ, अचम्म लाग्छ !’ भने ।

मिडिया आफ्नै समाचारका कारण लज्जित हुदैँ गएको जिकिर गरेका बाँस्कोटाले भने, ‘प्रतिष्ठित पत्रकारहरु, वास्तविक पत्रकारहरु अहिले लज्जित हुँदैछन् ।’ पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएका बाँस्कोटा पत्रकार र मिडियाप्रति सधैँ रुष्ट भईरहन्छन्, किन ?

मिडियाप्रति बाँस्कोटाको आक्रोश देख्दा सईद मिर्जा निर्देशित, नसीरुद्धीन शाह अभिनित सिनेमा ‘अल्बर्ट पिन्टोको घुस्सा क्यूँ आता है’ को याद आउँछ ।

बाँस्कोटा बाणी !

गत १३ मंसिरमा सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले मिडियालाई ‘फेक न्युज प्रोडक्सन कम्पनी’ को संज्ञा दिए । ‘कतिपय मिडियाचाहिँ खै किन हो, मास कम्यिुनिकेसनको फेक न्युज प्रोड्युसर कम्पनीको रुपमा विकास हुन थालेका हुन् कि जस्तो लाग्छ,’ त्यसबेला बाँस्कोटाले भनेका थिए ।

त्यो बेला निर्मला पन्त प्रकरण र एसिया प्यासिफिक सम्मेलनका कारण सरकार आलोचित हुँदै थियो । मिडियामा सरकारबारे नकारात्मक टिप्पणी बढेका थिए । समाचारप्रति लक्षित गर्दै बाँस्कोटाले मिडियालाई ‘फेक न्यूज प्रोडक्सन कम्पनी’ भने ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सिको गर्दै उनले फेक न्यूजको प्रसंग झिके ।

१८ असोजमा संसद्को विकास तथा प्रविधि समितिको ११ औँ बैठकमा बाँस्कोटाले पत्रकारलाई लक्षित गर्दै ‘दशै खर्च लिन आउनुहोस’ भने । ‘दसैँ आएको छ, पैसा लिन आए हुन्छ’ बाँस्कोटाले संसदको बैठकमा भनेका थिए ।

त्यसबेला नेपाल टेलिकमको सेवा विस्तार र गुणस्तर साथै पत्रकारको न्यूनतम पारिश्रमिकको विषय मिडियाका बिषयवस्तु बनिरहेका थिए । बैठकमा ‘म पनि हिजो त्यहीँबाट आएको हुँ कमसेकम पत्रकारितामा ब्याचलर गरेको छु के हो न्युज, थाहा छ’ भन्दै समाचारमाथि नै प्रश्न उठाए ।

मन्त्रिपरिषद् मात्रै सीमा हो र खोजी पत्रकारिताको ?, हाम्रो युनिभर्सिटीले त्यति पढाएकी कसो हो ?

मिडियामाथि बाँस्कोटाको आक्रोश यहीँ सकिदैन । २० मंसिरमा सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा त उनले ‘मिडियाको अस्तित्व नै खतरामा रहेको’ घोषणा गरे । मिडियामाथि कड्कीरहने बाँस्कोटाले २९ कात्तिकमा मिडिया र पत्रकारलाई चुनौती नै दिए । आफ्नै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले पत्रकारलाई ‘खोज पत्रकारिता गर्न च्यालेन्ज’ गरे ।

‘खोजी पत्रकारिता गरेर लेख्नुस, तपाईंलाई कसैले छेक्दैन, आजै पनि मन्त्रिपरिषद्को बैठक बसेको छ, आजैका निर्णय पनि सार्वजनिक गर्नुहोस्’ साताभरका मन्त्रिपरिषद् निर्णय बिहीबार सार्वजनिक गर्ने शृंखलाको पहिलो पत्रकार सम्मेलनमा उनले भने ।

२४ मंसिरको एउटा सार्वजनिक कार्यक्रममा बाँस्कोटाले सरकारका कमजोरीलाई बढाइचढाई प्रस्तुत गर्ने, तर राम्रा कामलाई नक्कली भन्दै प्रचार गरेको भन्दै मिडियाप्रति नकारात्मक टिप्पणी गरेका थिए ।

२७ मंसिरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मध्यमार्गी बाटो समाउँदै बाँस्कोटाले ‘हाम्रो कुनै मिडियाप्रति आग्रह वा पूर्वाग्रहको सम्बन्ध छैन । हाम्रो त रचनात्मक सम्बन्ध हो’ भने ।

तर, बानी त्याग्न सकेनन् । कार्यक्रमको अन्तिममा उनले फेरि थपे, ‘हामी पनि आफूलाई लागेका कुरा भन्छौँ र गर्छौं, तपाईंहरु पनि सत्यतथ्य लेख्नुहोस् ।’ यतिखेर सञ्चारमाध्यममा एसिया प्यासिफिक सम्मेलनमा सरकारको संलग्नताको विरोध भइरहेको थियो ।

२९ कात्तिकमा पत्रकारलाई खोजी पत्रकारिता गर्न चुनौती दिएका बाँस्कोटाले २४ माघमा पत्रकारलाई खोजी पत्रकारीताका विषय सुझाए ।

२४ माघमा मन्त्रिपरिषद्का निर्णय बिहीबारको नियमित पत्रकार सम्मेलनअघि नै सार्वजनिक भएको विषयमा पत्रकारले बाँस्कोटालाई प्रश्न सोधेका थिए । जवाफमा बाँस्कोटाले ‘खोजी पत्रकारिता भनेको मन्त्रिपरिषद्को कार्यालयअघि क्यामेरा तेर्साउने, रेकर्डर तेर्साउने मात्रै हो र ?’ भन्दै कटाक्ष गरे ।

बाँस्कोटाले पत्रकारिता पढाउने विश्वविद्यालयको क्षमतामाथि नै प्रश्न समेत त्यसबेला गरेका थिए । ‘मन्त्रिपरिषद् मात्रै सीमा हो र खोजी पत्रकारिताको ?, हाम्रो युनिभर्सिटीले त्यति पढाएकी कसो हो ?’ उनले भनेका थिए ।

आफूले ४ महिनाअघि खोजी पत्रकारिता गर्न दिएको चुनौती सम्झाउँदै उनले भने, ‘सिंहदरबार मन्त्रिपरिषद् कार्यालय अगाडि क्यामेरा तेर्साउने मात्रै खोजी पत्रकारिता होला जस्तो मलाई लाग्दैन है । यति सीमित घेराभित्र मैले खोजी पत्रकारीताको विषय अगाडि सार्नुस् भनेको पनि होइन ।’

यति भनेपछि बाँस्कोटाले खोजी पत्रकारिताका विषय यसरी सुझाए–

यत्रो ३ करोड जनता बस्छन् । सयौँ संघसंस्था छन्, आर्थिक गतिविधि पनि भइरहेका छन् । विकास निर्माणका काम भइरहेका छन् । कतै विनाशका काम पनि भइरहेका होलान् । कतै एकदम राम्रो उत्साहजनक कुरा भइरहेको होला, कतै एकदम बेथिति र गलत कुरा भइरहेको होला । ती सबै क्षेत्रमा तथ्यपरक ढंगले आउने कुरा नै खोजी पत्रकारिता हो ।

आईतबार (आज) पनि बाँस्कोटाले सञ्चारमाध्यमले गलत तरिकाले समाचार प्रस्तुत गरेको भन्दै आक्रोश पोख्न भ्याए । सरकारले संसदमा पेश गरेको सूचना प्रविधि विधेयकमा सञ्चारमाध्यमले ‘सामाजिक सञ्जाल र मिडियामाथि अंकुश लगाउने व्यवस्था गरिएको’ टिप्पणी गरेपछि उनको आक्रोश सतहमा आएको छ ।

जब–जब सरकारको आलोचना बढ्न थाल्छ, तब बाँस्कोटा मिडियालाई सचेत गराउने सचेतक बन्छन् ।

‘जुन पार्टीले आफ्नो घोषणपत्रमा पहिलो अक्षरमा लेख्यो सम्पूर्ण नागरिक स्वतन्त्रताको निम्ति एकताबद्ध हौँ भनेर, पर्चा निकाल्यो, त्यो पार्टीलाई स्वतन्त्रतामाथि प्रश्न उठाउने ? गज्जब लाग्छ !,’ उनले भने ।

मिडियाप्रति आक्रोशसँगै बाँस्कोटा बेला–बेला पत्रकारिता सिकाउने गर्छन । खोजी पत्रकारिता गर्न चुनौति दिन्छन, खोजी पत्रकारिताका विषय पनि दिन्छन् । बाँस्कोटा ‘फेक न्यूज’ र ‘रियल न्यूज’ छुट्याउने काम गर्छन् । सँगै मिडियाको अस्तित्व नरहने भन्दै भविष्यवाणी पनि गर्छन् ।

पत्रकारले प्रश्न गर्दा ‘नापतौल गरेर नबोल्नुहोस’ भन्दै बोल्न सिकाउने गर्छन् ।

जब–जब सरकारको आलोचना बढ्न थाल्छ, तब बाँस्कोटा मिडियालाई सचेत गराउने सचेतक बन्छन् । पत्रकारलाई खोजी पत्रकारिताका सिकाउने गुरु बन्छन् । समाचार निर्देशक बन्छन् । पत्रकारिता बढाउने विश्वविद्यालयमाथि नै प्रश्न गर्छन् ।

सञ्चार मन्त्री मिडियाप्रति आक्रमक बनिरहनुमा उनको पत्रकारिताप्रतिको स्वाद र अनुभवले काम गरेको मान्छन् उनका निकट सहकर्मी । किनकी प्रतिपक्ष, सम्वोधन, दृष्टिलगायतका साप्ताहिक पत्रिकाको सम्पादकीय नेतृत्व सम्हालेको अनुभव उनीसँग छ ।

-shila

Write your Comment