विनाशकारी आँधीबेहरीको त्यो रात

पाँच हजार परिवार विस्थापित

कृष्ण सिग्देल

 १९ चैत्र २०७५, मंगलवार ०९:३०  मा प्रकाशित
२१६ पाठक संख्या


बारा।

साँझको करिब साढे ७ बजेको हुँदो हो, आकाश धुम्म थियो । अनिष्टको संकेत देखिँदै थियो । नभन्दै गाउँ नै विनाश गर्ने गरी हुरी आयो र धेरैलाई लग्यो । फेटा गाउँपालिकाको पुरैनियाका तुफानी आलम घरीघरी आइतबार साँझको घटना सम्झिन्छन् । ‘हावा अर्कै प्रकारले चलेको थियो, हेलिकोप्टर आएजस्तै आवाज आएको थियो । पानी र असिना पनि परेको थियो । बाहिर निस्कन सकिने अवस्था थिएन । तर, असिनासँगै तेज गतिमा हावा चल्यो र बाहिर हेर्दा खरियानमा आगो बलेको जस्तो देखिन्थ्यो,’ आइतबारको कालो रात सम्झँदै उनले भने । तुफानी आलमको पक्की घर छ । पक्की भएकाले नै हावाहुरीले उनको घर हल्लाउन सकेन । तर, छत भने सबै खस्यो । मानवीय क्षति हुन पाएन ।

हावाहुरीले सोही गाउँकी रूपा देवीको ज्यान गयो । आँधीले उनको घरलाई एक डल्लो बनाइदियो । उनले तीन सन्तानलाई खटिया (खाट)मुनि लुकाएर नयाँ जीवन दिइन् । तर, उनलाई आफ्नै घरको दलिनले थिच्यो । एक वर्षीय छोरा सञ्जीत, आठ वर्षीया छोरी  निशा देवी र तीन वर्षीया छोरी कुमारी देवीलाई छाडेर उनी परलोक गइन् । रूपा देवीकी हजुरआमालाई पनि आँधीले लग्यो ।

रूपा देवीको तीन सन्तान

 

सोही गाउँको अलि पर एकै परिवारका चारजनालाई आँधीले सँगै लिएर गयो । इजहार मिया अन्सारीकी श्रीमती मीना खातुन, बुहारी सतिमा खातुन र उनका दुई नातिनी सम्चिदा खातुन र रुक्सार खातुन केही मिनेटमै आँधीको तालमा कहिले नउठ्ने गरी सुते ।


संयोगले इजहार बाँचे र अस्पतालमा उपचार गराइरहेका छन् । दुई नातिनी केही दिनअघि मात्रै आएका रहेछन् । उनीहरूलाई आँधीले छाडेन । सोही गाउँकी मतीश्री देवीको लास सोमबार पनि आँगनको डिलमा तन्नाभित्र थियो । उनका श्रीमान् कमाउन गोरखा पुगेका रहेछन् । पुरैनियामा मात्रै आँधीका कारण ११ जनाले ज्यान गुमाए ।

पाँच हजार परिवार विस्थापित

फेटा गाउँपालिकाका दुई गाउँसहित गम्हरिया, पटेर्वा, हर्दिया, तेलगाईलगायतका स्थानमा आँधीका कारण ३० जना बढीको ज्यान गएको छ । जसमध्ये २७ को सनाखत भएको छ । ज्यान गुमाउनेमा १२ जना पुरुष र १० महिला छन् । त्यसमा ५ जना बालबालिकासमेत छन् । हाल २७ जनाको मात्रै सनाखत भएको गृहको तथ्यांकमा छ । ५ सय बढी अस्पतालमा उपचाररत् छन् ।आँधीका कारण करिब ५ हजार परिवार घरबारविहीन भएको अनुमान गरिएको छ । फेटा गाउँपालिकामा सबैभन्दा बढी घरपरिवार विस्थापित भएका छन् । यहाँँका रूखका हाँगा यसरी भाँचिएका छन् कि आँधीका कारण हो भनेर पत्याउनै मुस्किल पर्छ ।

ह्यान्ड पम्पसमेत उखेलिएको छ । दृश्य हेर्दा भूकम्पले पु¥याएको क्षति जस्तै देखिन्छ । जस्ता, फुस र खबटाले छाएका छाना सबै उडेका छन् । बाँसको टाटीमा गोबर र माटोले लिपेको घर पनि भत्किएका छन् ।

सिमेन्ट लगाएका इँटाको गाह्रो भएका घर पनि बाँकी छैनन् । पिल्लर सिस्टमका केही घर मात्रै सग्लो देखिन्छन् ।निजी विद्यालयको बस करिब एक सय मिटरको दूरीमा उत्तानो अवस्थामा छ । आँँधीकै कारण परवानीपुरमा करिब एक दर्जन ट्रक पल्टिएका छन् ।

बिजुलीका पोल पूरै संरचना नै परिवर्तन गर्नुपर्ने गरी अस्तव्यस्त छन् । ठूलाठूला रूखसमेत जरोदेखि नै उखेलिएका छन् । घर आसपासमा लगाइएका बाँस र अन्नबालीसमेत भुइँमै सुतेका छन् । गाउँको दृश्य हेर्दा लाग्छ, तंग्रिनलाई निकै समय लाग्छ ।

Write your Comment