समग्र देश र नागरिकलाई सभ्य र अनुशासित बनाउन शिक्षा क्षेत्रको महŒवपुर्ण भुमिका रहन्छ । तर ,हाम्रो शिक्षा क्षेत्र विकृति नै विकृतिले गाँजिन थालेको छ । मेडिकल कलेजहरूको ठगी धन्दा र निजी विद्यालयको मनलाग्दी शुल्क वृद्धिले हाम्रा लाखौं अभिभावकहरू पीडित हुने क्रम बढिरहेको छ । अहिले आएर एसईई परीक्षाको प्रश्नपत्र आउट भएको घटनाले फेरि शैक्षिक क्षेत्रको थप विकृति उजागर भएको छ ।
प्रदेश २ मा लगातार दुई दिनसम्म प्रश्नपत्र आउट भएपछि अहिले त्यहाँको परीक्षा नै स्थगित हुन पुगेको छ । यसले लाखौं विद्यार्थीको मनोविज्ञानमा गम्भीर असर पार्ने काम गरेको छ । कुत्सित उद्देश्य राखेर प्रश्नपत्र आउट भएको हो । प्रश्नपत्र आउट गर्नेले ठूलै रकमको मोलाहिजा गरेको सहजै अनुमान गर्न सकिन्छ । लाखौं विद्यार्थीको मनोविज्ञानलाई गम्भीर असर पार्ने गरी प्रश्नपत्र आउट गर्नेहरू राष्ट्रिय अपराधी नै हुन् । त्यस्ता अपराधी पत्ता लगाएर छिटोभन्दा छिटो कानुनको दायरामा ल्याउनुपर्छ ।
संघीयताको अभ्यास गरिरहेको अवस्थामा संघीय शासन र केन्द्रीय सरकारप्रति वितृष्णा जगाउने गरी प्रश्नपत्र आउट गरिएको छ । प्रदेश २ मा नै प्रश्नपत्र आउट हुनुले धेरै आशंकाहरू उब्जाएको छ । त्यसैले, यसलाई गहन रूपमा लिएर छानबिनलाई तीव्रता दिन सक्नुपर्छ । अर्कोतर्फ प्रश्नपत्र आउट भएका घटनाले राष्ट्रिय परीक्षा बोर्डको परीक्षा संयन्त्रमाथि समेत गम्भीर प्रश्न सिर्जना गरेको छ ।
यसैगरी, प्रश्नपत्रको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूको क्षमतामाथि समेत थप प्रश्न सिर्जना भएको छ । केही सुरक्षाकर्मीहरूकै मिलिमतोमा नै प्रश्नपत्र आउट भएको पनि हुन सक्छ । हामीकहाँ आफैं रक्षक र आफैं भक्षक हुने प्रवृत्ति पुरानै हो । अधिकांश क्षेत्र विकृतिको चाङले भरिन पुगेको छ ।
यो सबै बढ्दो दण्डहीनताको संस्कृति नै हो भन्दा अत्युक्ति हँुदैन । जबसम्म गल्ती र अपराध गर्नेहरूलाई कानुनी दायरामा ल्याएर कडा दण्ड दिइँदैन, तबसम्म यस्ता विकृतिजन्य कार्यले प्रश्रय पाइरहन्छन् । त्यसैले, संघीय नेपालमा अब कानुनी शासनको राज हुनैपर्छ ।
प्रश्नपत्र आउट भएपछि सरकारका विभिन्न तीनवटा टोली बनाएर छानबिनलाई अघि बढाइएको छ । छानबिन टोली बन्नु मात्रै ठूलो विषय होइन, मुख्य कुरा छानबिन टोलीले दोषीलाई पहिचान गर्न सक्छ कि सक्दैन भन्ने हो ।तत्कालको लाज ढाक्न र गल्तीलाई छोप्नका लागि मात्रै छानबिन टोली गठन गरिएको हो भने त्यस्ता टोलीको औचित्य रहदैन । यस्ता छानबिन टोलीले भविष्यमा समेत यस्ता अपराधका घटनाहरू निरुत्साहित हुने गरी छानबिनलाई सशक्त बनाउन जरुरी छ ।
अब अति भइसकेको छ , शिक्षा क्षेत्रमा व्याप्त विकृतिलाई सरकारले टुलुटुलु हेरेर बस्नु हँुदैन । प्रश्नपत्र आउट हुनेदेखि ठगी धन्दासमेत मौलाउने शिक्षा क्षेत्रमा आमूल सुधारका लागि सरकारी स्तरबाट सार्थक पहलकदमी थाल्न ढिलाइ गर्नुहुँदैन ।
Write your Comment