त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार लुक्ला विमानस्थलबाट मन्थली (रामेछाप) का लागि उड्ने क्रममा धावनमार्ग छाडी दाहिनेतर्फ मोडिएर विमानले दुई हेलिकप्टरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा ३४ वर्षीय कोपाइलट सुजित ढुंगाना, हेलिप्याडमा रहेका पर्यटन प्रहरीका असई रामबहादुर खड्का र अर्का नेपाल प्रहरीका असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमै र असई श्रेष्ठको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो ।
मन्थली विमानस्थलका लागि बिहान ९ः०७ बजे फर्किने क्रममा उक्त विमान तारबारभित्र हेलिप्याडमा राखिएका दुइटा बीथ्रीई हेलिकप्टरमा ठोक्किन पुगेको थियो । विमानले ठक्कर दिँदा मनाङ एयरको ककपिटबाट ओर्लिने तरखरमा रहेका क्याप्टेन चेतबहादुर गुरुङ र त्यसै एयरलाइन्सका स्थानीय कर्मचारी लाक्पा शेर्पा सामान्य घाइते भएका छन् । घाइतेमध्ये क्याप्टेन रवीन्द्रबहादुर रोकाया र शेर्पा उपचारपछि आइतबारै घर फर्किसकेका छन् । दुर्घटना भएको स्थल धावनमार्गको मध्यविन्दुबाट करिब ५० मिटर दूरीमा रहेको लुक्ला विमानस्थलले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका दुई असई फाप्लुबाट लुक्ला आइपुगेका सोलुखुम्बुका सीडीओ र डीएसपीलाई लिन हेलिप्याडमा पुगेका थिए ।
उडान नम्बर ८०२ रहेको उक्त विमानको मन्थली–लुक्ला आठौं उडान थियो । मन्थली–लुक्ला हवाई दूरी १८ मिनेटको छ । क्याप्टेन रोकायाले विमान उडाउने जिम्मा कोपाइलट ढुंगानालाई सुम्पेका थिए । समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्कीका अनुसार यात्रु र कार्गोरहित खाली विमान भएकाले उडानको जिम्मा कोपाइलटलाई दिइएको थियो । ‘खाली विमान भएकाले उक्त उडानको जिम्मा कोपाइलटलाई दिइएको क्याप्टेनले बताएका छन्,’ प्रबन्ध निर्देशक कार्कीले भने । समिटले यो दुर्घटना धावनमार्गका कारण नभई उडानका क्रममा कुनै कमजोरी भएको अनुमान गरेको छ । नागरिक उड्डयन प्राधिकरणले लुक्लाजस्तो जोखिमयुक्त मानिने विमानस्थलका लागि कोपाइलट ढुंगाना ‘पर्फेक्ट’ भइनसकेको जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।
Write your Comment