जनकपुर।
प्रदेश २ काे प्रदेशसभा बैठक मंगलबार दिउँसो ३ बजे बस्ने भएको छ।
संसद बैठक ३ बजे बोलाइएको प्रदेशसभा सचिव रञ्जित कुमार यादवले बताए। उनका अनुसार १ बजे कार्यव्यवस्था समितिको बैठक बस्नेछ।
सभामुख सरोज कुमार यादव १ महिना लामो बिदा बसेकाले आजकाे बैठक उपसभामुख उपमा देवले सञ्चालन गर्ने बताइएको छ।
गएकाे चैत्र २० गते स्थगित प्रदेशसभा बैठकमा प्रदेश सरकारले प्रमुख जिल्ला प्रशासक राख्ने प्रदेश प्रशासनसम्बन्धी विधेयक दर्ता गरेको छ। प्रमुख जिल्ला अधिकारीलाई जिल्लामा ‘शक्तिशाली’ बनाउने विधेयक संघीय सरकारले सदनमा पेस गरेको बेला प्रदेश सरकारले प्रमुख जिल्ला प्रशासक राख्ने विधेयक दर्ता गरेको छ।
प्रमुख जिल्ला अधिकारीको समानान्तर हुनेगरी प्रमुख जिल्ला प्रशासक राख्ने तयारी प्रदेश सरकारले गरेको हाे। विधेयकमा नागरिकता, सीमासम्बन्धी, राहदानी लगायतका अधिकारबाहेक प्रमुख जिल्ला प्रशासकलाई सबै अधिकार हुने प्रावधान राखिएको छ।
‘प्रमुख जिल्ला प्रशासकमा कर्फ्यू लगाउनेदेखि दंगाग्रस्त क्षेत्र घोषणा गर्नेसम्मको अधिकार रहनेछ’, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले भने, ‘संघीय सरकारले प्रमुख जिल्ला अधिकारीलाई दिन लागेको असिमित अधिकार मान्य छैन।’
२ वटा अधिवेशन समाप्त हुँदासम्म प्रदेश २ मा १६ वटा विधेयक मात्र पारित भएका छन्। तर, संसदको चालू अधिवेशनमा दर्जन बढी विधेयकहरु दर्ता भएको बताइएको छ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पहिलो दिन सदन अवरोध नगर्ने बताइएको छ। ‘वीरगञ्जको विपी उद्यानको सम्बन्धमा हामीले मुख्यमन्त्रीको जवाफ मागेका छौं’, कांग्रेसका सचेतक शिवचन्द्र चौधरीले भने, ‘मुख्यमन्त्रीले जवाफ नदिए सदनलाई चल्न दिने छैनौं।
कांग्रेसले वीरगञ्जको विपी उद्यान, जनता आवास, प्रादेशिक क्षेत्रमा १ करोड विकास बजेट लगायतको विषयमा सरकारलाई घेर्ने तयारीमा छ। प्रदेशको नाम, राजधानी, भाषा लगायतका विषयमा समेत विपक्षीले सरकारलाई अप्ठ्यारोमा पार्ने सम्भावना छ।
प्रदेश सरकारले सदनलाई पूरा समय चलाएर दर्ता गरिएका विधेयकहरु पारित गराउने पक्षमा छन्। सरकारले विपक्षीहरुलाई विश्वासमा लिन नसके सदन सहजरुपमा अगाडि बढ्न नसक्ने देखिएकाे छ। सरकारले प्रदेशको नाम र राजधानीको टुंगो लगाउन ढिला गरे विपक्षीहरुले प्रस्ताव ल्याउन सक्ने संकेत दिइसकेका छन्।
-nepallive
Write your Comment