छोरी स्कुलमा महिनावारी भइन् भने?

रातोघर

 २०७६ बैशाख ३, मंगलबार  मा प्रकाशित
३४२ पाठक संख्या


काठमाडौं । 

स्कुल भर्ना याम सुरू भएको छ। हामी आफ्ना सन्तानको गुणस्तरीय शिक्षाका लागि महिनाको हजारौं खर्च गर्न तयार हुन्छौं। पढाइ र अतिरिक्त क्रियाकलापमा चनाखो बन्छौं। तर, जुन स्कुल तपाईं छान्दै हुनुहुन्छ, त्यहाँ छोरीहरूका निम्ति महिनावारी हुँदा के-कस्ता सुविधा छन्? यसतर्फ कहिले ध्यान दिनुभएको छ?

हामीले राजधानीका केही चल्तीका स्कुलहरूसँग यसबारे कुरा गर्यौं।

लिटिल एन्जल्स स्कुलले आफ्ना विद्यार्थीलाई महिनावारीबारे बेलाबेला जानकारी गराउँछ। छात्राहरूलाई महिनावारी हुँदा स्यानिटरी प्याड पनि उपलब्ध गराउँछ। त्यो प्याड लिन सम्बन्धित व्यक्तिलाई भनेर पैसा तिर्नुपर्छ।

‘महिनावारी भएका छात्राहरूलाई स्कुलमा कुनै समस्या हुने छैन,’ लिटिल एन्जल्सका प्रिन्सिपल मुकुन्दराज शर्माले सेतोपाटीसँग भने, ‘हामीकहाँ स्यानिटरी प्याड सजिलै पाइन्छ। स्कुलले तोकेको मूल्य भने तिर्नुपर्छ, नि:शुल्क होइन।’

सुदेशा स्कुलले महिनावारी भएका छात्राको स्वास्थ्य समस्या ख्याल गर्दै एक जना नर्स व्यवस्था गरेको जनाएको छ। ती नर्ससँग छात्राले आफ्ना समस्या राख्न सक्छन्। स्यानिटरी प्याड पनि सजिलै लिन सक्छन्। यसले छात्राहरूको गुनासो सुन्न नपरेको प्रिन्सिपल वीरंगना महर्जन बनाउँछिन्।

उनका अनुसार स्कुलमा पाँच कक्षादेखि नै महिनावारीबारे जाकारी गराइन्छ। यस्तो बेला कसरी सफा रहने र के-कस्ता आहार खाने भन्नेबारे कक्षामै सिकाइने उनले बताइन्।

एपेक्स लाइफ स्कुलमा पनि एक जना नर्सको व्यवस्था छ। यहाँ विभिन्न स्यानिटरी प्याड कम्पनीहरूले वर्षको दुई/तीनवटा कार्यक्रम गर्दै आएका छन्। महिनावारीमा सजिलो होस् भनेर सिनियर र जुनियर छात्राका निम्ति छुट्टाछुट्टै शौचालय व्यवस्था गरेको प्रिन्सिपल हरि दाहालले जानकारी दिए।

ड्याफोडिल स्कुलले पनि छात्राहरूलाई स्यानिटरी प्याड उपलब्ध गराउँदै आएको छ। महिनावारी भएका विद्यार्थीले सोधपुछ कक्षमा गएर प्याड मागे विद्यालयले उपलब्ध गराउँछ।

गत वर्ष पाँच कक्षाभन्दा माथिका विद्यार्थीलाई सहभागी गराएर महिनावारीबारे जानकारी दिएको स्कुलका अतिरिक्त क्रियाकलाप संयोजक रेश्मा राईले बताइन्।

‘धेरैजसो त नानीहरू घरबाटै प्याड लिएर आउँछन्। ल्याउन बिर्सेका बेला वा स्कुलमै महिनावारी भए हामीकहाँ आएर माग्न सक्छन्,’ उनले भनिन्।

प्रिमियर इन्टरनेसनल स्कुलले गत वर्ष १४ वटा हेल्थ क्याम्प राखेको थियो, जसमा महिनावारी कार्यक्रम पनि समावेश थिए। यहाँ महिनावारी भएका छात्रालाई नि:शुल्क प्याड पनि उपलब्ध गराइन्छ।

‘हाम्रो स्कुलमा छात्र र छात्राका लागि छुट्टाछुट्टै क्लब छ। त्यहाँ दिनदिनैजसो महिनावारीका कुरा हुन्छन्,’ विद्यालयकी नर्स नन्दनी महर्जनले भनिन्, ‘त्यसबाहेक वार्षिक रूपमा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरू हुन्छन्।’

उनका अनुसार महिनावारीको समयमा छात्राहरूलाई धेरै नै समस्या भए सकभर औषधि खान दिइँदैन, बरू ‘हट ब्याग’ ले सेक्न लगाइन्छ। तल्लो पेट दुख्दा ‘हट ब्याग’ ले सेके धेरै आराम हुने र यो प्राकृतिक तरिका भएको उनले बताइन्।

रोजबड स्कुलले भने कक्षा ७ भन्दा माथिका विद्यार्थीलाई महिनावारीबारे परामर्श दिने गरेको छ। यसबारे वार्षिक रूपमा कार्यशाला पनि गर्दै आएको छ। यहाँ स्यानिटरी प्याडको व्यवस्था पनि भएको स्कुलले जनाएको छ।

हामीले कुरा गरेका स्कुलहरूले महिनावारीका कुनै पनि समस्या विद्यार्थीहरूबाट नसुनिएको दाबी गरे।

राजधानीका यी नामी निजी स्कुलहरूको दाँजोमा बाफलको सरकारी स्कुल ज्ञानोदय उच्च माविले प्याड उपलब्ध गराउन सहज तरिका अपनाएको छ।

यहाँ स्कुल हाताभित्रै ‘भेन्डिङ मेसिन’ राखिएको छ, जसमा पैसा घुसारेर प्याड झिक्न सकिन्छ। कसैसँग सोध्ने वा माग्ने झन्झट छैन। ज्ञानोदयबाहेक अन्य स्कुलमा हामीले यस्तो सुविधा भेटेनौं।

ज्ञानोदयले यस वर्षदेखि महिनावारी सरसफाइ निम्ति वार्षिक बजेट छुट्याउने भएको छ। छ रुपैयाँमा स्यानिटरी प्याड उपलब्ध गराउँदै आएको यो स्कुलका प्रधानाध्यापक नातिकाजी महर्जन विद्यार्थीलाई निशुल्क वितरण गर्न पनि तयार रहेको बताउँछन्।

‘अहिलेसम्म मकहाँ प्याड किनेको बिल आएको छैन। विभिन्न संघसंस्था र विद्यालयका म्यामहरूले नै मिलाइरहनु भएको छ,’ उनले भने, ‘विद्यार्थीले नि:शुल्क गर्नुपर्छ भन्ने प्रस्ताव राखे त्यसको निम्ति पनि हामी तयार छौं।’

स्वास्थ्य र विज्ञान विषय पढाउने महर्जन महिनावारी बेला छात्राहरूको शारीरिक र मानसिक परिवर्तनलाई स्कुलहरूले आत्मसात् गर्नुपर्ने बताउँछन्।

‘कतिले दुई/तीनवटा झिकेर घरमा लगे भन्ने सुन्नमा आएको छ। मलाई यसमा चिन्ता छैन,’ उनले भने, ’घरमै लगेर राखे पनि के भो र? आखिर महिनावारी हुँदा नै प्रयोग गर्ने हुन्। मुख पुछ्ने त होइन। कसैले जगेडा लान खोज्छन् भने लगून् भनेको छु। दुइटा होइन, दसवटा नै लगून्। बरू अरूलाई पनि दिनुस् भनेर चेतना बढाउनुपर्ने छ।’

ज्ञानोदयका प्रधानाध्यापक महर्जन महिनावारी बेला प्रयोग हुने प्याडलाई सामान्य कपडाका रूपमा लिनुपर्छ भन्ने धारणा राख्छन्।

यति मात्र होइन, अहिले अफिस कोठाभित्र राखिएको भेन्डिङ मेसिनलाई विद्यार्थीको निम्ति योभन्दा सहज पहुँच हुने ठाउँमा ल्याउने तयारी पनि भइरहेको छ।

अन्य स्कुलले भने अझै यो विषय गुपचुपै राख्छन्। सबैले ज्ञानोदयबाट सिक्ने कि?

-setopati

Write your Comment