जाँच दिने प्रहरीले नै चोरेर लिक गरेका थिए एसइई प्रश्नपत्र

रातोघर

 २० चैत्र २०७५, बुधबार १२:२५  मा प्रकाशित
१७५ पाठक संख्या


माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीसमेत रहेका प्रहरी जवानले प्रश्नपत्र ‘आउट’ गरेको खुलेको छ।

घटनाको छानबिन गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रश्नपत्र आउट गरेको आरोपमा इलाका प्रहरी कार्यालय सिरहा कल्याणपुरमा कार्यरत प्रहरी जवान ब्रह्देव सुनरैत र दीपेन्द्रकुमार मण्डललाई नियन्त्रणमा लिएको छ।

परीक्षा हुनुपूर्व नै प्रश्नपत्र आउट गर्न संलग्नलाई खोजी गर्न राष्ट्रिय परीक्षा बोर्ड र प्रदेश २ सरकारले गठन गरेका भिन्नाभिन्नै समितिले अनुसन्धान गरिराखेका छन्। प्रहरीले नियन्त्रणमा लिएका दुई जना जवानलाई प्रश्नपत्र आउट गर्न संलग्न रहेकोमा थप अनुसन्धान गरिराखिएको छ।

नियन्त्रणमा लिइएका प्रहरी जवानमध्ये एक जना एसइई दिने विद्यार्थी नै रहेको र अर्को प्रश्नपत्रको फोटो खिच्न संलग्न रहेको आधारमा सिआइबीले उनीहरूमाथि थप अनुसन्धान गरिराखेको हो। दुबै जनालाई सिआइबीको केन्द्रीय कार्यालय काठमाडौं ल्याएर छानबिन भइरहेको छ।

‘उनीहरूले कसरी र क-कसलाई प्रश्नपत्र बाँडे भन्ने अनुसन्धान गर्दैछौं,’  स्रोतले सेतोपाटीसँग भन्यो।

इप्रका कल्याणपुरमा जनता मण्डल र रादु माध्यामिक विद्यालय परीक्षा केन्द्रका प्रश्नपत्र सुरक्षाका लागि राखिएको खुले पनि विद्यार्थीसमेत रहेका प्रहरी जवान कुन परीक्षा केन्द्रबाट परीक्षा दिँदै थिए भन्ने खुलेको छैन। प्रश्नपत्र सामाजिक सञ्जालबाट बाहिरिएको थियो।

राष्ट्रिय परीक्षा बोर्डले पनि घटनाबारे अनुसन्धान गरिरहेको  जनाएको छ।

लगातार दुई विषयको प्रश्नपत्र बाहिरिएपछि प्रदेश नम्बर २ मा एसइई परीक्षा स्थगित भएको थियो। चैत १४ मा विज्ञान र १५ मा सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि केन्द्र सरकारले एसइई परीक्षा स्थगित गरेको थियो।

स्थगित भएको परीक्षा चैत २२ गतेदेखि सुरू हुँदैछ।

हेर्नुस् नयाँ परीक्षा तालिका:

-setopati

Write your Comment