फैसला लेखकको पक्षमा, भावना वादीका पक्षमा

रातोघर

 ३ बैशाख २०७६, मंगलवार ०८:२६  मा प्रकाशित
२०८ पाठक संख्या



काठमाडौं ।

सरस्वती प्रतीक्षाको नथिया, विवेक ओझाको ऐलानी र दीपक वली निर्देशित पण्डित बाजेको लौरीविरुद्ध वादी समुदायले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।
सरकार र वादी समुदायबीच २८ असोज २०६४ मा भएको सहमति कार्यान्वयन गर्न आवश्यक नीति तथा कानुन बनाउनु भन्दै अदालतले सरकारलाई आदेश दिएको छ ।
२८ असोज २०६४ मा सरकार र वादी समुदायबीच भएको सहमतिले वादी समुदायलाई लक्षित गरेर ‘भाँड, वदेनी, पातर, रन्डी’ जस्ता शब्द प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ ।

चलचित्र विकास बोर्डलाई पनि अदालतले आदेश दिएको छ । अदालतले बोर्डलाई कुनै पनि समुदाय, जाति, धर्म, वर्ण, क्षेत्र तथा सम्प्रदायका मानिसको मानमर्यादा, इज्जत, प्रतिष्ठा र आत्मसम्मानमा आघात पुग्ने शब्द चित्रसहितका चलचित्रको प्रदर्शन गर्दा प्रभावकारी नियमन गर्न पनि आदेश जारी गरेको छ ।

आगामी दिनमा साहित्य सिर्जना गर्दा सर्जकले सचेत हुनपर्ने आग्रह गर्दै अदालत भन्छ, ‘विद्वान्लाई इसारा नै काफी हुन्छ’ भन्ने कहावत पनि छ । त्यसैले ‘ऐलानी’ तथा ‘नथिया’ को अर्को संस्करण प्रकाशन गर्दा तथा अन्य कुनै साहित्य सिर्जना गर्दा सम्बन्धित व्यक्ति, वर्ग वा सुमदायको भावनामा आघात पुग्नेतर्फ विपक्षीहरू लेखक÷लेखिका तथा प्रकाशकको समुचित ध्यानाकर्षण हुने कुरामा यो इजलास विश्वास व्यक्त गर्दछ ।’

नथिया र ऐलानी प्रकाशित भएसँगै वादी समुदायमा देखिएको असहमतिलाई बौद्धिक विलासका रूपमा मात्र लिन नहुने अदालतको ठहर छ । वादी समुदायसँग विभिन्न समयमा भएका सम्झौता कार्यान्वयमा सरकारले ढिलासुस्ती गरेकै कारण वादी समुदाय असन्तुष्ट भएको अदालतको ठहर छ ।

वादी समुदायले किताब र चलचित्रविरुद्ध दिएको रिट निवेदनलाई वादी समुदायको आत्मसम्मान र प्रतिष्ठामा परेको चोट, पीडा तथा आघातको औपचारिक अभिव्यतिmका रूपमा बुझ्नुपर्ने भए पनि पुस्तक र चलचित्रमा बन्देज लगाउनुपर्ने कारण नभएको अदालतले फैसला गरेको छ ।

पुस्तक तथा फिल्ममा ‘पातर, भाँड, वदेनी, रन्डी, वेश्या’ जस्ता शब्द वादी समुदायलाई होच्याउन प्रयोग नगरिएको अदालतको ठहर छ । वादी समुदायले पुस्तक र चलचित्रविरुद्ध रिट निवेदन हालेर सामाजिक, आर्थिक र सांस्कृतिक विषयमा न्यायिक उपचारको अपेक्षा गरे पनि पुस्तक र चलचित्र बन्देज नै गर्नु नपर्ने फैसला गरेको छ ।

साहित्य सिर्जनाको विषयलाई साँघुरो दायरमा राख्न नहुने भन्दै अदालत भन्छ, ‘जहाँ नपहुँचे रवि, वहाँ पहुँचे कवि’ !! यहाँ प्रभुक्त रवि शब्द प्रतीकात्मक देखिन्छ ।
यो कहावतको तात्पर्य साहित्य सिर्जनाको कुरालाई साँघुरो दायरामा राखेर हेर्न हुँदैन भन्ने पनि हो ।’

वादी समुदालयलाई लक्षित गरी प्रयोग गरिने भाषा, शब्द, शैली तथा व्यवहारमा पनि सद्भाव र सम्मानपूर्ण दृष्टिकोण अपाउनुपर्ने आवश्यकता अदालतले औंल्याएको छ ।

Write your Comment