बारा ।
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम अन्तिम चरणमा पुगेको छ । आगामी असारसम्म पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएपछि ढुवानी भाडा कम हुने र पेट्रोलियम पनि केही सस्तो हुने अनुमान गरिएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जको ७ किमि क्षेत्रमा पाइपलाइन बिछ्याउने काम जारी छ । भारत र नेपाल सरकारबीच २०७२ मा सम्झौता भएअनुसार इन्डियन आयल कर्पोरेसनको सहयोगमा मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म ७० किलोमिटर क्षेत्रमा पाइपलाइन बिछ्याउने काम भइरहेको छ । मोतीहारीदेखि नेपाल सीमासम्म पाइप बिछ्याउने काम सकिएको छ ।
निकुञ्ज क्षेत्रको रुख कटानमा ढिलाइ हुँदा केही समस्या पनि भइरहेको छ । ‘माघ ३ गतेको मन्त्रिपरिषद्ले रुख काट्न निर्णय गर्यो, त्यसको डेढ महिनापछि काम सुरु भएको हो,’ आयल निगम क्षेत्रीय कार्यालय अमलेखगन्जका प्रमुख प्रदीपकुमार यादवले भने, ‘अहिले निकुञ्ज क्षेत्रमै काम भइरहेको छ ।’
तेल राख्न अमलेखगन्ज डिपोमा तीनवटा भर्टिकल ट्यांक मर्मत गरिइसकिएको जानकारी यादवले दिए । उनका अनुसार एउटा मर्मत हुँदै छ । जसमा ४९ लाख लिटरको २ वटा र ४१ लाख लिटर अट्ने २ वटा ट्यांक निर्माण गरिएको हो ।
मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाका मेकानिकल इन्जिनियर शरदप्रसाद पौडेलका अनुसार पाइपहरू पूर्ण रूपमा जमिनमुनिबाट बिछ्याएर ल्याउने कार्य भइरहेको छ । ‘रक्सौलदेखि अमलेखगन्जसम्म २ दशमलव ५ मिटर गहिराइमा पाइप राखिएको छ,’ उनले भने, ‘बिछ्याउन रेखांकन गरिएका घर, बजार, खोलालगायतका अप्ठ्यारा ठाउँहरूमा एचडीडी कार्य गरी पाइप जडान गरिएको छ ।
पाइप लाइनमा एक घण्टामा २ लाख लिटर आउनेछ । जसमा जम्मा भएअनुसार ३५ लाख लिटर तेल बिक्री गर्न सकिनेछ । सुरु लागत सम्झौता २ सय करोड भारु भारत सरकार र ७५ करोड नेपाल सरकारले व्यहोर्ने गरी सम्झौता भएको थियो । अहिले लागत बढेर ३ सय २४ करोड भारु पुगेको छ । अहिले खर्च भारतले व्यहोरी रहेको छ ।
बजार क्षेत्रमा भूमिगत रूपमा पाइप विस्तार गरिएकाले लागत बढेको हो । अमलेखगन्जमा अर्को समस्या जग्गा अभाव छ । ‘लामो समय अघिदेखि पाइपलाइनका कुरा आएको हो,’ निगमका उपकार्यकारी निर्देशक विशाल ओझाले भने, ‘बल्ल उबेला चर्चा गरिएका कुरा पूरा हुँदै छ ।’ उनका अनुसार पाइपलाइनमार्फत डिजेल आएपछि पहिलाको भन्दा केही सस्तो हुनेछ । पाइपलाइन विस्तार भइसकेपछि भारतीय विज्ञ टोली आएर हेर्नेछन् । सबै हेरिसकेपछि मात्र तेल आउन सुरु हुनेछ ।
Write your Comment