काठमाडौं ।
यस वर्ष सम्झनलायक चलचित्र निकै कम बने । तर नायक–नायिका बनेर करिअर चम्काउने दाउमा चलचित्रमा प्रवेश गर्नेको संख्या भने निकै बाक्लो रह्यो ।
धेरै निर्माता–निर्देशकले चलचित्रमा चलेका नायक रोजे, नायिकाका रुपमा नयाँलाई रोजेको पाइयो । चलेका नायिकालाई लिए नायकका रुपमा नयाँलाई डेब्यू गराएको पाइयो ।
‘चि मुसी चि’बाट सुनिल क्षेत्री, ‘बाँध मायाले’बाट किशोर खड्का, ‘अनुराग’बाट समुन्द्र पण्डित, ‘इन्टु मिन्टु लण्डनमा’बाट धिरज मगर, ‘समर लभ’बाट आशिष पिया, ‘बुलबुल’बाट मुकुन भुषालले चलचित्रमा डेब्यू गर्दा युवा ज्योतिष हरिहर अधिकारी ‘शुभ लभ’बाट डेब्यू गरे । यसवर्ष हाँस्य कलाकार मनोज गजुरेलले पनि ‘सय कडा १०’ मार्फत चलचित्र अभिनयमा डेब्यू गरे ।
यसवर्ष चलचित्रमा डेब्यू गर्ने नायकभन्दा नायिकाको संख्या झण्डै तेब्बर रह्यो । चलचित्र ‘हैरान’बाट आरोही शर्मा, ‘अमेरिका ब्याइज’बाट सृष्टि कार्की, ‘बेबी आई लभ यू’बाट पूजा तिवारी, ‘बोबी’बाट कविता गुरुङले डेब्यू गरिन् ।
‘चि मुसी चि’बाट अलिशा शर्मा, ‘रेनी’बाट सनम मल्ल, ‘कही कतै’बाट शिवानी गिरी, ‘मालिका’बाट कमला वली, ‘मेरी मामु’बाट कुसुम गुरुङले डेब्यू गर्दा ‘ड्रिम गर्ल’बाट आश्मा गिरी, ‘अनुराग’बाट एलिजा गौतम, ‘छिरिङ’बाट कामना भुजेल, ‘गरुड पुराण’बाट प्रियंका सिंह ठकुरीले डेब्यू गरिन् । यसवर्ष सेड्रिना शर्माले ‘नाई नभन्नु ल ५’ मार्फत बाल कलाकारको रुपमा चलचित्रमा डेब्यू गरिन् ।
यसैवर्ष ‘रणवीर’बाट २ नायिका सुपुष्पा भट्ट र शुभेक्षा खड्काले डेब्यू गरे । चलचित्र ‘सय कडा १०’ बाट करुणा श्रेष्ठ, ‘समर लभ’बाट रेवती क्षेत्री, ‘क्याप्टेन’बाट उपासना सिंह ठकुरी र प्रियंका एमभी, ‘द ब्रेकअप’बाट शिल्पा मास्के, ‘जानी नजानी’बाट निरिषा बस्नेत, ‘शुभ लभ’बाट क्रिष्टिन पौडेल, ‘ए मेरो हजुर ३’बाट सुहाना थापा र ‘यात्रा’बाट मलिका महतको डेब्यू भयो ।
चलचित्र क्षेत्रमा प्रवेश गर्नु मात्रै ठूलो कुरा होइन । चलचित्र यात्रालाई अगाडि बढाउनु ठूलो हो । यसवर्ष डेब्यू गरेका धेरै नायक–नायिकामध्ये केहीको मात्र आगामी यात्रा सहज हुने लक्षण देखाएका छन् । केहीलाई चलचित्र क्षेत्रमा आगामी स्टारको रुपमा समेत हेर्न थालिएको छ ।
जसको प्रतिभामा सम्भावना देखियो
मुकुन भुसाल
मुकुन भुसालले फागुन ३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘बुलबुल’बाट डेब्यू गरेका हुन् । डेब्यू फिल्मबाटै तारिफ पाउने भाग्यमानी अभिनेता मध्येमा पर्छन् मुकुन ।
‘बुलबुल’मा उनले निर्वाह गरेको ‘चोपेन्द्र’को भूमिकालाई समीक्षकले खुरैले तारिफ गरेका थिए । अभिनयमा मास्टर्स गरेका उनलाई चलचित्र क्षेत्रमा सम्भावना बोकेका नायकको रुपमा हेरिएको छ ।
धिरज मगर
‘इन्टु मिन्टु लण्डनमा’बाट चलचित्रमा पाइला राखेका हुन् धिरज मगरले । यो चलचित्र असोज ५ गतेबाट प्रदर्शनमा आएको थियो । यूकेमा बसेर यूट्यूबमा भ्लग गर्ने धिरजले चलचित्रमा प्रवेश गर्नु अगाडि नै लोभलाग्दो क्रेज बनाएका थिए ।
चकलेटी लुक्सका धिरजले चलचित्र प्रदर्शनपछि पनि राम्रो चर्चा पाए । चलचित्रले औसत व्यापार ग¥यो । त्यसयता धिरज ‘आईएम ट्वान्टी वान’मा अनुबन्धित भएका छन् । उनलाई नेपाली चलचित्रमा सम्भावना बोकेको नायकको रुपमा हेरिएको छ ।
शिल्पा मास्के
शिल्पा फागुन १७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘द ब्रेकअप’बाट सिने नगरीमा डेब्यू गरेकी हुन् । त्यसयता उनी अभिनित अर्को चलचित्र ‘कागजपत्र’ पनि प्रदर्शनमा आइसकेको छ । दुवै चलचित्र व्यावसायिक रुपमा सफल हुन नसकेपनि अभिनेत्री शिल्पाको अभिनयको भने खुलेरै तारिफ भयो ।
लण्डनमा पढेकी शिल्पाले हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्ज’मा पनि अभिनय गरेकी छिन् । लण्डनमै रहँदा चलचित्रको अफर पुगेपछि उनी नेपाल आएर चलचित्रमा अभिनय गरिन् । हाल शिल्पा आफ्नो तेस्रो चलचित्र ‘सानो मन’को छायांकनमा व्यस्त छिन् । यसरी एकपछि अर्को चलचित्रमा व्यस्त बनेकी शिल्पालाई चलचित्र उद्योगमा एउटी सम्भावना बोकेकी नायिकामा हेरिएको छ ।
उपासना सिंह ठकुरी
अभिनेता भुवन केसी निर्मित चलचित्र ‘क्याप्टेन’बाट डेब्यू गरेकी अभिनेत्री हुन् उपासना सिंह ठकुरी । चलचित्र फागुन १७ गतेबाट प्रदर्शनमा आएको थियो । अनमोल केसीसँग ‘स्क्रिन शेयर’ गरेकी उनको अभिनयलाई दर्शकले तारिफ गरे । आर्मीकी छोरी उपासना स्नातक तह पहिलो वर्षमा अध्ययनरत छिन् ।
आउँदा दिनमा पढाइ र चलचित्रलाई सँगसँगै अगाडि बढाउने उनको योजना छ । पहिलो चलचित्र प्रदर्शनमा आएसँग उनलाई अन्य चलचित्रबाट पनि अफरहरू आइरहेको बताएकी छिन् ।
सुहाना थापा
‘ए मेरो हजुर ३’ डेब्यू नायिका हुन् सुहाना थापा । चलचित्र शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । चलचित्र प्रदर्शनमा नआएपनि सार्वजनिक गीत, ट्रेलरलाई लिएर उनको अभिनयको चर्चा भइरहेको छ ।
अभिनेत्रीबाट निर्देशक बनेकी झरना थापा पुत्री सुहानालाई चलचित्र क्षेत्रमा एउटा सम्भावना बोकेकी नायिकाको रुपमा हेरिएको छ ।
मलिका महत
मलिका महतले चलचित्र ‘यात्रा’बाट डेब्यू गर्दैछिन् । चलचित्र आउँदो शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तर मलिकाको सुन्दरता र अभिनयको चर्चा भने चलिरहेको छ । सलिनमान बनियासँग जोडी बाधेकी मलिकालाई पनि चलचित्र क्षेत्रकी सम्भावना बोकेकी नायिकाको रुपमा हेरिएको छ ।
यस्तै सुविन भट्टराईको चर्चित उपन्यासमाथि बनेको चलचित्र ‘समर लभ’बाट डेब्यू गरेकी रेवती क्षेत्री, ‘ड्रीम गर्ल’बाट डेब्यू गरेकी आश्मा गिरी, ‘रणवीर’बाट डेब्यू गरेकी सुपुष्पा भट्ट, ‘जानी नजानी’बाट डेब्यू गरेकी निरिषा बस्नेत, ‘सय कडा १०’ बाट डेब्यू गरेकी करुणा श्रेष्ठ लगायतलाई पनि चलचित्र क्षेत्रमा सम्भावना देखाएका नायिकाको रुपमा हेरिएको छ । तर चलचित्र क्षेत्रमा लामो रेसको घोडा बन्न कामप्रतिको लगनशीलता भने जरुरी हुन्छ ।
-lokantar
Write your Comment