भत्केको पुरैनियामा नयाँ वर्षको बिहानी

रातोघर

 ३ बैशाख २०७६, मंगलवार १२:४६  मा प्रकाशित
१६३ पाठक संख्या



पुरैनिया (बारा) ।

परिवारमा सात जना थिए, तीन पुरुष र चार महिला। दुई साताअघिको आँधिले परिवारका चारै जना महिलाको घरले थिचिएर ज्यान गयो। बचेका तीन पुरुष आइतबार त्यही भग्नावशेषअगाडि लहरै बसेर बाटोतिर टोलाइरहेका थिए।

सारा मुलुकले २०७६ सालको नयाँ वर्ष मनाइरहँदा भर्खर सूर्योदय भएको पुरैनिया गाउँ भने अझै शोकमा डुबेको थियो। त्यसमा पनि सबैभन्दा मन थामिन्थ्यो, फेटा गाउँपालिका–६ स्थित पुरैनियाका हैदर अन्सारीको यी तीनपुस्ते बाबुछोरा देखेर।

म एकाबिहानै वीरगन्जबाट साइकल हाँकेर करिब १५ किलोमिटर पर यो गाउँ आइपुगेको थिएँ। नारायणी सिँचाइ आयोजनाको गण्डक नहर किनारै किनार।

सिँचाइका इन्जिनियरहरूलाई कुदाउन तयार पारिएको यो कच्ची सडकले दशकौंसम्म हुलाकी राजमार्ग नबनेका पर्सा, बारा र रौतहटका देहाती भेगलाई यातायात सुविधाले प्राण दिने काम गर्दै आएको छ।

यस परियोजनाबाट गाउँलेले मनग्गे खेती गर्न पानी पनि पाउनुपर्ने थियो। तर, गण्डक (नारायणी) नदी थुनेर भारततर्फ बगेको समानान्तर नहरमा सदैव पानी बगिरहँदा पनि नेपालतर्फको सानो नहरमा भने भारतले पानी दिन कञ्जुसी गर्दै आएको छ।

गण्डक नहर।

‘उहिले उहिले बरोबर पानी बगेको देखिन्थ्यो,’ नहरकै छेउ फेटा गाउँमा चियापसल थापेका ६० वर्षीय रामानन्द साह भनिरहेका थिए, ‘हिजोआज त वर्षभरिमा एकपटक मात्रै, त्यो पनि थोरै पानी देख्छु।’

छेउमै गहुँ काटिरहेका गाउँलेहरू त्यत्रो नहर भएर पनि यस भेगमा खेतीकिसानी गर्नेलाई खासै लाभ नभएको सुनाइरहेका थिए।

यसरी ठगिएको यो भेगमा अर्को कहर बनेर बर्सिएको थियो, दुई साताअघिको आँधिहुरी।

असिनापानीका साथ आँधिहुरी त सिँगो भेगमा चलेको थियो, तर बबन्डर ‘टोर्नेडो’ ले मच्चाइदियो।

पर्सा जिल्लाको उदयपुर घुर्मीबाट सुरु भएको देखिने त्यो टोर्नेडो जगरनाथपुर, सुखचैना हुँदै चैनपुर, खुटवा, जब्दी, भलुही, भरबलिया, पुरैनिया, धरमनगर, फुलबरिया, रंगपुरवा, तेलगाहीँ, हर्दिया, परशुरामपुर, पचरौता कटेपछि बगहीमा गएर अन्त्य भएको थियो।

बबन्डरको सोझो रेखामा परेका यी गाउँहरूमध्ये सबैभन्दा ठूलो नोक्सानी कलैया–वीरगन्ज सडकदेखि भारतीय सिमानाको बीचमा पर्ने भलुही, भरबलिया, पुरैनिया र सुवर्ण गाउँपालिकाको हर्दिया गाउँमा देखिन्थ्यो।

यो संवाददाता पुरैनिया र हर्दिया पुग्दा अहिले पनि ढलेका बिजुलीका पोलहरू बाटोमै लडिरहेका र त्यसका तार बाटाभरि फिँजिएका देखिन्थे।

प्रभावित कतिपय स्थानमा अहिलेसम्म प्रभावकारी हिसाबले बिजुली वितरण हुन नसकेको गाउँलेहरू बताइरहेका थिए।

जुन किसिमले सरकारको ध्यानाकर्षण भएको देखिएको थियो, त्यस हिसाबले दुई सातामा यी चार गाउँमा बिजुली लैजानु खासै ठूलो कुरा थिएन। तर, काठमाडौंमा भनिएका कुरा र घटनास्थलको यथार्थबीच अन्तर झल्काउने सबैभन्दा ठूलो आधार नै यिनै बिजुलीका ढलेका पोल र अझै असरल्ल छरिएका तार हुन्।

गाउँहरूमध्ये सबैभन्दा नोक्सानी यही पुरैनियामा भएको थियो, जहाँ दस जनाको मृत्यु हुन पुग्यो। त्यसमध्ये चार जना त एउटै परिवार, अर्थात् हैदर अन्सारीको घरका चार महिला हुन्, जसको घटनास्थलमै मृत्यु भएको थियो।

फेटा गाउँपालिका–६ स्थित पुरैनियाका हैदर अन्सारी।

हैदरको परिवार पुस्तौंदेखि यही गाउँमा बस्दै आएका हुन्।

‘पहिले पुरानो टोलमा घर थियो,’ च्यापिएको शरीरलाई लौरोको सहारामा हिँडाउँदै गरेका उनले लौरो बिसाएपछि उत्तरतिरको पुरानो बस्ती औंल्याउँदै भने, ‘उता कम जग्गा भएकाले चार-पाँच वर्षदेखि यताको सस्तो जग्गामा घर बनाएर बस्दै आएका हौं।’

लुगाकपडा सिलाइको काम गर्ने हैदरले यो पेसालाई वीरगन्ज, काठमाडौं हुँदै कतारसम्मै निरन्तरता दिए।

‘छ महिनापहिले कतारबाट फर्केपछि गाउँमै किराना पसल थापेर बसेको थिएँ,’ हैदरले कन्चटका पसिना पुछ्दै भने, ‘अचानक यस्तो भइदियो।’

आँधिले उनको घरपरिवारदेखि झन्डै दस कठ्ठामा लगाएको गहुँ पनि मायालाग्दो गरी सुताइदिएको छ। परिवारमा सात जना बस्दै आएकामा त्यो विनाशकारी आँधि आउँदा पाँच जना मात्र थिए।

‘बुबा धार्मिक कामले रौतहट जानुभएको थियो,’ हैदरले भने, ‘मेरो छोरो मामाघर गएको थियो।’

त्यतिबेलै आएको आँधिमा घरमा रहेका उनीसहित पाँचै जना किचिए। तीस वर्षे पत्नी सकिमा खातुन, ६० वर्षे आमा मीना खातुन अनि सात र दस वर्षकी दुई भान्जीहरू।

एक्लो छोरो हैदरले आफ्ना दुई दिदीबहिनी प्रत्येकका एक-एक छोरीलाई आफूसँगै राखेर पढाउँदै आएका रहेछन्।

‘अचानक केही सेकेन्डमै घर भत्किने मात्र होइन, टुक्रा टुक्रा पार्ने गरी हुरी चल्यो,’ उनले भने, ‘भाग्ने मौका पनि पाएनौं।’

चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने पाँचौं उनलाई घाइते अवस्थामा दौडादौड वीरगन्ज अस्पताल लगियो।

अस्पतालमा तीन दिन बसेपछि औषधि लेखिदिएर घर फर्काइएछ। हैदरलाई त्यसयता पनि डाक्टरले घरै आएर हेरिदिएका रहेछन्।

‘औषधिबाहेक हिँडडुल गर्दा रक्तसञ्चार भइरहन्छ भनेर डाक्टरले सम्झाइरहनुभएको छ,’ उनले भने, ‘त्यसैले लठ्ठी टेकेर विस्तारै यताउति गरिरहेको छु।’

हैदरका अनुहार र हातमा पनि चोटका डाम देखिन्थे।

‘अस्पतालबाट गाउँ आएपछि मैले नै परिवारका चारै जनाको अन्त्येष्टी गरेँ,’ उनले उत्तरपूर्वी कुनातिर देखाउँदै भने, ‘त्यता हाम्रो कब्रिस्तान छ।’

पुरैनियामा करिब तीन सय घरमध्ये दुई घर लोहार र दुई घर तेलीबाहेक बाँकी सबै मुसलमानकै बस्ती रहेको गाउँले बताउँछन्।

सबैभन्दा ठूलो क्षति भोगेको हैदरको घरमा अनेक नेतादेखि ठूलाबडाहरू आएका रहेछन्। तर, उनलाई सबैभन्दा याद माधव नेपालको छ।

‘सुरुमा त म अस्पताल भएकै बेला आफैं आउनुभएको थियो रे,’ नेता नेपाललाई स्वयंले नभेटेका हैदरले भने, ‘त्यसपछि पनि पटक-पटक आफ्ना मानिस पठाइकन मेरा बारेमा सोधखोज गरिरहनुभएको छ।’

पछिल्लो समय दुई दिनअघि मात्र नेपालका दूतहरू आएर उनका छोरालाई पढाइदिने प्रस्ताव राखेका रहेछन्।

‘हरिऔनमा बाह्र कक्षासम्म पढाइ हुने कुनै स्कुल रहेछ, त्यसैमा मेरो छोरालाई पठाउने हो भने निःशुल्क पढाइदिने कुरा गरिरहनुभएको छ,’ हैदरले भने, ‘घरसल्लाह गरेर टुंगोमा पुगेपछि फेरि चार-पाँच दिनमा आएर लैजान्छौं भन्नुभएको छ।’

हर्दिया गाउँ

हैदरले यो जानकारी दिइरहँदा उनका बाह्र वर्षे छोरा साहेब अन्सारी छेउमै निहुरिएर बसिरहेका थिए। साहेब हाल सितलपुरको मदरसामा पढ्दै रहेछन्।
प्रकृतिको यो बितन्डापछि गाउँमा सहयोगको ओइरो लागेको हैदर सुनाउँछन्।

‘अहिलेसम्म गाउँमा पीडितहरूलाई पर्याप्त सहयोग भइसकेको छ,’ हैदर भन्छन्, ‘खाने, पिउने, ओढ्ने, ओछ्याउने कुराको अभाव होइन, बरू थुप्रिन थालिसकेका छन्।’

उनका अनुसार अब हुनुपर्ने भनेको भग्नावशेषहरू हटाएर बलियो घरमा बस्ने व्यवस्था हो, जसतर्फ अहिलेसम्म कुनै पहल भएको छैन।

‘कम्तीमा भत्केका घरका यी थुप्रो मात्रै हटाइदिए पनि मन अन्त लाग्थ्यो,’ उनले भने, ‘यति पनि कसैले गरिदिएका छैनन्।’

गाउँमा केन्द्र सरकार र प्रदेश सरकारका मानिसले आएर घर बनाइदिने भने पनि अहिलेसम्म त्यो काम ठ्याम्मै देखिएको छैन।

‘म अस्पतालबाट घर आउनुअगावै यहाँ सरकारी मानिसहरू आएर टिपेर लगेका थिए भन्ने सुनेको थिएँ,’ हैदर भन्छन्, ‘त्यसबाहेक अहिलेसम्म कुनै साइसुइँ छैन।’

यस्तो बेला दुई साता नाघ्दा पनि राहत सामग्री बाँड्न आउनेहरूको मात्र एकोहोरो ओइरो लागिरहेको छ। शनिबार मात्रै पनि कुनै संस्थाले ट्याक्टरमा पकाउने भाँडाकुँडा ओसारेर गाउँभरिलाई बाँडेको थियो। यस्ता सहयोगको अब अर्थ हराउँदै गएको हैदर सुनाउँछन्।

आँधिपीडित यी गाउँमा पस्नेबित्तिकै यतिबेला देखिने दृश्य भनेकै जताततै टेन्टहरू हुन्। चिनियाँ अक्षरले लेखिएका यी निला टेन्टहरू घटनालगत्तै सेनाले ल्याएर लगाइदिएको गाउँले बताउँछन्।

‘अरू सामान्य बेला त यो टेन्ट ठीकै छ,’ हैदर भन्छन्, ‘पानी परेपछि चुहिने र सामान्य हावाहुरीमै उडाइदिने गर्दा भागाभागै मच्चिन्छ।’

सुरुमा जसोतसो बास दिएको यो टेन्टले अब आएर उल्टो त्रास दिन थालेको र केटाकेटीहरू यसमा बस्नै अप्ठेरो मानिरहेको अन्य गाउँले पनि बताइरहेका थिए। उनीहरू सबै एक स्वरमा स्थायी प्रकृतिकै घर भइदिए हुने भन्ने इच्छा राखिरहेका थिए।

‘सुरुमा तत्काल बस्ने र खाने समस्या भएका बेला यी सबै चिज पाउँदा खुसी नै लागेको थियो,’ ५४ वर्षीया अर्की पीडित कमरु नेशा भनिरहेकी थिइन्, ‘अब चाहिँ राहत बाँड्नेभन्दा भत्केको हटाउने र घर बनाउने मानिसको जरुरत छ।’

फेटा–३, पुरैनिया छेवैको अर्को टोल हो जहाँ आँधिले उस्तै विध्वंश मच्चाएको छ।

२१ वर्षीय सोहेब मियाँको घर भत्किएकै ठाउँमा अरू गाउँलेजस्तै निलो टेन्ट लागेको छ। त्यसैका अघिल्तिर उनी पाक्दै गरेको खाना कुरिरहेका थिए।

‘घर भत्किएको खबर सुन्नेबित्तिकै काठमाडौंबाट आएँ र यतै छु,’ उता सैलुनमा काम गर्ने सोहेबले भने, ‘परिवारमा मृत्यु कसैको नभए पनि दुई जनालाई लागेका चोटपटकले अझै घाइते छन्।’

छेवैमा ३५ वर्षीया घाइते नसिमा खातुन उभिएकी थिइन्। टाउकोमा अझै घाउको ठूलो खत देखिन्थ्यो भने भाँचिएको हातलाई अहिले पनि गर्धनदेखि बाँधिएको कपडाले झुन्ड्याइरहेको।

नसिमा खातुन

उनको गलामा एउटा ठूलै परिचयपत्र पनि झुन्डिरहेको थियो।

‘गाउँपालिकाका मुखियाले हामीजस्ता पीडितको पहिचान गरेर घाँटीमा झुन्ड्याउन यो कार्ड दिएका हुन्,’ उनले भनिन्, ‘राहत र सहयोग आएका बेला यसैलाई हेरेर वितरण गर्ने गरिएको छ।’

नसिमाले आफ्नो घरमा समेत यतिन्जेल पच्चीस बोरा चामल थुप्रिसकेको इमानदारीका साथ बताइन्।

‘अरूहरूको घरमा त अझ धेरै राहत सामग्री थुप्रिसकेको छ,’ उनले थपिन्, ‘अब राहत होइन, हामीलाई बलियो घरको जरुरत छ।’

वर्षातसमेत आउन थालिसक्दा सेनाले दिएको प्लास्टिकको घरले अब बिस्तारै चिन्ता बढाउन थालेको उनले बताइन्।

गाउँलेहरूको भनाइमै एकमत प्रकट गर्छन्, स्वयंसेवी प्रकाश थारु। वीरगन्जका प्रकाश यो प्रकोपसँग सम्भवत सबैभन्दा बढी जोडिएको सामाजिक नाम हो।

आँधिको भोलिपल्ट बिहान सबेरै म अतिप्रभावित भरबलिया गाउँ पुग्दा थारु त्यस क्षेत्रमा खटिन थालिसकेका थिए। उनी अघिल्लो रातदेखि नै खटिएको बताइरहेका थिए।

अहिले त प्रकाश यस भेगमा सहयोग गर्न चाहने सबै मानिसको सम्पर्क केन्द्रजस्तै बनेका छन्। कुन गाउँमा कति क्षति भयो र कति सहयोग पुगेको छ भन्ने फेहरिस्त उनले राखेका छन्।

जसरी सबै जना प्रकाशको भूमिकाको प्रशंसा गर्छन्, उसैगरी प्रकाश भने यो प्रकोपपछि सबैभन्दा बढी सेवा सेना र प्रहरीले गरेको उल्लेख गर्छन्।

‘घटनालगत्तै गाउँ-गाउँमा सेना र प्रहरीले जुन काम गरे, त्यो असाध्यै उल्लेखनीय छ,’ प्रकाश भन्छन्, ‘त्यसबाहेक धुर्मुस सुन्तली फाउन्डेसनले पनि दोस्रो दिनै यहाँ आएर चार सयवटा टेन्ट दिएको थियो।’

मुलुकभरका अनेक संघ-संस्थाले हातेमालो गरेर पर्याप्त सहयोग जुटाएको देख्दा प्रकाश दंग छन्।

‘राहत सामग्री त अब बढीभन्दा बढी पुगिसक्यो,’ प्रकाश भन्छन्, ‘अब यी सामग्री प्रयोग हुनेभन्दा थुप्रिने अवस्थामा छन्।’

उनका अनुसार अबको मुख्य काम भनेकै स्थायी रूपले उनीहरूको बसोबासको चाँजो मिलाइदिने हो।

‘अहिलेको यहाँ मुख्य गरी दुइटा आवश्यकता देखिएका छन्,’ उनले भने, ‘एउटा हावाहुरी र पानी पर्दा थेग्ने बलियो घर र अर्को आफन्त गुमाएकाहरूमा देखापरिरहेको मानसिक समस्या समाधान हुने गरी परामर्श दिनसक्ने चिकित्सक।’

कतै-कतैबाट फाटफुट आएका मानसिक परामर्श दिने चिकित्सक टिमले त्यो सेवा दिएका त छन्, तर समस्या समाधान नभइरहेको प्रकाशले सुनाए।

पुरैनिया गाउँ

शनिबार मात्रै उनी वीरगन्जका मनोचिकित्सकहरूको टोली लिएर भलुही पुगेका रहेछन्। त्यहाँ श्रीमान गुमाएकी कलावतीदेवीले पतिको मृत्युपछि आफूलाई निन्द्रा लाग्नै छाडेको बताएकी थिइन्।

‘जतिबेला पनि लोग्ने सम्झन्छु,’ उनले भनेकी रहिछन्, ‘जो आए पनि रुन्छन्। त्यसले झनै भक्कानो छुटाउँछ।’

भलुहीमा स-साना बच्चाहरू डराएर घरमा बस्न नमान्ने र एकोहोरो हुने केस पनि देखिएको प्रकाश सुनाउँछन्। एक त गाउँलेहरूलाई टेन्टको बानी नभएको र त्यसमाथि तराईको गर्मीमा वा हुरीबतास चल्दा त्यसले कामै नगर्ने उनले बताए।

प्रकाशका अनुसार अब सबैभन्दा पहिले गाउँगाउँमा घर भत्किएर थुप्रिएका भग्नावशेष हटाउनुपर्ने खाँचो छ।

‘सुरुमा सेना र प्रहरी आउँदा थिचिएका अन्नपात वा मालसामान निकाल्ने काम मात्र गरेर गए,’ प्रकाश भन्छन्, ‘उतिबेलै देखिको थुप्रो अहिले पनि हटेको छैन।’

घर बनाउने भनेपछि कम्तीमा अहिलेसम्म स्थलगत रूपमै पुगेर नापनक्सा तयार पार्ने र चौहद्दी लिनुपर्ने लगायतका जुन काम सुरु हुनुपर्ने हो त्यो थालनी नै नभएको प्रकाशले बताए।

सुवर्ण गाउपालिकाको हर्दिया पुग्दा त्यहाँ विशाल हेल्थपोष्ट देखियो। माथिल्लो तल्लाको जस्ताका छाना उतिबेला जसरी उजाडिएका थिए, अहिले पनि परैदेखि त्यसैगरी उजाडिएकै देखिन्छन्।

त्यस हेल्थपोस्टमा एमबिबिएस गरेका चिकित्सकको दरबन्दी रहे पनि अहिलेसम्म डाक्टरको नाकमुख नदेखिएको स्वयंसेवी प्रकाश थारु बताइरहेका थिए।

हर्दियामा दुई जना र छिमेकी परशुरामपुरमा एक जना गरी यो भेगमा पनि तीन जनाको ज्यान गएको थियो।

फर्कने बेला पुरैनियाका एक पीडितलाई ‘आज नयाँ वर्ष हो’ भनेर सम्झाएको थिएँ।

‘हामीलाई नयाँ वर्ष के काम लाग्छ?’ उनले भनेका थिए, ‘यो प्लास्टिकको घर छाडेर पहिलेजस्तै घरमा बस्न पाए बल्ल राहत हुन्थ्यो।’

-setopati

Write your Comment