काठमाडौं ।
बारा र पर्सामा २८ जनाको मृत्यु हुने गरी आएको विनाशकारी आँधी चितवन राष्ट्रिय निकुञ्जमा सुरु भएको पत्ता लागेको छ ।
जल तथा मौसम विज्ञान विभाग, द स्मल अर्थ नेपाल र इसिमोडका वैज्ञानिकको टोलीले गरेको अध्ययनमा हावाहुरी चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएको पाइएको हो । विभागले हुरी टोर्नाडो नै रहेको पनि बताएको छ ।
‘स्थलगत सूचनाहरु र अध्ययनको आधारमा विभाग उक्त विनाशकारी हावाहुरी टोर्नाडो नै रहेको निश्कर्षमा पुगेको छ । साथै उक्त टोर्नाडो चितवन राष्ट्रिय निकुञ्जबाट सुरु भएको देखिन्छ’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ । वैज्ञानिकको टोलीले चैत २० देखि २४ गतेसम्म प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेर विभिन्न तथ्यहरु संकलन गरेको थियो ।
स्थलगत अध्ययनको क्रममा टोलीले प्रभावित क्षेत्रको ड्रोन तथा अन्य उच्च प्रविधियुक्त क्यामेराबाट भिडियो तथा तस्वीर खिच्नु र स्थानीयसँग अन्तर्वार्तासमेत गरेको थियो ।
चैत १७ गते आएको हावाहुरीको प्रारम्भिक अध्ययन गरी विभागले यो टोर्नाडो भएको बताएको थियो । स्थलगत र विस्तृत अध्ययनबाट पनि हावाहरी टोर्नाडो नै भएको पुष्टि भएको विभागको भनाइ छ ।
Write your Comment