कांग्रेसमा फेरि किचलो, यसकारण भयो बैठक स्थगित

रातोघर

 २४ चैत्र २०७५, आईतवार ०७:०६  मा प्रकाशित
३०४ पाठक संख्या



विधानको विषयमा किचलो भएपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ । गत १२ फागुनको केन्द्रीय समिति बैठकले विधानलाई बहुमतका आधारमा पारित गरेको थियो ।

शनिबारका लागि बोलाइएको बैठकबाट पार्टीको कार्यसम्पादन समिति गठन गर्ने सभापति शेरबहादुर देउवाको तयारी थियो । तर बैठक बस्दै नबसी स्थगित भएको हो ।

कांग्रेसको संस्थापन पक्षले भने समितिमा बस्ने सदस्यहरुको नाम वरिष्ठ नेता रामचन्द्र पौडेलले नदिएका कारण बैठक स्थगित गर्नु परेको जनाएको छ । तर वरिष्ठ नेता पौडेलले भने नाम दिन नसकेर बैठक स्थगित नभएको बताए ।

‘नाम दिन नसकेर बैठक स्थगित भएको होइन, मैले महासमितिको म्यान्डेटअनुसार केन्द्रीय समितिले विधानको विषयमा गरेको बहुमतको निर्णय पुनर्विचार गरौं भनेर सभापतिजीसँग प्रस्ताव गरें, उहाँले मान्नु भएन,’ वरिष्ठ नेता पौडेलले भने ।

नेता पौडेलले जिल्ला सभापतिहरुसँग गरिएको सहमतिलाई समेत आफूले ध्यान दिन सभापतिलाई आग्रह गरेको जानकारी दिए । उनले कार्यसम्पादन समिति गठन गर्दा त्यसको मापडण्ड समेत तोकिनु पर्ने तर कुनै मापदण्ड नबनाइएको बताए ।

Write your Comment