…सपनाहरूको माया लागेर आउँछ

रातोघर

 २ बैशाख २०७६, सोमबार १६:१५  मा प्रकाशित
२२९ पाठक संख्या



काठमाडौं ।

सार्वजनिक समारोहका बोली र उखानका कारण चर्चामा रहने प्रधानमन्त्री केपी शर्मा ओली देश विकासका सपनाका कारण सर्वसाधारणमाझ सधैं चर्चा र चासोमा हुन्छन् ।

सपनाका कारण ओली चर्चित छन् कि ओलीका कारण सपना ? प्रश्न प्रधानमन्त्री ओलीका सपनाजस्तै रहस्यमयी छन् । नेपाल उद्योग परिसंघको १६औं वार्षिक साधारण सभा (२५ चैत) मा प्रधानमन्त्री ओलीले नेपालबाट क्यानडा र रुसमा आँप निर्यात गर्ने सपना सुनाए । भूमध्यरेखा आसपास रहेका देशमा नेपाली स्याउ निर्यात गर्ने कुरा सुनाए उद्योगीलाई । सपना साकार पार्न लगानी गर्नुहोस् भन्दै उद्यमीलाई अनुरोध गरे ।

योजना सुनेर उद्योगीले ताली बजाएर मनैदेखि स्वागत गरे । रेल र पानी जहाजका योजनाले देशवासीलाई स्वप्नद्रष्टा बनाएका ओलीले परिसंघको कार्यक्रममा भने, ‘जाडो मुलुकमा नपाइने चीज हाम्रोमा पाइन्छ, क्यानडालाई आँप सप्लाई गरौं । रसियालाई आँप सप्लाई गरौं ।’

रुसी र क्यानडियन नागरिकले नेपाली आँप स्वाद मानेर खाने घोषणा पनि ओलीले गर्न भ्याए । ‘मीठो मानेर खान पाउँछन् नि ! त्यहाँ फल्ने होइन,’ उनले थपे ।

कर्कट रेखा र मकर रेखाबीच भूमध्य रेखाको आसपासका देशलाई स्याउ सप्लाई गरौं । ती ठाउँहरूमा स्याउ हुँदैन । गर्मी ठाउँहरूलाई स्याउ सप्लाई गरौं

रुस र क्यानडाजस्ता चिसो मौसम हुने देशलाई आँप सप्लाई गर्ने ओलीको सपना आजको होइन । गत २२ असारमा उद्योग परिसंघको १५ औं वार्षिक साधारण सभामै ओलीले रुसमा नेपाली आँप निर्यात गर्ने योजना सुनाएका थिए । २२ असारमा उनले भनेका थिए, ‘हामी रुसमा आँप निर्यात गर्न सक्छौं । रुसी नागरिकले एकपटक आँप चाख्ने हो भने जिन्दगीभर आँपको स्वाद भुल्न सक्दैन ।’

आँप र किबीको तुलाना गर्दै उनले भनेका थिए, ‘आँपको अगाडि त्यो युरोपियनले खाने अमिलो फल किबी भन्ने त के हो र ?’

१० महिनापछि ओलीले फेरि त्यही विषय दोहोर्याउँदै रुसमा आँप निर्यात गर्ने सपना सुनाए । १० महिनाको अन्तरमा ओलीको ‘आँप सपना’मा स्याउ मिसिएकोे छ । अघिल्लोपटक आँप मात्रै निर्यात गर्ने योजना सुनाएका ओलीले यसपटक भने एक कदमअगाडि बढेर आँपसँगै स्याउ पनि निर्यात गर्ने बताए । ओलीको स्याउ निर्यात गर्ने सपना गर्मी मौसम हुने देशले पूरा गर्नेछन् ।

‘कर्कट रेखा र मकर रेखाबीच भूमध्य रेखाको आसपासका देशलाई स्याउ सप्लाई गरौं । ती ठाउँहरूमा स्याउ हुँदैन । गर्मी ठाउँहरूलाई स्याउ सप्लाई गरौं,’स्याउ निर्यातमा उनको आग्रह छ ।

तर, आँप र स्याउको नेपाली यथार्थ भने प्रधानमन्त्री ओलीले देखेको सपनाविपरीत छ । प्रधानमन्त्री ओलीले आँप र स्याउ निर्यात गर्ने सपना देखिरहँदा नेपाली बजारमा भारतबाट आयातित आँपको वर्चस्व छ । चीनबाट आयातित स्याउले नेपालीको स्याउ खाने रहर पूरा भएको छ ।

नेपाल फलफूल महासंघका सचिव महेश खड्काका अनुसार नेपाली बजारमा उपलब्ध स्याउ ८० प्रतिशत चीनबाट आयात गरिएका हुन् । १० देखि १५ प्रतिशत स्याउ भारतबाट आयातित हुन् । बाँकी नेपालमै उत्पादित स्याउ हुन् ।

खड्काका अनुसार नेपाली बजारमा पाइने सबै आँप भारतबाट आयात गरिएका हुन् । खड्का आँपको सिजनमा समेत नेपाली आँपले दुई महिना पनि नधान्ने बताउँछन् ।

सगरमाथाको मिनरल वाटर !
प्रधानमन्त्री ओलीको सपना आँप र स्याउमा मात्र सीमित छैन । ओलीको सपना सगरमाथाको पानी सप्लाई गर्नेसम्म छ ।

परिसंघको कार्यक्रममा बोल्दै ओलीले सगरमाथाको पानी सप्लाई गर्ने पुरानो योजना फेरि दोहोर्याए । त्यसो त ओलीले गत साउनमा गण्डकी प्रदेशसभालाई सम्बोधन गर्दै रेलमा मिनरल वाटर सप्लाई गर्ने योजना सुनाएका थिए ।

गण्डकी प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘हाम्रोमा बाहेक मिनिरल वाटर कुनै देशमा बन्दैन । छानेको पानी मिनिरल वाटर बन्छ ।’ ओलीले गण्डकी प्रदेशसभामा प्रधानमन्त्री ओलीले रेलमा नेपालबाट मिनरल वाटर राखेर विदेश सप्लाई गर्ने योजना सुनाएका थिए ।

सभामा उनले भनेका थिए, ‘खोलामा बगेको पानी बोतलमा भरेर बेच्यो भने मात्रै देश धनी बन्छ । रेल चलाएपछि ल्याउने सामान अरू होला । तर, पठाउने वस्तु मिनिरल वाटर हो ।’ परिसंघको कार्यक्रममा ओलीले खोलाको पानी मात्रै होइन । सगरमाथाको पानी पनि मिनरल वाटरका रूपमा बोटलिङ गरेर सप्लाई गर्ने सुनाए ।

‘साँच्चै, मिनरल वाटर भनेको माउन्टेनबाट र हिमालबाट आउँछ,’ सगरमाथाबाटै मिनरल वाटर उत्पादन गरेर सप्लाई गर्न सकिने तर्क दिँदै ओलीले भने, ‘सगरमाथा भनेको एकतिर मात्रै होइन, यतातिरबाट, उतातिरबाट, उतातिरबाट, उतातिरबाट । खोलैपिच्छेबाट सगरमाथा पानी बेच्न सकिन्छ, विश्वलाई ।’

सगरमाथाको पानी भनेर विश्व बजारमा सहजै पानी बिक्री गर्न सकिने ओलीको भनाइ छ । उनी भन्छन्, ‘सर्वोच्च शिखरको मूलको तथा संसारको सर्वोच्च शिखरको पानी भनेर संसारलाई देखायौं भने त्यसको अर्थ बेग्लै हुन्छ नि, महत्व बेग्लै हुन्छ नि ।’

हामी विद्वान् पुर्खाका सन्तान हौं । बाँकी दुनियाँ अन्धकारमा हुँदा हाम्रो क्षेत्रमा ज्ञान फैलिन्थ्यो । ढुङ्गे युगबाट समाज र ओडारबाट छाप्रामा बस्न यही ठाउँले सिकाएको हो ।

खासमा पानी बेचेर देश धनी बनाउने ओलीको सपना सानैदेखिको रहेछ । पानी बेचेर धनी बन्न सकिने आफ्नो सानैदेखिको सपना रहेको रहस्योद्घाटन गर्दै ओलीले भने, ‘म सानो छँदादेखि नै पानी बेचौं, पैसा आउँछ भनेको म बूढो भइसकें ।’

बगिरहेको पानी पनि सदुपयोग गर्न नसकिएकामा चिन्तित देखिएका ओलीले भने, ‘अब हामी त्यो पनि केही नगरी बसेका छौं । पानी बेचेर पैसा कमाउन सकिन्छ भनेको पानी बग्याबग्यै छ ।’

ओलीले सगरमाथाको पानी निर्यात गर्ने सपना सुनाइरहँदा चीनले सगरमाथाको पानी सप्लाई गर्न थालिसकेको कुरा भने भुलेछन् ।

गत साता मात्रै राजधानीको भृकुटीमण्डपमा आयोजित नेपाल अन्तर्राष्ट्रिय व्यापार महोत्वसमा एक चिनियाँ कम्पनीले ‘एभरेस्ट ग्ल्यासिएर’ लेखिएको सगरमाथाको पानी बिक्री गर्न राखेको थियो ।

कोमोलाङग्मा ग्ल्यासिएरको पानी भनिएको उक्त मिनरल वाटरको विज्ञापनमा लेखिएको थियो, ‘फ्रम माउन्ट एभरेस्ट ८८४८ मिटर । एभरेस्ट ग्ल्यासिएर, नेसनल वाटर प्रिमियम मिनरल वाटर अफ चाइना ।’

सगरमाथाको पानी निर्यात गर्ने प्रधानमन्त्री ओलीको सपना चीनले पो साकार गर्यो कि ?

विद्वान् पुर्खाको जेनेटिक मेमोरी
आफ्ना भाषणमा सधैं नयाँ नयाँ शब्द ‘क्वाइन’ गर्ने ओलीले यसपटक नेपाली युवामा विद्वान् पुर्खाको जेनेटिक मेमोरी रहेको कुरा इनोभेसन गरे । नेपालीका पुर्खा विद्वान् भएको तर्क दिँदै ओलीले भने, ‘हाम्रा महान्, विद्वान्, रचनात्मक पुर्खाहरू, तिनको जिनेटिक मेमोरीसहितको जनसंख्या हामीसँग छ ।’

गत २२ असारको परिसंघको कार्यक्रममा पनि ओलीले नेपालीका पुर्खा विद्वान् थिए भन्दै भनेका थिए, ‘हामी विद्वान् पुर्खाका सन्तान हौं । बाँकी दुनियाँ अन्धकारमा हुँदा हाम्रो क्षेत्रमा ज्ञान फैलिन्थ्यो । ढुङ्गे युगबाट समाज र ओडारबाट छाप्रामा बस्न यही ठाउँले सिकाएको हो ।

कन्दमुल खाने युगबाट कृषि गर्ने युगमा पनि यही ठाउँ गएको हो । यति मात्रै होइन, संगीत, कला, साहित्य, अक्षर र लिपि पनि यही ठाउँबाट जन्मिएका हुन् । औषधि विज्ञान यही ठाउँबाट प्रार्दुभाव भएको हो । ग्रह नक्षत्र पनि यही ठाउँबाट उदाएको हो । बाँकी दुनियाँ अन्धकारमा हुँदा हाम्रा पुर्खा बृहस्पति, शुक्र कता पुग्यो भनेर हिसाब गर्थे । असाधारण पृथ्वी र ग्रह, उपग्रहको गति र खोजमा थिए हाम्रा पुर्खा ।’

यस्ता विद्वान् पुर्खाको विद्वता र ज्ञानसहितको जेनेटिक मेमोरी अहिलेका नेपालीमा रहेको पनि ओलीले उद्घोष गरे ।

ओलीले भने, ‘हामीसँग जवान जनसङ्ख्या छ तर कस्तो जवान जनसङ्ख्या छ भन्दा विद्वान्, इनोभेटिभ क्रियटिभ, त्यस्तो विद्वान् पुर्खाको जिनेटिक मेमोरीसहितको जवान जनसङ्ख्या छ ।’

नेपाली पुर्खालाई विद्वान् बताइरहँदा ओलीले स्टिम इन्जिनका आविष्कारक जर्ज वाट र हवाईजहाजका आविष्कारक राइट दाजुभाइलाई पनि स्मरण गर्न भ्याए । विकाससँग प्रविधिको साइनो केलाउँदै ओलीले भने, ‘हिजो विकासका निम्ति यन्त्रको सहायता लिन सकिँदैन थियो ।’

केही शताब्दीपहिले यन्त्र आविष्कार विकास गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै ओलीले भने, ‘रेल इन्जिन कहाँ थियो र जेम्स वाट चियाको किट्लीबाट भर्खर त यसो बनाउँदै थिए ।’

बहुमत नहुँदा अस्थिरता आयो, सरकार फेरिरहे भनेर बहुमत पनि दिएको छ । तैपनि, हुँदैन भने के गर्ने ? स्थायित्व दिएको छ, अब हुँदैन भने के गर्ने

ओलीले यति भनिरहँदा कार्यक्रममा उपस्थितले हाँसो थाम्न सकेनन् । हाँसोले हल गुन्जिपछि हौसिएजस्ता देखिएका ओलीले हवाईजहाजको प्रसङ्ग झिकेर हवाईजहाज आविष्कारक राइट दाजुभाइबारे भने, ‘अहिले १६ सय वर्षअगाडि राइट ब्रदर्स यसो भाटासाटा जोड्दै थिए प्लेनमा । आजभन्दा ठ्याक्कै १६ सय वर्षअगाडि हो । यो १६ सय वर्षमा आज, यहाँ सुत्यो भने न्युयोर्क पुगिन्छ उठ्दाखेरि ।’

२२ असारको कार्यक्रममा गरिब र भीख माग्ने नेपाली नै होइन, नेपाली गरिब हुनै सक्दैन भनेका ओलीले यसपटकको भाषणमा नेपालमा चरम गरिबीमा नरहेको आशय व्यक्त गरे । नेपालमा पर्याप्त मात्रामा खान पुग्ने गरी उत्पादन हुने गरेको उनको भनाइ थियो ।

‘चरम गरिबी भन्ने गरिन्छ । तर, त्यस्तो होइन, खानपुग्ने गरी उत्पादन हुन्छ हामी कहाँ । अब हामीलाई मसिनो चामल चाहिन्छ भने त्यो जिब्रोको कुरा हो । खान नपुगेर होइन,’ ओलीले भने ।

खाद्यान्नका विषयमा प्रधानमन्त्री ओलीको अर्को स्पष्ट दृष्टिकोण देखिन्छ । उनी भन्छन्, ‘हाम्रो धान, हाम्रो गहुँ, हाम्रो मकै, कोदो, हाम्रो आलु, हाम्रो सागसब्जी यो सबै गर्दा हामीलाई नपुग्ने र भोकमरीको अवस्था छैन ।’

गत साता दालभात र तरकारी सबैभन्दा ठूलो औषधि हो भन्ने जिकिर गरेका प्रधामनमन्त्री ओलीले निरपेक्ष गरिबीलाई अब इतिहास बनाउने दाबी गरे । आगामी चार वर्षमा निरपेक्ष गरिबी समाप्त पार्ने भन्दै ओलीले भने, ‘यो निरपेक्ष गरिबीको कुरा आउँदा अबको चार वर्षभित्र इतिहास बनाइनेछ । निरपेक्ष गरिबी भन्ने कुरा अब हुनेछैन ।’

समृद्धिका लागि अब के गर्नु ?

‘आमजनताले गर्नुपर्ने कुरा त गरिसके । आन्दोलन गरिसके । परिवर्तन गरिसके सार्वभौमसत्ता सम्पन्न बनाइसके । स्थानीय तह चलाउन स्थानीय जनप्रतिनिधि छानेर पठाइदिएका छन् । अब गर्दैनन् भने दोष कसलाई लगाउने ?’ ओलीले प्रश्न गरे,

‘संघीय ढाँचा भयो भने राम्रो हुन्छ भनेर संघीय ढाँचा पनि बनाइदिएको छ । अब त्यसभन्दा बढी के गर्नु ?’

आफैंप्रति लक्षित गरेर प्रश्न गरेका ओलीले बहुमत पाएर पनि केही गर्न नसकिएको हो कि भन्ने सङ्केत पनि गरे । ओलीले भने, ‘बहुमत नहुँदा अस्थिरता आयो, सरकार फेरिरहे भनेर बहुमत पनि दिएको छ । तैपनि, हुँदैन भने के गर्ने ? स्थायित्व दिएको छ, अब हुँदैन भने के गर्ने ?’

-shilapatra

Write your Comment