‘बरु मरेकै भए हुन्थ्यो । अब के खाने, के लाउने, कहाँ बस्ने ?’ धेरैजसो भरवलियावासीको चिन्ता यति बेला यही छ । आइतबार साँझ आएको विध्वंशकारी हावाहुरीका कारण घरबारविहीन हुन पुगेका यहाँका स्थानीयलाई आफन्त गुमाएको पीडा त छ नै, बस्ती नै सोत्तर बनाइदिएपछि अहिले बिचल्लीमा परेका छन् । विरगञ्जबाट ११ किलोमिटर दूरीमा रहेको भरवलीया अहिले खण्डहर बनेको छ ।
सग्ला घर मुस्किलले देखिन्छन भरवलियामा । करिब २ सय ५० घर रहेको यो बस्तीमा मुस्किलले आधा दर्जन घर मात्रै उभिएका देखिन्छन् । हुरीले ढाल्न नसकेका यी घर पनि चोइटिएका छन् । कसैको भित्ता, कसैको छानो त कसैका झ्याल, ढोका छैनन् ।
१८ गते राति आएको हुरीले भरवलियाबासीका घरसँगै उनीहरुका सपना पनि उडायो । २२ वर्षकी छोरीको बिहेका लागि दिनेश शर्माले ३० हजार रुपैयाँ जम्मा गरेका थिए । फर्निचर उद्योगमा काम गर्ने शर्माले छोरीको बिवाहको लागि भन्दै जम्मा गरेको ३० हजार रुपैयाँ बाकसमा राखेका थिए ।
‘ट्यान्को नै उडायो हजुर’ शर्माले भने, ‘कत्रो दुःख गरेर छोरीको बिवाहका लागि जम्मा गरेको थिए ।’ शर्माकी श्रीमती मनुदेवीले पनि त्यही टिनको बाकसमा राखेकी थिइन्, दुई तोला सुन र एक तोला चाँदीका गहना । बाकससँगै छोरीको धुमधामसँग बिहे गर्ने शर्मा दम्पतिको सपना पनि उड्यो ।
शर्माकी ८ वर्षकी छोरी र ७३ वर्षकी आमा घाइते छिन् । उनीहरुको विरगञ्ज अस्पतालमा उपचार भइहरहेको छ । ‘अस्पतालमा भाईलाई कुरुवा राखेर, म ट्यान्को खोज्न आएको,’ जीवनभरको कमाई भेटिने आश अझै मरेको छैन शर्माको, सायद ।
हुरीले उडाएको भकारीबाट धान सोहोर्दै थिइन्, परमादेवि पटेल । ७ जनाको परिवार थियो पटेलको । ७ मध्ये ६ जना अस्पतालमा उपचाररत छन् । पटेलको टाउकोमा पनि चोट लागेको छ । ‘६ मुरी धान थियो, अहिले सबै माटोमा मिसियो’ पटेल सुनाउँछिन, ‘भएको गहुँबारी पनि सब्बै लडायो । ‘के खाएर पेट पाल्ने हो भन्ने चिन्ता छ पटेललाई ।
बाराको फेटा गाउँपालिकाको करिब २ सय किलोमिटर सेरोफेरोमा अत्यधिक जनधनको क्षति भएको छ । तीन मिनेटसम्म चलेको शक्तिशाली हावाहुरीले सिंगो बस्ती नै सोत्तर बनाइदियो । निमेषभरमै गाउँ उजाड भयो । बस्ती खण्डहर बन्यो ।
दिनभर काम गरेर घर भित्रिने समय थियो । त्यही बेला आएको विध्वंशकारी हावाहुरीमै च्यापिएर अधिकांशले ज्यान गुमाए । धेरैले आफन्त गुमाएका छन् । बारा र पर्सा अहिले शोकमा छ । आफन्त गुमाएको पीडा त छँदैछ, बस्ती नै खण्डहर भएपछि अहिले बाँचेकहरुलाई पनि खान र बस्नको पिरलोले सताएको छ ।
बारा र पर्सामा गरी शक्तिशाली हुरीमा मृत्यु हुनेको संख्या २७ पुगेको छ भने ४ सयभन्दा बढी घाइते छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
वीरगन्जका नारायणी उपक्षेत्रीय तथा नेसनल मेडिकल कलेजलगायत अस्पतालमा सोमबार साँझसम्म पनि घाइतेको भीडभाड थियो । त्यहाँ करिब २ सय घाइते उपचाररत छन् । धेरै घाइते आइतबार राति नै उपचारपछि फर्किसकेका छन् । नारायणी उपक्षेत्रीय अस्पतालको तथ्यांकअनुसार नारायणी र नेसनल मेडिकल कलेजमा समेत गरी ९ जनाको उपचार क्रममा मृत्यु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सहरी विकासमन्त्री इस्तियाक राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहितको टोलीले सोमबार दिउँसो नारायणी उपक्षेत्रीय अस्पताल तथानेसनल मेडिकल कलेजमा घाइतेहरूको अवस्था बुझेको थियो ।
त्यस क्रममा प्रधानमन्त्रीले घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न र संकटको घडीमा थपसेवाभाव देखाउन चिकित्सकहरूलाई निर्देशन दिए ।
Write your Comment