गृहबाट कसले चोर्यो साढे २ करोडको प्राडो ?

रातोघर

 २ बैशाख २०७६, सोमबार १५:४७  मा प्रकाशित
१७३ पाठक संख्या



नागरिकको जीउधनको सुरक्षाको जिम्मेवारी गृह मन्त्रालयले लिन्छ । चोरी, डकैती, हुलदंगा वा अन्य कुनै कारणबाट आफ्नो जीउ वा धनको सुरक्षा चुनौती महसुस भएमा नागरिकले सुरक्षा माग्न जाने ठाउँ नै गृह मन्त्रालयअन्तर्गतको सुरक्षा निकाय हो ।

तर, गृह मन्त्रालयबाटै गम्भीर प्रकृतिको चोरी भएको तथ्य खुलेको छ । चोरी पनि कुनै सामान्य वस्तु होइन । गृह मन्त्रालयले नै खटाएका ट्राफिक प्रहरी चौबीसे घण्टा खटिने सडकमै गुड्ने गाडी नै चोरी भएको छ ।

गृह मन्त्रालयबाट बा६च १०२५ नम्बरको प्राडो जिप चोरी भएको हो । प्राडो जिपको मूल्य अहिले नेपालमा २ करोड २५ लाख रुपैयाँदेखि २ करोड ८५ लाख रुपैयाँसम्म छ ।

यो प्राडो गृह मन्त्रालय आफैंले किनेको होइन । गृहले पनि चमेलिया जलविद्युत् आयोजनाबाट लिएको थियो । चमेलियाले गृह मन्त्रालयलाई दिएको भनिएको बा६च १०२५ नम्बरको प्राडो जिप अहिले बेपत्ता छ ।

महालेखापरीक्षकको कार्यालयले लेखापरीक्षणको क्रममा गाडी बेपत्ता भएको तथ्य फेला पारेको हो । चमेलियाले खरिद गरेको सो प्राडो उसले गृह मन्त्रालयलाई दिएको कागज महालेखालाई देखाएको थियो । तर, गृह मन्त्रालयले भने सो गाडी आफूसँग नभएको र कहाँ छ भन्ने कुनै जानकारी नै दिन सकेन ।

‘चमेलियाबाट गृह मन्त्रालयमा गएको देखियो, गृह मन्त्रालयमा खोजी गर्दा न गाडी छ, न त कहाँ छ भन्ने जानकारी नै उसले दिन सक्यो, चमेलिया जलविद्युत् आयोजनाले खरिद गरेको बा६च १०२५ नम्बरको गाडी हरायो,’ महालेखापरीक्षकको कार्यालयका एक अधिकारीले भने ।

shilapatra

Write your Comment