आँधीवेहरी स्टोरी- राहतका नाममा पिडित गिज्याइँदै, ब्यवस्थापन भएन

राहत प्याकेज - चक्लेट, केरा र सेल्फी

कृष्ण सिग्देल

 २० चैत्र २०७५, बुधबार ११:०७  मा प्रकाशित
२५६ पाठक संख्या


बारा ।

बिराटनगरबाट ट्रकमा राहत बोकेर एकाबिहानै फेटा आएका शिव नारायण चौधरीको टोलीले १२ बज्दासम्म पिडितलाई राहतको पोको हातमा थम्याउन सकेन ।

मान्छे नै मान्छे छन् गाउँभरी । राहत दिनेहरुपनि प्रशस्तै भेटिन्छन् । तर चौधरी राहत कस्लाई कसरी दिने भन्नेमा अन्योलमा परे र हारगुहार गर्न फेटा गाउँपालीकाको कार्यालय पुगे । त्याँहा कोही थिएनन् । हामी त्याँहा पुग्दा कार्यालयको ढोका बन्द थियो । कर्मचारीहरुको खाना खाने बेला भएको रहेछ ।

चौधरी बाहिर पर्खिरहेका थिए । राहत कस्लाई दिने भन्नेमा अन्योलमा देखिएका चौधरी एक्सन एड नेपालबाट आएका रहेछन् ।
बाराको फेटा गाउँपालीकालाई केन्द्र बनाएर आएको बिनासकारी हावाहुरीका कारण धेरै परिवार यहाँ बिक्षिप्त छन् । मानविय क्षती त भइनै सक्यो । अव बाँचेकालाई राहत र पुर्नस्थापनाको सवालमा साँच्चिकै राहत दिनुपर्ने चुनौती अव फेटामा छ ।

तर सरकारी संयन्त्रबाट गर्नुपर्ने तयारी र योजनामा कमजोरी देखिएको सहजै अनुमान लगाउन सकिने चौधरीको भनाई छ ।
‘यहाँको ठ्याक्कै पिडित्को तथ्याँक कोहीसंग छैन, सम्बन्धित मानिस कोही पनि छैन, यहाँको जनप्रतिनिधिसंग सम्र्पकै हुन सकेन,’ चौधरीले सुनाए , ‘बिहानै देखी ट्रकमा सामान थन्क्याइराखेका छौँ, बितरण गर्न सार्है गार्हो पर्यो ।’

उता पिडित क्षेत्रमा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा आफ्ना टन्नै कार्यकर्ताको साथ दर्जनौ गाडीहरुको लस्कर सहित आए । र स्थानिय तहले पैसाको तजविज मिलाउनेगरी आफ्नो पार्टी नेपाली काँग्रेसको तर्फबाट २५ लाख दिने घोषणा गरे र सरकारले राहत र पुर्नस्थापनाको काम प्रभावकारी गर्न नसकेको टिप्पणी समेत गरेर फर्किए ।

त्यसपछि फेरी केहीबेरमा अर्का पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पनि कार्यकर्ताको लाममा पिडित स्थल आइपुगे । पालैपालो भिडमा नेता कार्यकर्ताको अनुहार फेरियो । तर भिड भने उस्तै बाक्लो थियो ।

एक औपचारिक कार्यक्रमको आयोजना गरी उनलाई आसन ग्रहण गराइयो । करिब ३ मिनेट मात्र बोलेका दाहालले नेकपाको तर्फबाट मृतक परिवारलाई ५-५ लाख दिने घोषणा गरे । उनको सम्त्रोधनमा बाराको यो शोकमा समग्र देश नै लागेको र पिडितले कुनै चिन्ता गर्नु नपर्ने सन्देश थियो ।

यसरी मंगलबार फेटाको अवलोकन गर्न दुई जना पुर्व प्रधानमन्त्री आफ्ना भारी मात्राका कार्यकर्ता सहित स्थल आइपुगे । फेटा गाउँपालीका दिनभरजसो भिडभाड बन्यो ।

यही भिडमा राहत बितरण कार्यक्रम लेखेर पिडितको अनुहारलाई गिज्याउने पनि टन्नै छन् । राहत प्याकेजमा पाउरोटी, बिस्कुट र चिउरा त छँदैछ । चकलेट र एउटा केरा हातमा थम्याएर सेल्फी खिच्नेहरु पनि छन् ।

पीडितहरुमध्ये कतिपयको घरबास उठेको छ । खानेकुरा छैन । ओत लाग्ने ठाउँ छैन । आङ ढाक्ने कपडा छैन । दिनको चर्को घाम र रातमा खुला आकासमुनि पीडितहरुले दिन र रात कटाइरहेका छन् ।

बारा मटिअर्वाका रामलाल महतो सहित १० जनाको समुह एउटा सहकारीबाट राहत बितरणमा आए । राहतमा पाँच दर्जन केरा र दुई डब्बा चकलेट थियो । कुनै एक भिडमा पसेर केरा बाँडे , चकलेट फ्याँके र सेल्फि खिचेर पुर्वप्रधानमन्त्रीहरुको भासण सुन्न गए ।
यही भिडमा आफ्नो भग्नावशेष घरमा पुरीएको सामान खोतल्दै गरेकी मिनादेवी रामलाई हामीलाई सोध्यौँ , राहतमा केके पाउनु भयो ? उनले भनिन् हिजो प्रहरीले दिएको चिउरा बाहेक कोही केही दिन आएका छैनन्, खै कता हो त्रिपाल बाँडेको हल्ला पनी सुन्छु तर यहाँ कोही आएका छैनन् ।

उनी आफ्नो भत्कीएको घरमा छोराछोरीको चप्पल र किताब खोज्दै थिइन् । राहत बाँडन आउनेहरु बाटैमा भेटिनेलाई केही केही सामान दिएर फर्किएपनि आफँुले केही नपाएको गुनासो गरिन् ।

यता पिडितलाई दालभात खुवाउन एउटा धर्म प्रचारक संघबाट आएका एक टोली हिँजैदेखी बसेको छ । सोही टोलीकी एक महिलाले यहाँ जान्नेसुन्नेले मात्रै राहत थुपार्ने गरेको खुलासा गरिन् ।

‘यहाँ पिडितकहाँ राहत पुगेकै छैन, केही क्षती नहुने र पक्की घर बनाएर बस्नेहरुले तिन महिनालाई पुग्ने सामान कोठामा थुपारीसके , म आँफै दँग छु । ’, उनले भनिन् , ‘यहाँ पिडितहरु कोही अस्पतालमै छन्, कोही भत्किएको घरलाई टिमलटामल गर्दै छन् , यहाँका टाठा बाठाहरु भने परिवारका सबै राहत संकलन गर्न बाटो कुरेर बस्छन् ।’

तर विभिन्न संघ संगठन, सांसद, व्यापारी पनि आधी पीडितलाई मल्हमपट्टीको आश्वासन बोकेर बारा आउने क्रम जारी छ ।

क्षतीमा राहत र पुर्नस्थापनाको गृहकार्य

यहाँ नेपाल रेडक्रस सोसाइटी र सुरक्षा निकाय मार्फत गरिएको प्रारम्भीक तथ्याँक अनुसार जिल्लाका ८ वटा स्थानिय तहमा क्षती भएको देखिएको छ ।

एक हजार ८ सय ९५ घरपरिवार पिडित छन् । जसमा ९४० घर पुर्णरुपमा क्षतीग्रस्त छन्भने ९ सय ५५ घर आँशिक क्षती भएको छ । पुर्ण क्षती पुगेको घरलाई पुर्ननिर्माण र आँशिक क्षती पुगेको घरलाई मर्मत गर्न स्थानिय तहको समिती र जिल्ला समितीले लगत संकलन गरिरहेको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिए ।

उनले राहत बितरणमा केही अन्योलता भने देखिएको स्वीकार गर्दै राहत बितरण गर्ने निकायले जिल्ला बिपत ब्यवस्थापन समिती र स्थानिय तहमा रहेको बिपत समितीसँग समन्वय गर्न समेत आग्रह गरेका छन ।

थप रातह बितरण र पुर्नस्थापनाको गृहकार्यका लागी बुधबार बिहान ७ बजे पिडित स्थानिय तहका जनप्रतिनिधीसंगको छलफल र योजना बनाउने सहित गृहकार्यको तयारी रहेको पौडेलले बताए ।

यसैगरी भौतिक संरचनागत क्षती यती नै भन्न सकिने अवस्था अझै नरहेको प्रजिअ पौडेलले बताउँछन् । मानविय क्षतीमा २६ जनाले बाराबाट मात्रै ज्यान गुमाएका छन् । पर्सामा भने दुई जनाको ज्यान गएको छ ।

रोग फैलिने खतरा

प्रभावित क्षेत्रमा गर्मी प्रचण्ड बढेको छ । स्थानियहरुको घर त छैन नै शौचालय हुने कुरै भएन । त्यसैले
प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने भन्दै केन्द्र सरकारले चिकित्सक सहितको टोली प्रभावित क्षेत्रमा पठाएको जनाएको छ । तर, स्थानीय सरकारले भने घाइतेको उपचार, राहत वितरण र अस्थाइ आवास निर्माणमा व्यस्त भएकाले स्वाच्छ खानेपानी र शौचालयको व्यवस्थापन गर्न नसकिएको बताएको छ ।

हावाहुरी अति प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिका भलुरी भरवलिया र वरैनीयामा स्थानीयहरुलाई सामुहिक खानाको व्यवस्था गरेपनि शौचालय र खानेपानीको उचित व्यवस्थापन गर्न नसक्दा महामारी फैलन सक्ने खतरा पनी उत्तीकै छ ।

राहत कसले कती ?

पुष्पकमल दाहाल प्रचण्ड, नेकपा – ५ लाख, प्र्रति मृतक परिवार
शेरबहादुर देउवा, काँग्रेस– २५ लाख
प्रदेश २ सरकार– मृतकका परिवारलाई ३ लाख
नेकपाका संघीय सांसद– १ दिनको तलव
काँग्रेस संघीय सांसद– २ दिनको तलव
राजपा नेपाल– ५ लाख
प्रदेश ३ सरकार– १ करोड
एकनाथ ढकाल–५० लाख
डा. बाबुराम भट्टराई– १५ दिनको तलव
विमलेन्द्र निधीसहित काँग्रेस प्रदेश २ का सांसद–१० लाख
रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा– अहिलेसम्म २ लाख बढि वितरण ।

Write your Comment