जव राहत लिएर पुगेँ …

राहत वितरण क्षणिक सहयोग हो, यो विपद व्यवस्थापनको दिर्घकालिन समाधान होइन । विपद् जोखिम भएका ठाउँको अध्ययन गरी जोखिम नियन्त्रणका लागि आवश्यक कदम चाल्नु जरुरी छ । प्राकृतिक विपद् रोक्न त सकिँदैन, तर न्यूनिकरण गर्न भने अवश्य सकिन्छ ।

बिनिता कार्की

 २४ चैत्र २०७५, आईतवार १९:०२  मा प्रकाशित
६२१ पाठक संख्या



‘बारामा भिषण हावाहुरी, सचेत रहन सबैलाई सुझाव’ भनेर चैत्र १७ गते राति ९ बजे गाउँका एकजना दाइले फेसबुकमा स्ट्याटस् राख्नुभयो । स्ट्याटस् पढ्नासाथ हातगोडा काम्न थाले । आमालाई फोन लगाएँ । ‘हुरीबतास आएर केही सुनिएको छैन, अहिले राख्’, फोन उठ्नासाथ आमाले यत्ति भन्नुभयो र फोन कट्यो ।

म निदाउन सकिनँ । मनमनै केही क्षति नहोस् भनेर प्रार्थना गर्नुको विकल्प थिएन । गाउँमा के के क्षति पो हुने हो भनेर मन अतालिरह्यो । म सानो छँदा एक साल आएको हावाहुरीले गाउँका धेरै घरको छाना उडाएको सम्झिएँ । यो वर्षको हावाहुरी त्यति भिषण नहोस् भनेर कामना गरिरहेँ ।

बिहान ब्यूझिनासाथ आमालाई फोन लगाएँ । गाउँतिर सबै ठिक रहेछ । हुरीले कुनै नोक्सान गरेको रहेनछ । सुनेर मन हल्का भयो । मोबाइलमा वाइफाइ कनेक्ट गरेँ ।
ब्रेकिङ समाचारमा ‘बारा पर्सामा भिषण हावाहुरीः २५ को मृत्यू, ४०० भन्दा बढि घाइते’ लेखिएको समाचारले मर्माहित बनायो । तत्काल सिमराका पत्रकार दाइ कृष्ण सिग्देललाई फोन गरेर त्यहाँको अवस्था बुझेँ ।

उहाँले ‘म प्रभावित क्षेत्रमै छु, बिजोग छ, अहिलेलाई त चाउचाउ र चिउरा मात्र ल्याउन सकेपनि ठूलो राहत हुन्छ ।’ भन्नुभयो । यु.एस.वाइ.सी २०१७÷१८ ब्याचको म्यासेन्जर ग्रुपमा बारा पर्सामा ठूलो क्षति भएको जानकारी गराउँदै हामीले केही सहयोग गर्न सक्छौँ की भनेर म्यासेज लेखेँ । ग्रुपका एक मित्र विशालले फोन गर्नुभयो । साँझ भेट्ने कुरा भयो । १८ गते साँझ म, विशाल, पवित्रा र रजीला बहिनी पुतलिसडकमा रहेको विशालको अफिसमा बस्यौँ ।

हामीसँग न त पैसा थियो, न त राहत सामग्री नै । थियो त केवल प्रभावितको घाउमा मलहम लगाउन सक्नुपर्छ भन्ने मानवीय भावना मात्रै । काठमाण्डौमा राहतका सामग्री सङ्कलन गर्दा प्रभावित क्षेत्रसम्म पुर्याउन ढुवानी खर्च बढी लाग्छ । ढुवानी खर्चकै अभावले कति राहत थन्केर बस्छन् । त्यसैले हामीले आर्थिक सहयोग नै सङ्कलन गरि बिरगञ्ज गएर सामान किन्ने र प्रभावित क्षेत्रका ५० परिवारलाई त्रीपाल, सोलार बत्ति र झुल वितरण गर्नेे निधो गर्यौँ ।

‘हामी हावाहुरी प्रभावित क्षेत्रका ५० परिवारलाई त्रीपाल, झुल र सोलार बत्ति लिएर जाँदैछौँ, सहयोगी मनहरूले आर्थिक सहयोग गरिदिनु होला ।’ भनेर तत्काल फेसबुकमा पोस्ट गर्याैँ । राहत सङ्कलनका लागि सामाजिक सञ्जाल प्रभावकारी माध्यम हो । पोस्टमा विशालको इसेवा खाता नम्बर पनि राखियो र सहयोगका लागि अफिल गरियो । हामीले आफ्ना साथीहरूलाई म्यासेज पठाएर सहयोगका लागि अनुरोध पनि गर्यौँ ।

१९ गते साँझसम्म हामीसँग करिब पचहत्तर हजार सङ्कलन भयो । राहत सामग्री किन्न हाम्रो अनुमानित बजेट अनुसार ५० परिवारका लागि करिब एक लाख रूपैँया लाग्ने भयो । आवश्यक रकम नजुटिसकेकोले हामीले २१ गते मात्र प्रभावित क्षेत्र जाने निधो गर्यौँ । भगवानले ‘तँ आँट, म पुर्याउँछु’ भन्छन् भनेजस्तै २० गते साँझसम्म हामीसँग आवश्यक रकम जम्मा भयो । हामीसँग प्याड बैँकका प्रतिनिधि सुष्मा दिदी पनि जोडिन आउनु भयो ।

२१ गते बिहान ७ बजेको सुमोमा हामी हामी ४ जना बिरगञ्ज हानियौँ । बिरगञ्जकै स्वयम्सेवक साहिल भाइलाई हामीले किन्ने सामग्रीहरूको बजार भाउ बुझ्न लगाइसकेका थियौँ । सामान खरिद गर्नु पहिले कम राहत पुगेको ठाउँ पत्ता लगाउन स्थानीय पत्रकार र जनप्रतिनिधिहरूसँग निरन्तर संवाद गर्यौँ ।

हामी राहत बोकेर सुवर्ण गाउँपालिका–५ को परशुरामपुर जाने निधो भयो । सो गाउँपालिकाको वेवसाइट हेरेर वडा ५ का सचिवको नम्बरमा फोन गर्यौँ र त्यहाँ तत्काल के आवश्यक छ भनेर बुझ्यौँ । उहाँले सोलार बत्ति, त्रिपाल, झुल र पकाउने भाँडा आवश्यक रहेको बताउनु भयो । उहाँकै सल्लाह अनुसार हामीले ती सामग्री किन्यौँ । बजेटले सकिने भएकाले सामग्री ५० हैन, ६० परिवारका लागि किनियो ।

२२ गते बिहान हामी ६० परिवारका लागि पकाउने भाँडा, झुल, त्रिपाल, सोलार बत्ति र महिलाका लागि स्यानिटरी प्याड बोकेर परशुरामपुरतिर लाग्यौँ । त्यहाँको वस्तुस्थितिले भावुक बनायो । भत्किएका टहरा, आफन्त गुमाएकाहरूको कारुणिक अनुहार, भोकले व्याकुल बालबालिकाका अबोध चेहरा, सेनाले बनाइदिएको टेन्टभित्र एक गाँस खाना पर्खेर बसेको सुत्केरी महिलाको भोको पेट, साहनुभुति दिन आएका उनीहरूका आफन्तको राहतप्रतिको मोह र स्थानीय निकायको भवनभित्र थन्किएर बसेका राहत सामग्री सबैसबैलाई हामीले नियाल्न भ्यायौँ । प्रभावित क्षेत्रमा ढिलो पुगेकोमा आत्मग्लानी भयो ।

हामी बसेको गाडि अगाडि बढ्दै गर्दा हजुरआमा उमेरकी एक महिलाले बाटोछेउबाट कारुणिक स्वरमा ‘हम्नीके वर्तन नामिली ?’ (हामीले भाँडा पाउँदैनोँ ?) भनेर सोध्नुभयो । गाडि गुडिरहेकाले उहाँलाई जवाफ त दिन पाएनौँ, तर मनमनै भने ‘हामीले ल्याएका भाँडाकुँडा तपाईंकै लागि हो आमा’ भनेर वडा कार्यालयतर्फ अगाडि बढ्यौँ । हामीमध्ये केही सामान झार्न लाग्यौँ ।

केही साथीहरू वडा सचिव र स्थानीय युवाको साथमा गाउँ अवलोकन तर्फ निस्किए । त्यसबीचमा मैले सशस्त्र प्रहरी वलका एक जवानसँग त्यस ठाउँमा आएको राहतको अवस्थाबारे सोधेँ । उहाँले राहत सामग्री त आएको तर जनप्रतिनिधिले भण्डारण गरेर राखेको बताउनु भयो । आतपकालिन अवस्थामा आएको राहतलाई पनि भण्डारण गरेर राखेको सुन्दा जनप्रतिनिधिसँग रिस उठ्यो ।
ठीक त्यही बेला प्रहरी प्रशासनले वडा अध्यक्षलाई राहत भण्डारण गरेर राख्नुको कारण सोध्दै जतिसक्दो छिटो पीडितलाई वितरण गर्न अह्राए । वडा अध्यक्षले पनि मौसम अनुकुल नरहेकाले वितरण गर्न नपाएको कारण बताउँदै त्यहीदिन बाँड्ने प्रतिवद्धता जाहेर गरे ।

परशुरामपुरका ५३ परिवारलाई राहत वितरण गरेर हामी महागढिमाई नगरपालिका–७ को तेलगाई गाउँ पुग्यौँ जहाँको ८६ घरमध्ये २९ घर पूर्णरूपमा क्षति भएका थिए भने एकजनाको मृत्यु पनि भएको थियो । त्यस गाउँमा नगरपालिकाले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको रहेछ । हामीसँग बाँकी रहेको स्यानिटरी प्याड त्यही शिविरका संयोजकलाई हस्तान्तरण गर्यौँ । बाँकी रहेको ७ परिवारलाई पुग्ने राहत सामग्री घरघरमा गएर बढी क्षति भएको परिवारलाई दियौँ ।

हामी फर्किनै लाग्दा एकजना महिला आएर हामीले खाना खाए नखाएको सोध्नुभयो । मैले नखाएको बताएँ । उहाँले खाना खान जान अनुरोध गर्नुभयो, हामी त्यसै अघायौँ । घर ढलेको छ, आफन्त तथा छिमेकीको मृत्युको शोक छ, घरमा भएका अन्न माटोसँग सराबर भएर मिसिएको छ, तैपनि गाउँमा राहत बाँड्न आएकाले खाए नखाएको चिन्ता छ ।

उनको अनुरोधले हामी सबै भावुक भयौँ । हाम्रो महानता भनेकै त्यही होला सायद । भोकको पीडा भोक सहनेलाई नै थाहा हुन्छ । उनले सहेको भोक हामीले सहन नपरोस् भन्ने चाहन्थिन् सायद उनी । उनी र उनीजस्ता सबै प्रभावित परिवारको ढलेको घर चाँडै उठोस् र उडेका खुसी फेरि छिट्टै फर्केर आओस् भन्ने कामना सहित हामी फर्कियौँ ।

सञ्चार माध्यममा आएजस्तो हावाहुरी प्रभावित क्षेत्रमा पर्याप्त राहत पुगेको छैन । सुत्केरी महिला, जेष्ठ नागरिक र बालबालिका लक्षित राहत पुर्याउन जरुरी छ । सुत्केरी महिलाका लागि पोषिलो खाना, महिलाका लागि स्यानीटरी प्याड र भित्री वस्त्र साथै बालबालिकाका लागि पाठ्य सामग्री अति नै आवश्यक छ ।

पीडितको खोल ओढेर क्षति नपुगेका गाउँका व्यक्ति पनि राहत लिन आउने, पीडितका आफन्त आएर राहत लिने, कुनै परिवारले धेरै पटक लिने त कुनै परिवारले राहत पाउँदै नपाउने जस्ता अवस्था रहेको हुँदा राहत सामग्री लिएर जानेहरू स्वयम्ले स्थलगत अवलोकन गरी स्थानीय युवा, जन प्रतिनिधि तथा प्रहरी प्रशासनको समन्वयमा मात्र राहत वितरण गर्दा प्रभावकारी हुनेछ ।

उनीहरू दुखेका छन् । प्रमाणका लागि तस्बिर लिनुपरे संयुक्त तस्बिर वा सामग्रीको तस्बिर मात्र लिँदा राम्रो होला । राहत वितरण गरिरहेको फोटो खिच्दा पीडितको घाउ झनै बल्झिन्छ । त्यसरी कसैको पीडाको मजाक नउडाउनु होला ।

विपद्का बेला धमिलो पानीमा माछा मार्न खोज्नेहरूको कमी हुँदैन । यस्तो बेला आफुले दिएको राहत पीडितसम्म पुगे नपुगेको निश्चित गर्नु पनि हाम्रो दायित्व हो । आर्थिक तथा सामग्री दुबै सहयोग गर्नेले प्रस्ट रुपमा हिसाब बुझ्नुहोला ।

सरकारले गर्न सक्ने सहयोग गरिरहेको छ । नागरिक समाज, दातृ निकाय तथा युवा समुहहरू राहत वितरणमा सक्रिय देखिन्छन् । यस्तो बेला प्रभावित क्षेत्रमा एउटा सहायता सम्पर्क कक्ष राख्न सकियो भने कुन ठाउँमा के सामग्री अत्यावश्क छ भन्ने सुनिश्चित गरी राहत वितरण कार्यलाई अझै प्रभावकारी बनाउन सकिन्छ ।

यसका लागि स्थानीय पत्रकार तथा संघ संस्थाको भुमिका महत्वपुर्ण हुन आउँछ । हाम्रो सरकार पुर्ननिर्माणमा सुस्त छ । भुकम्पबाट प्रभावित भएका घरहरू नै पुर्ण रुपमा बनिसकेका छैनन् । हावाहुरीबाट पूर्ण र आँशिक रुपमा गरी बारा र पर्सामा करिब उन्नाइस सय घरमा क्षति पुगेको छ । वर्षाको मौसम आउँदैछ । यस्तो अवस्थामा पीडितको दुख कम गर्न सम्बन्धित निकायले जतिसक्दो चाँडो पुनर्निर्माणको कार्यलाई प्राथमिकतामा राख्नुपर्छ ।

श्रावण भदौमा बाढी पहिरोको जोखिम पनि उत्तिकै छ । हरेक वर्ष ठूलो जनधनको क्षति भएपछि क्षतिपुर्तिको घोषणा गर्नुभन्दा विपद् जोखिम व्यवस्थापनको पुर्वाधार तयार गर्नतर्फ सम्बन्धित सबै निकायको ध्यान जानु जरुरी छ ।

राहत वितरण क्षणिक सहयोग हो, यो विपद व्यवस्थापनको दिर्घकालिन समाधान होइन । विपद् जोखिम भएका ठाउँको अध्ययन गरी जोखिम नियन्त्रणका लागि आवश्यक कदम चाल्नु जरुरी छ । प्राकृतिक विपद् रोक्न त सकिँदैन, तर न्यूनिकरण गर्न भने अवश्य सकिन्छ ।

बिनिता कार्की
विद्यार्थी, स्नातकोत्तर, विपद् व्यवस्थापन संकाय

Write your Comment