२६ वर्षमै पाँच सन्तान

रातोघर

 १७ चैत्र २०७५, आईतवार १०:४६  मा प्रकाशित
२०४ पाठक संख्या



कालिकोट । 

रास्कोट नगरपालिका–२ सुनेपानीकी झिमु कुमाल वर्षले २६ मात्र पुगिन् । उनको १३ वर्षको उमेरमा विवाह भएको हो । विपन्न परिवारकी उनी पाँच सन्तानकी आमा भइसकिन् ।

उमेर २६ वर्षको भए पनि उनको शरीर ५० वर्षकी महिलाको जस्तै देखिन थालिसक्यो । उनका पति ज्याला मजदुरी गर्छन् भने उनी बच्चा बोकेरै भए पनि घरव्यवहार चलाउँछिन् । कुमाल मात्र होइन, किशोरावस्थामै आमा बन्ने किशोरी कालिकोटमा थुप्रै छन् । दशकअघि बालविवाहको चरम रूप देखिने कालिकोटमा यो संख्या अझै उस्तै छ ।

पछिल्लो समय आधुनिकीकरणका नाममा सामाजिक सञ्जालको दुरुपयोगका कारण बालविवाह बढ्दै गएको छ । विद्यालय उमेरमै आफूखुसी विवाह गर्नाले यो समस्या झनै बढ्दो छ ।

‘किशोरकिशोरीबीच प्रेम बस्ने र भागी विवाह गर्नाले पनि बालविवाह नघटेको मोतिराम माविका विद्यालय प्रधानाध्यापक विष्णु आर्चायले बताए ।

उनले विद्यालयस्तरमा गठित बालक्लब तथा गाउँस्तरमा सञ्चालित संस्थामा आबद्ध किशोरकिशोरीको समेत विवाह भइसकेको जनाए । झिमु कुमालजस्तै जिल्लाको रास्कोट नगरपालिका २ सिखानाकी छत्ती सिम्खाडा ३७ वर्ष पुगिन् । १२ वर्षकै उमेरमा उनको विवाह भएको हो । उनी यतिबेला सात सन्तानकी आमा बनिसकेकी छन्् ।

उनका पति ज्यालामजदुरी गर्छन् । ‘कलिलैमा विवाह भयो, एक वर्षमै छोरी जन्मिई,’ छत्तीले भनिन्, ‘केही थाहा थिएन, कसरी बच्चा पाल्ने ? बालबच्चा धेरै जन्मिए, लोग्नेले ज्याला मनदुरी गर्छन्, हामी दुवैले पढे लेखेका छैनौं ।’ घरको अन्नले दुई महिना मात्र खान पुग्ने उनको परिवारमा सात छोराछोरी सहित नौ जनाको परिवार छ ।

अपरिपक्क उमेरमै बच्चा जन्माउनाले यहाँका धेरैजसो आमा पाठेघरको समस्याले पीडित भएका छन् । सिपखाना स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तारा न्यौपानेले यो समस्या यहाँको मात्र नभई कालिकोट जिल्लामै व्याप्त रहेको बताइन् ।

सानै उमेरमा विवाह  गर्दा शरीर बूढोजस्तो देखिने, पाठेघर खस्नेलगयतको समस्याले यहाँका महिला पीडित भएको उनले बताइन् । यसको रोकथामका लागि स्थानीय सरकार, सरकारी तथा गैरसरकारी संस्थाले रोकथाममा अनिवार्य जोड दिनुपर्ने बताइन् ।

-rajdhani

Write your Comment