अलबिदा ! जदौ, रूपावासी, घाँस काट्ने…

रातोघर

 २ बैशाख २०७६, सोमबार १६:०२  मा प्रकाशित
४५४ पाठक संख्या



काठमाडौं ।

कला र साहित्य जति जीवन्त कुरा अरू हुन सक्दैन । मानिसले आफ्नो देह त्यागे पनि उसले गरेको कार्य र सिर्जनाले संसारमा उसलाई बचाइरहेको हुन्छ ।

ती र त्यस्ता केही व्यक्तित्वलाई नेपाली कलासाहित्यले पनि कृति र कार्यमा मात्र सम्झिनुपर्ने भएको छ । वर्ष २०७५ मा नेपाली कला साहित्यले गुमाएका केही व्यक्तित्वः

यज्ञनिधि दाहाल

रेडियोकर्मी तथा साहित्यकार यज्ञनिधि दाहालको २५ साउन २०७५ मा मृत्यु भयो । मिर्गाैला प्रत्यारोपणपछि नियमित डायलासिस गर्दै २३ वर्ष बिताएका दाहालको मस्तिष्काघातका कारण मृत्यु भएको हो ।

पञ्चायतकालदेखि रेडियो नेपालमा ‘साहित्य संसार’ कार्यक्रम सञ्चालक दाहालको ‘जदौ श्रोता, जदौ, खुल्यो साहित्य संसारको दैलो’ कार्यक्रम लोकप्रिय रहेको थियो ।

२०१० मा जन्मिएर २०३० सालबाट साहित्यमा लागेका दाहाल २०३४ सालमा रेडियो नेपालमा कार्यक्रम सञ्चालक बनेका थिए । तत्कालीन समयमा कथित तल्लो जातका मानिसहरूले प्रयोग गरिने अभिवादन ‘जदौ’ शब्दको प्रयोगलाई दाहालले व्यापकता दिएका थिए ।

दाहालले नेपाली गीत–संगीतका साथै साहित्यिक लेख, साहित्य समीक्षा, समालोचना, अन्तर्वार्ता र रेडियो प्रसारणमार्फत नेपाली साहित्यको विकासमा टेवा पुर्याएका छन् । उनको मृत्युले नेपाली साहित्य र सञ्चार क्षेत्रलाई क्षति पुगेको छ ।

बीएस राणा

नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार बीएस राणाको पनि २०७५ सालमा मृत्यु भयो । ६० वर्ष अगाडिदेखि अभिनय यात्रा सुरु गरेका राणाको ७८ वर्षको उमेरमा निधन भएको हो ।

१९९६ सालमा जन्मिएका राणा १८ माघ २०७५ सालमा मृत्यु भएको हो । राणा मुटु र श्वासप्रश्वास समस्याबाट पीडित थिए ।

राणाले दर्जनौं टेली चलचित्रमा अभिनय गरेका थिए । सेतो बाघ, दर्पण छायाँ–२, कसले चो¥यो मेरो मन, दासढुंगा, कोसेली, चिनो, दक्षिणा, दुई थोपा आँसु, नेपाली बाबु, करोडपति, अपराध, माया त माया हो, वसन्ती, देशलगायत सयभन्दा बढी नेपाली चलचित्रमा राणाले अभिनय गरेका थिए । राणा लामो समयसम्म शिक्षण पेसामा समेत आबद्ध थिए ।

मोहनराज शर्मा

साहित्यकार तथा समालोचक प्राध्यापक मोहनराज शर्माको १० माघ २०७५ मा मृत्यु भयो । मधुमेह, रक्तचाप र अन्य रोगबाट पीडित शर्माको ७८ वर्षको उमेरमा कलंकीस्थित नेसनल अस्पतालमा निधन भएको हो ।

१९९७ मा काठमाडौंमा जन्मेका शर्माले लामो समय प्राध्यापनमा बिताएका थिए । उनी नाटक, समालोचना, कथालगायतका विधामा कलम चलाउँथे । उनका नेपालीका केही आधुनिक साहित्यकार, कथाको विकास प्रक्रिया (समालोचना), जेमन्त र यमालगायतका कृति प्रकाशित छन् । शर्मा मदन पुरस्कार विजेतासमेत हुन् ।

बालकृष्ण पोखरेल

वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको ११ फागुन २०७५ मा निधन भयो । उनको मृत्युले नेपाली साहित्यमा अपूर्णनीय क्षति भएको छ ।

१९९० मा जन्मिएका पोखरेल नेपालका चर्चित भाषाशास्त्री, लेखक र प्राध्यापक थिए । पोखरेलले ‘नेपाली भाषा र साहित्य’ का लागि मदन पुरस्कार (२०२१) प्राप्त गरेका थिए । पोखरेल रूपावासी, वसन्त लक्ष्मीविलास केकेमनुक्च्यो पोखरेल आदि उपनामबाट पनि नेपाली साहित्यका क्षेत्रमा चिनिएका थिए ।

नेपाली भाषाका इन्साइक्लोपेडिया मानिने पोखरेलले ७५ हजार शब्दको ‘बृहत् नेपाली–अंग्रेजी–नेपाली कोश’ प्रकाशित गरेका थिए । उनका कविता, उपन्यास, कथा, नाटक, अनुसन्धान, निबन्धलगायतका सय बढी कृति प्रकाशित छन् ।

बुद्धिकृष्ण लामिछाने

भक्तपुरको बागेश्वरी गाविस–३ मा १ साउन २०१५ मा जन्मिएका बुद्धिकृष्ण लामिछानेको ६६ वर्षको उमेरमा २०७५ पुस १३ गते शुक्रबारका दिन आफ्नै घरमा निधन भएको हो । लामिछानेलाई उनको गीत घाँस काट्ने खुर्केरले आमजनमानसमा प्रभाव छोडेको थियो ।

उनले लोक गायकका रूपमा लामो समयसम्म रेडियो नेपालमा पनि योगदान दिएका थिए । उनले हिजो आजका कुरा, तीतोसत्यलगायतका नेपाली टेलिशृंखलामा पनि अतिथि भूमिका निर्वाह गरेका थिए ।

उनले नेपाली सेनामा पनि योगदान दिएका थिए । उनको घाँस काट्ने खुर्केर, गाई त बाँध्ने पाटको दाम्लो, पिँढीमा बसेर मेरै बाटो हेरेरलगायतका गीत निकै चर्चित छन् ।

Write your Comment