डिभी र अमेरिकाले दिएकाे दुःख

रातोघर

 २३ चैत्र २०७५, शनिबार १८:४९  मा प्रकाशित
५३५ पाठक संख्या



काठमाडौबाट एउटै जहाजमा आएको भएपनि मैले हङकङ एयरपोर्टमा पहिलो पटक उनलाई देखे । नेपाली जस्तै लागेपनि मैले उनीसँग सिधै गएर बोलाउने आँट गरिँन । मंगोलियन फेसका उनी मलिन र उदास देखिन्थे । नजिकै करीब ६ वर्षकी छोरी र करिब तीन वर्ष जतिको छोरालाई सम्हाल्न उनलाई साह्रै सकस परिरहेको थियो ।

दुईवटा बच्चालाई सम्हाल्न प्रयास गरिरहेका उनले लगाएका कपडा अलि मैलो थियो । हप्ता दिनदेखि निरन्तर नफेरीकन र नधोईकन लगाईरहेको जस्तो देखिन्थ्यो । बच्चालाई कहिले चकलेट दिन्थे । घरी दुवैलाई बोकेर प्लेन देखाउन लैजान्थे । बोकिरहदाँ र समाईरहदाँ बच्चा झगडा मात्रै गरिरहेका थिए ।

हङकङबाट सिकागोको जहाजको लागि अझै ५ घण्टा प्रतिक्षा गर्नुपर्ने थियो । जहाजको लागि बोर्डिङ हुने गेटको अगाडी पट्टी म पनि सुतिरहेको थिए । मेरो छोरा मोबाईलमा पेपा पिग हेरिरहेको थियो ।

नेपालीमै बच्चालाई ललाईफकाई गरिरहेका कारण मैले उहाँलाई सामान्य औपचारिकता पुरा गर्दै बोलेँ, ‘बच्चालाई नसमातिरहन बरु जता गएपनि छाडी दिदा केहि सहज पो हुन्छ कि ?’

तर ति दुई बच्चा साह्रै रोईरहेका थिए । दुवै बच्चालाई दाईले कहिले बोक्ने त कहिले हिडाउने मात्र गरिरहेका थिए । उनका छोराछोरी हेरी मेरो साढे चार वर्षको छोरो भद्र, शालिन र सरल देखिन्थ्यो । अझ भनौ यात्रा मेरो धेरै सहज थियो ।

उसलाई मैले एकपटक भनेपछि जे पनि मान्थ्यो । तर दाईले जति भने पनि बच्चाले मान्दैनथे । बरु उल्टै झगडा मात्रै गरिरहेका थिए । बच्चाहरुको झगडा र रुवाईले त्यहाँ जहाजको प्रतिक्षा गरिरहेका अन्य यात्रुलाई पनि अप्ठ्यारो भईरहेको थियो । त्यसैले त्यहाँ ठाउँ छाड्दै अर्को तर्फ गईरहेका थिए । करीब आधा घण्टा बितिसक्दा पनि दाई सकिनसकी बच्चा सम्हालिरहेका थिए, बच्चाको आमा भने मैले कतै देखिन ।

सुरुमा म पनि बोलिन । झण्डै आधा घण्टासम्म पनि अवस्था नबदलिएपछि म उनको नजिकै पुगे । नेपालीमै बच्चालाई ललाईफकाई गरिरहेका कारण मैले उहाँलाई सामान्य औपचारिकता पुरा गर्दै बोलेँ, ‘बच्चालाई नसमातिरहन बरु जता गएपनि छाडी दिदा केहि सहज पो हुन्छ कि ?’

उनले पनि माने । दुवै बच्चालाई छाडी दिए । बच्चा दौडेर कहिले एउटा कुनामा कहिले अर्को कुनामा पुग्न थाले । मेरो छोरा भने म नजिकै बसेर मोबाईलमै व्यस्त थियो ।

‘तपाई एक्लैले बच्चा लिएर हिड्नु भएको हो ?’ मैले सोधे ।

‘होईन ।’ उनले तत्काल जवाफ फर्काए ।

‘अनि भाउजु ?’ नेपाली भएकोले नाता लगाएरै बोले ।

‘भाउजु पनि यहि छिन् पर आराम गरिरहेकी छिन् ।’ उनले सरल रुपमा जवाफ फर्काए ।

मैले सामान्य रुपमा लिए । अनि भने, ‘प्लेनमा दाई सुत्नुभयो होला भाउजु अहिले ।’

उनी हाँसे तर कुनै जवाफ दिएनन् । जवाफ उनको अनुहारले दिन्थ्यो उनी राती जहाजमा पनि सुतेका थिएनन् । बच्चा दौडिरहेका थिए । कहिले सानो बच्चा कहिले लड्थ्यो दौडदै उठाउन जान्थे । फेरी फर्केर बस्थे । अनि हामी कुराकानी गथ्र्यौ । यसपछि हामी लामो समय गफियौ । आफ्नो गाउँ घर नेपालको बसाई पेशा जस्ता विषयमा छलफल र कुराकानी भयो ।

नेपालमा भएका जग्गा जमिन बेचविखन जस्तै गरेर अमेरिका पसेका दाईले चार वर्षको बीचमा जति पाठ पढे त्यो कुनै हावर्डको अध्ययनबाट सिक्ने भन्दा कम रहेनछ ।

पूर्वी पहाडी जिल्ला इलामका ति दाई चारवर्ष अघि डिभी परेर अमेरिका छिर्नुअघि ईलामबाट अध्ययनको सिलसिलामा झापा झरेका रहेछन् । झापामा उनले हाउस वायरिंगको काम सिकेका दाईले विजुलीको सामान पाउने पसल चलाएका रहेछन् ।

करीब आठ वर्ष जति पसल चलाउँदा निकै राम्रो आम्दानी गरेका रहेछन् उनले । त्यो छोटो समयमा मैले ऋणधन गरेर दमकमा सानो घर, गाउँमा केहि खेत समेत जोडेको थिए । उनले चम्किलो अनुहार लगाउदै भने ।

पसलबाट मासिक झण्डै एकलाख बराबरको आम्दानी रहेछ । यसैक्रममा उनको श्रीमतीलाई डिभी परेछ । यस समयमा उनको एउटा छोरी समेत जन्मिसकेकी थिईन । डिभी परेपछि उनले अब अमेरिकाबासी नै भईयो भन्ने कुराले निकै उत्साहित बनाएछ । अमेरिकामा उनको आफ्नो भन्ने गाउँको एउटा भाई सेन्ट लुईसमा बस्दा रहेछन् ।

ति भाईसँग सम्पर्क गरेछन् । उनले अमेरिकामा टन्न पैसा भए गाडी र घर किन्न सकिने र जीवन गुणस्तरीय हुने भएकाले सकेसम्म बढी पैसा ल्याउन सल्लाह दिएछन् ।

अमेरिकामा बस्नेले भनेपछि नपत्याउने कुरा पनि भएन । घर किन्ने बेलामा सहकारीबाट लिएको ऋण तिर्ने र बाँकी पैसा अमेरिका लैजानको लागि उनले घर बेचेछन् । ऋण तिरेर बचेको पैसा हुण्डी मार्फत अमेरिका पठाएछन् ।

‘हुण्डी भन्ने पनि के थाहा र भाईले जसो जसो भन्यो त्यसै त्यसै गरे’–उदासी मुद्रामा उनले भने । अमेरिका जाने उत्साह तथा खुसीमा पसल पनि आधा सस्तो मूल्यमै बेचिदिएछन् । लगभग नेपालमा भएका जग्गा जमिन बेचविखन जस्तै गरेर अमेरिका पसेका दाईले चार वर्षको बीचमा जति पाठ पढे त्यो कुनै हावर्डको अध्ययनबाट सिक्ने भन्दा कम रहेनछ ।

जीवनमै पहिलो पटक जहाज चढेर अमेरिका भित्रिएका उनको परिवारलाई लिन आउने सहमती भएका गाउँले भाई ६ घण्टा ढिलो गरि एयरपोर्ट आएछन् । बाटोको ट्रान्जिट भन्दा गाह्रो भयो त्यो ६ घण्टा विताउन उनले उदासी मुद्रामै सुनाए ।

दुःखले दुःखीलाई जहाँ गएपनि छाड्दो रहेनछ । कत्रा सपनासहित अमेरिका भित्रिएका दाई भन्दा अगाडी उनका दुःख एयरपोर्टमा ल्याण्ड गरिसकेका रहेछन् त्यो समयमा ।

त्यसपछि ति भाईले आफ्नो अपार्टमेण्टमा पनि लगेनछन् । उनले पहिले नै खोजिदिएको एउटा अपार्टमेण्टमा लगेर छाडिदिएछन् र उनी आफ्नो काम छ भन्दै निस्किएछन् । न त पकाउने ग्याँस चलाउन राम्रोसँग सिकिएको थियो न त आवश्यक अन्य कुनै सामान नै थियो ।

नेपालबाटै ल्याएको चाउचाउ र सुजीको पिठोमा तीन दिन विताउँदा पनि ति भाई आएनन् । आफुले पासपोर्टबाट साट्न मिल्ने जम्मा ३ हजार डलर मात्र साथमा बोकेर आएका ति दाईले ठुलो रकम त ति भाईलाई हुण्डीको बाटोबाट पठाएका थिए ।

त्यो पैसाले अमेरिकामा जीवन सहज हुन्छ र केहि समयमा टप्प–टप्प डलर टिप्ने सपना बोकेका दाईलाई भाई भेट्नै नआउँदा मनमा चिसो पस्नु स्वभाविकै थियो । झन् भाईवर र फेसबुकमा जति म्यासेज गरेपनि ति भाईले कुनै रेस्पोन्स नगर्दाको पीडा शब्दमा व्यक्त गर्नै सकिदैन ।

त्यसपछि सुरु भयो उनको अमेरिका यात्राको काला दिन । राम्रोसँग भाषा नबुझनु र बोल्न नसक्नु त सामान्य नै भयो । ‘कहाँ जाने के गर्ने ? कसरी बाँच्ने ? कसरी भाडा तिर्ने ? के खाने अनि कलिला बच्चीलाई के ख्वाएर पाल्ने ? म ति दिन कसरी भन्न सक्छु र भाई ?’ उसै त अध्यारो अनुहार लगाईरहेका दाईको आँखामा टिलपिल आशु आईसकेका थिए ।

बालबच्चा यता उता दौडिरहेका थिए । बेलाबेलामा उनी नजिक आउथे । केही भन्थे र फेरी दौडिन्थे । म गम्भिरतापूर्वक उनलाई सुनिरहेको थिए । कुनै जवाफ दिन नसक्ने भएको थिए । उनको विगतका ति दिनमा आफुलाई राखेर सोचिरहेको थिए । दुःखले दुःखीलाई जहाँ गएपनि छाड्दो रहेनछ । कत्रा सपनासहित अमेरिका भित्रिएका दाई भन्दा अगाडी उनका दुःख एयरपोर्टमा ल्याण्ड गरिसकेका रहेछन् त्यो समयमा ।

अब उनले लगभग निधो नै गरिसकेका थिए गाउको भाईले उनले ठगी सक्यो । उनको मनमा चिन्ता सुरु भयो, अब अगाडीका दिन त्यत्ति सहज छैनन् । काडै काडाले छापिएका बाटोमा खाली पाईला हिड्नु छ । त्यसले कति घोच्ला भन्ने भन्दा ठुलो चिन्ता कहिलेबाट हिड्न सुरु गर्ने भन्ने थियो ।

पाँच दिन भाईको आशामा टोलाएका आँखा फेवाताल झै थिए । कयौचोटी बाँध फुट्यो । कयौ पटक जर्बजस्ती बाँध बाधे उनले । तर अब मन बलियो बनाउनुथ्यो । गुन्द्रुक र सुजीको पिठो अनि चाउचाउँमा पाँच दिन बिताएपछि अब बाहिर निस्किनु र काम खोज्नुको कुनै विकल्प थिएन । आँट गरेर उनी बाहिर निस्किए । बिस्तारै बिस्तारै हेर्दै हिड्न थाले । गुगल म्यापबाट विभिन्न लोकेसन खोज्दै अघि बढे । करिब १५ दिन भौतारिएपछि एउटा जागिर भेटेछन् ।

के दिनु भाई । अमेरिका आउने खुसीयालीमा दमकमा बेचेको घर फेरि किन्नु पर्यो भने अमेरिकामा १० वर्षमा जोगाउने पैसाले पनि नभ्याउला जस्तो भएछ ।

‘त्यसपछि नयाँ जीवन पाएँ’ अलि उज्यालो चेहेरामा दाईले सुनाए । ‘जे भएपनि अब खानै नपाएर मर्दैनौ कि भन्ने लाग्यो । घण्टाको ७ डलरमा उनले काम सुरु गरे । हरेक दिन १४ घण्टा जति काम गरे । नियमित रुपमा मन लगाएर काम गरे । के काम गरे भन्ने कुराको कुनै अर्थ छैन जे काम पाए त्यो मेरो जीवनमा सञ्जिवनी बुटी नै बनेर आयो’ उनले सुनाए ।

यो चार वर्षको अवधिमा उनले अमेरिकामा सामान्य जीविकोपार्जनको आधार बनाएका छन् । अमेरिका पुगेको अर्को वर्ष उनको सानो छोरा पनि जन्मियो । अहिले श्रीमान् श्रीमती दुवैजनाले पालैपालो बालबच्चा हेर्छन् र पालैपालो काम गर्दछन् । बच्चाहरु हुर्किदैछन् ।

यति सबै सुनिसक्दा पनि मेरो मनमा ति भाईलाई भेटे कि भेट्ेनन् अनि उनको पैसा के भयो होला ? भन्ने कुरामा बढी ध्यान थियो । उनी अमेरिकामा पुगेर संघर्ष गर्दै जाँदा पाएको सफलता सुनाउँदा जति खुसी थिए यदि फेरी पुरानो प्रश्न सोध्यो भने चिन्तित होलान् कि भन्ने पनि मेरो मनमा थियो । तैपनि आँट गरेर सोधे ‘ति भाईलाई पछि भेट्नु भएन ?’

‘अहँ कहिल्यै भेटिन् । गाउँतिर खोजी गर्दा पनि उसको बारेमा कसैले केहि भनेन । फेसबुकमा मलाई ब्लक गरिदिएछ’ उनले लामो सास तान्दै बताए ‘सायद उसले सेण्ट लुईस छाडेर अर्कै शहरतिर गईसक्यो होला । सेण्ट लुईसमा हुने नेपालीको भेलामा पनि मैले कहिल्यै उसलाई भेटेको छैन ।’

‘कति पैसा खाएर गयो त दाई ?’ मैले सोधे ।

‘कति भनौ भाई ? त्यत्ति पैसा चार वर्ष अमेरिकामा बस्दा पनि मैले जोगाउन सकेको छैन ।’
‘अनि अमेरिकाले तपाईलाई के दियो त ?’

‘के दिनु भाई । अमेरिका आउने खुसीयालीमा दमकमा बेचेको घर फेरि किन्नु पर्यो भने अमेरिकामा १० वर्षमा जोगाउने पैसाले पनि नभ्याउला जस्तो भएछ ।’

कुराकानीकै क्रममा उनको सानो छोरा दौडदै गर्दा लड्यो । रुन थाल्यो । दाई छोरो उठाउन दौडदै त्यता गए । म सिकागो उड्न तयारी हुदै गरेको जहाजलाई हेरेर टोलाईरहे ।

विदेशको सफलता देख्नेहरु धेरै छन् । विदेशमा मात्र सम्भावना छ भन्ने बुझाईमा हराउनेको संख्या नेपालमा झन् धेरै छन् । तर कति यस्ता ‘दाइहरु’को मनमा पीडाको आँधीबेहरी होला, कसलाई के थाहा अनि के वास्ता । को यस्ता कुरा सुन्न र खोज्न चाहन्छ र !

[email protected]

Write your Comment