हावाहुरी प्रभावितको सहयोगमा जुटे अखिलका विद्यार्थी

रातोघर

 २० चैत्र २०७५, बुधबार १२:००  मा प्रकाशित
२२९ पाठक संख्या



बारा ।

सत्तारुढ नेकपानिकट विद्यार्थी संगठनहरू आँधी प्रभावित बारा र पर्साका गाउँहरुमा अस्थायी बासस्थान निर्माणमा सक्रिय भएका छन् । अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) को टोलीले बिहीबार भरबलियामा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका उपाध्यक्ष रश्मी आचार्यसहित संयुक्त टोली प्रभावित क्षेत्र पुगेर राहत र पुनःस्थापनामा जुटेको हो ।

क्षतिग्रस्त संरचना हटाउने, राहत वितरण गर्नेदेखि अस्थायी बासस्थानहरु निर्माण गर्ने काममा नेकपाका दुवै विद्यार्थी संगठन जुटेको तामाङले जानकारी दिए । पुरैनिया, भलुही, हर्दिया र चैनपुरलगायतका क्षेत्र हावाहुरीबाट बढी प्रभावित भएका छन् । गत आइतबार आएको आँधीबाट २८ जनाको मृत्यु भएको छ भने ३८४ जना घाइते छन् ।

Image may contain: 1 person, sitting and outdoor

प्रभावित क्षेत्रमा काम गर्न भरवलियामा सम्पर्क कार्यालय खोलिएको छ । दुवै संगठनका सचिवद्वय आरती लामा र सूर्यनारायण साह रहेको सचिवालयसमेत गठन गरेर आवश्यक काम भइरहेको छ । अनेरास्ववियुका उपाध्यक्ष आचार्यले हरेक दिन कम्तीमा ३० जना स्वयंसेवक प्रभावित क्षेत्रमा परिचालन गरिएको बताए ।

‘यहाँ बिजुलीको एकदमै अभाव रहेछ । हाम्रो पहलमा सोलार बत्ती पुर्‍याउने निर्णय केन्द्रबाट भएको छ,’ आचार्यले भने । प्रभावित बस्तीहरुमा म्याट्रेस, भाँडाकुँडा, जुत्ता चप्पल, झुल वितरण गर्ने योजना पनि बनाइएको उनले जानकारी दिए । यसअघि अनेरास्ववियु र अनेरास्ववियू क्रान्तिकारीको संयुक्त बैठकले आँधी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्निर्माणको लागि सिंगो जनशक्ति परिचालित गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार बिभिन्न जिल्लाहरुबाट स्वयंसेवकहरु आउने क्रम जारी छ ।

-ok

Write your Comment