मेरो वर्ष व्यक्ति

रातोघर

 ४ बैशाख २०७६, बुधबार १०:१३  मा प्रकाशित
३३० पाठक संख्या



एक राष्ट्रिय साप्ताहिकले दुर्गा देवीलाई वर्ष व्यक्ति २०७५ घोषणा गरेको छ। उक्त साप्ताहिकले आफ्नो कभर पेज र भित्री पेज दुवैमा ‘अविचलित आमा, वर्ष व्यक्ति’ भनेर उनको सुन्दर फोटो छापेको छ। सम्पादकीय पनि उनकै विषयमा छ। भित्री पाटोमा समेत वर्ष व्यक्ति २०७५ भनेर उनीमाथि आलेख लेखिएको छ। दुर्गा देवी अर्थात् बलत्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तकी आमा जो नौ महिनादेखि छोरीको हत्यारा खोज्न निरन्तर जुधिरहेकी छन्। यो न्याय हराएको देशमा न्याय खोज्दै हिँडिरहेकी ती साहसी, अविचलित आमाको धैर्य टुट्न नपाओस््। उनी आफ्नो गन्तव्यमा चाँडै पुग्न सकून्, ईश्वरसित मेरो प्रार्थना !

नयाँ वर्षको सुरुका दिनमा मैले पनि आफ्नो वर्षव्यक्ति २०७५ छनोट गरेकी छु। मेरो वर्षव्यक्ति त नेपालकै सर्वशक्तिमान जो चाणक्यजस्तै राजनीतिमा चतुर, भगवान्       श्रीकृष्णसरि चलाख, कुबेरजत्तिकै सम्पन्न छन्। जसको शक्ति अनि पौरखसँग विगत २२÷२३ वर्षदेखि म परिचित छु।

साल, महिना सम्झना छैन। म नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयको खानेपानी तथा सरसफाइ विभागमा सफ्टवेयर कोअर्डिनेटर पदमा कार्यरत थिएँ। माओवादी त्रास देशव्यापी बढ्दै थियो। फिल्ड भिजिटमा जान पनि कठिन थियो। ठाउँठाउँमा गाडीबाट ओर्लेर चर्को घाम हो या वर्षा, लाइनबद्ध भएर सैनिक टोलीलाई आफ्नो चेकजाँच गराउनुपथ्र्योे। फिल्डका कर्मचारीलाई पनि समयसमयमा विभिन्न किसिमका तनाव तथा समस्या आइपरेका गुनासा आइरहन्थे।

एक दिन परियोजनासञ्चालित जिल्ला शाखाका पदाधिकारीको हत्या भएको खबर आयो। यो कुरा विश्वास गर्न निकै कठिन भयो। कारण, उनी अत्यन्त साधारण, सोझा र रेडक्रसका एक सच्चा स्वयंसवेक थिए। उनी हरेकपटक काठमाडौं आउँदा मेरो अफिस छिर्थे र जिल्लामा कुनै न कुनै कार्यक्रम सञ्चालनका लागि मसित निवेदन गर्थे। नेपाली कांग्रेसप्रति आस्था राख्ने व्यक्ति भएकाले उनको हत्या भएको पछि थाहा पाइयो। माओवादीभन्दा फरक आस्था राखेकै कारण अन्य जिल्लाका रेडक्रसकर्मीहरू पनि मारिने क्रम बढ्यो। जीवनको यो एउटा पीडादायक पाटो, जसलाई मैले कहिल्यै बिर्सन सकिनँ।

एक समय यस्तो पनि आयो, देशमा मान्छे नमारेको दिन नै थिएन। हरेक दिन, हरेक साँझ र हरेक रात माओवादीलाई खाना ख्वाएको निहुँमा, उनीहरूलाई वास दिएको रिसमा र सुराकी गरेको शंकामा निर्दोषहरूको हत्या हुन थाल्यो, त्यो पनि क्रूर र वीभत्स ढंगबाट। जसको कारण हजारौं आमा, छोरी, दिदीबहिनी विधवा भए। अबोध बालबालिका टुहुरा भए। वृद्ध आमाबुवा सन्तानविहीन भए। अनगिन्ती नारीका अस्मिता लुटिए। हजारौं नेपाली अपांगता र अशक्ततामा बाँच्न बाध्य भए।

त्यस समय आफ्नो जीवनरक्षाका लागि धेरै पुरुष छिमेकी देशतिर पलायन भए। पढेलेखेका युवा अमेरिका, युरोपमा शरणार्थी भएर गए। गाउँघर पुरुषविहीन भए। म स्विडेनमा जाँदा रेडक्रसको एक सानो भेटघाट कार्यक्रममा दुईजना नेपाली युवा भेटेको थिएँ। उनीहरूले कार्यक्रममा अत्यन्त मीठो स्वरमा भावविह्वल भएर ‘शान्ति लुकाऔं कहाँ’ गीत गाए। गीत नसकुन्जेल म भक्कानिइरहें। त्यो दिन हामी तीनैजना सँगै बसेर खुब रोयौं। उनीहरू आफ्नो देश र परिवार सम्झेर रोए। म उनीहरूको पीडा देखेर रोएँ। त्यो क्षण मैले आज पनि बिर्सेकी छैन।

पत्नीको बिग्रँदो स्वास्थ्यस्थितिबाट चिन्तित नेतालाई पराया मुलुकमा सारा नेपालीको ढाडस, प्रेम र सान्त्वनाको खाँचो थियो। तर, प्रचण्डका लागि उनीहरूको हृदय रित्तो भइसकेको थियो। यी सबै बुझेर म दुःखी हुन पुगेकी छु।

पाठकलाई लागेको होला– विगतको घाउ कोट्याएर बेकारको पीडा किन दिइरहेको होला ? किनभने, मेरो वर्ष व्यक्तिको पूरा परिचय विगतको घाउ भित्रै लुकेको छ। यसलाई नकोट्याई उनको पूर्ण परिचय सम्भव छैन। कोट्याउनु जरुरी छ। १० वर्षको सशस्त्र संघर्षमा १७ हजार नेपालीको ज्यान गयो। अन्तर्राष्ट्रिय रेडक्रस आईसीआरसीको प्रतिवेदनमा १३४७ जना बेपत्ता पारिएको उल्लेख छ।

मेरो अफिसको एकजना सहकर्मी बहिनीका पति एक साँझ खाना बनाइरहेकी पत्नीलाई ‘एक क्षण घुमेर आउँछु’ भनेर निस्केपछि कहिल्यै फर्किएनन्। उनका पतिको न लास आउँछ, न सास। यस्तो परिस्थितिमा अल्झेर मान्छे कसरी बाँच्दो हो ?       विचरी अझै पनि पति आउने आशामा दुई केटाकेटीको अनुहार हेरेर बाँचेकी छिन्। यो कस्तो कहालीलाग्दो जीवन !

तर एक दिन अचानक देशमा अभूतपूर्व घटना हुन्छ। माओवादी विद्रोही समूह हत्या–हिंसाको बाटो त्यागेर शान्ति प्रक्रियामा आउँछ। टाउकाको मूल्य तोकेका र तोक्ने माओवादी र सरकारबीच शान्ति सम्झौता हुन्छ। देशमा हत्या–हिंसामा पूर्णविराम लाग्छ। जनताले शान्तिको सास फेर्छन्। यसपछि जनता विगतका तीता कुरा सबै बिर्सेर माओवादी पार्टीलाई भोट दिन्छन् र जिताएर पठाउँछन् पनि। किनकि, उनीहरूसित अर्को विकल्प नै थिएन। नेपाली जनता शान्तिसुरक्षा चाहन्थे, जुन दिन तत्कालीन सरकार पूर्णरूपमा असफल रह्यो। यसपछि माओवादी विद्रोहीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई देशको प्रधानमन्त्री बने। सरकार पनि चलाए। अहिले पनि वर्तमान सरकारमा उहिलेका माओवादीका प्रभावशाली नेताहरू विभिन्न पदमा आसीन छन्। भलै उनीहरूले देश निर्माण गर्ने खाका कतै हराइसकेका छन्।

म मान्छु– राजनीतिक आस्था फरकफरक हुन्छन्। यो पनि म बुझ्छु– आस्थाअनुसार देश बनाउने सोच, सिद्धान्त र परिकल्पना पनि फरक हुन्छन्। तर सर्वहारा बनेर, पुँजीवादको आलोचना गरेर, आर्थिक सम्पन्न व्यक्तिका सम्पत्ति लुटेर, सोही पैसाले आफ्नै देशका सन्तान मार्न युद्ध गरेर, राजा फ्याँकेर आएका प्रचण्ड आज स्वयं किन अर्को नयाँ नारायणहिटी दरबारमा राजा बनेर बसे ?       किन लडाइँको मैदानमा झैं आफ्नै निवासमा बंकर बनाएर बसे ?       किन दर्जनौं सुरक्षा सैनिकको घेरामा रहे ?        किन देश बदल्न हिँडेका नेता आफ्नै सुखसयल, सुविधा, समृद्धि र सुरक्षामा मात्र केन्द्रित रहे ?       किन परिवारको माया, मोह र उन्नतिमै मात्र देशको निर्माण भएको ठाने ?       यो मैले बुझ्न नसक्ने विषय बन्यो। आज एउटी छोरी चितवनमा मेयर छिन्। बुहारी सरकारमा मन्त्री छिन्। आफू स्वयं नेकपाका अध्यक्ष छन्। जानकारीमा आउन बाँकी अरू पनि कत्ति कुरा बाँकी नै छन्।

अति कसैलाई पनि पच्दैन। अति कसैलाई पनि फाप्दैन। चितवनमा पत्नीका नाममा एक कट्ठा घडेरीबाहेक व्यक्तिगत सम्पत्ति केही नभएको सार्वजनिक गर्ने नेता प्रचण्डको यो खालको रहनसहन र जीवनशैली देखेर जनताले उनीबारे कुरा पचाउन गाह्रो मानिरहेका छन्। पत्नी सीताको उपचार गर्न छोरी, ज्वाइँ, नर्ससहित अमेरिका पुगेको बेला अमेरिकालगायत सबैतिर छरिएर बसेका नेपालीको प्रचण्डप्रतिको घृणा, तीक्तता र आक्रोश सामाजिक सञ्जाल तथा पत्रपत्रिकाहरूमा छताछुल्ल पोखिए। जुन, दुःखदायी थियो र स्वाभाविक पनि। प्रचण्डलाई यहाँसम्म पुर्‍याउन हजारौं सपूतले बलिदान दिएकै होइनन्। हजारौं जनताले कष्ट, यातना सहेकै होइनन्। अझै पनि कति निर्दोषहरू त्यो समयले दिएको घाउ, पीडा र कष्टमा बाँचिरहेका छन्। या भनौं, बाँच्न बाध्य छन्। पत्नी सीताको बिग्रँदो स्वास्थ्यस्थितिबाट चिन्तित र पीडित नेतालाई पराया मुलुकमा सारा नेपालीको ढाडस, प्रेम र सान्त्वनाको खाँचो थियो। तर, प्रचण्डका लागि उनीहरूको हृदय रित्तो भइसकेको थियो। यी सबै बुझेर म दुःखी भएकी छु।

अन्त्यमा, मेरो वर्षव्यक्ति प्रचण्डजीलाई यही शुभकामना दिन चाहन्छु– जनयुद्धको घाउबाट पिरोलिइरहेका नेपालीमा हाई नलागोस्। भगवान्को नदेखिने लाठी शिरमा नबजारियोस्। नयाँ वर्ष २०७६ ले नेताजीलाई सबै नेपालीको भावना बुझ्न शक्ति मिलोस्। उहाँको जीवनसंगिनी सीताको स्वास्थ्यमा चमत्कारी सुधार आओस्। सबै नेपालीको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउने कर्ममा लाग्न ईश्वरले शक्ति दिऊन्। मेरो वर्षव्यक्तिलगायत सबैको जय होस् !

Û[email protected]

Write your Comment