चट्याङ लागेर बारामा ४ भारतीय नागरिकसहित ६ जना घाइते, फेटामा हुरीपीडितका टेन्ट उडायाे

रातोघर

 ४ बैशाख २०७६, बुधबार १०:३१  मा प्रकाशित
३३० पाठक संख्या



बारा ।

गएराति वर्षातसँगैको चट्याङले लागेर कलैया उपमहानगरपालिका-१३ मा ६ जना घाइते भएका छन्। यहाँको धरान नगरस्थित महल इँटा उद्योगमा चट्याङ लागेर ६ जना मजदुर घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी नवीन कार्कीले जानकारी दिए।

चट्याङ लागेर घाइते हुनेमा २ नेपाली र ४ भारतीय नागरिक छन्। प्रहरीका अनुसार चट्याङ लागेर बाराको कोतवालीका नैमुद्दिन अन्सारी र त्यही स्थानकी ६० वर्षीया सल्मा खातुन घाइते भएका छन्।

घाइते हुने भारतीयहरुमा बिहारको सीतामढीका मजदुरहरु कलेश्वर राम, भन्टु पासवान, रामप्रवेश राम र जितन पासवान छन्। उनीहरुको जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

चट्याङ लागेर मजदुर बस्ने छाप्रोमा आगलागी भएको थियो। छाप्रोमा लागेको आगो कलैया नगरपालिकाको दमकलको सहयोगमा निभाइएको डिएसपी कार्कीले बताए।

फेटामा टेन्ट उडायो

मंगलबार साँझको हावाहुरीले फेटा गाउँपालिकामा यसअघिका हुरीपीडितहरुको टेन्ट उडाएको छ। फेटा गाउँपालिका-१, भलुही भरबलिया, वडा ३ र ६ को पुरैनिया र गछिया टोलमा दर्जनौँ टेन्ट उडाएको हो।

वडा नम्बर १ भलुही भरबलियामा पनि आधा दर्जन टेन्ट उडाएको जानकारी स्थानीयबासीले दिएका छन्। ती टेन्ट चीनसहितका देश तथा नेपालस्थित स‌ंघसंस्थाले उपलब्ध गराएका थिए। टेन्टमा अस्थायी बसोबासको व्यवस्था नेपाली सेना र सशस्त्र प्रहरीले गरिदिएका थिए। टेन्ट नै उडाएपछि बालबालिका र महिलालाई सबैभन्दा समस्या परेको छ।

चैत १७ गतेको शक्तिशाली हावाहुरीका कारण फेटा गाउँपालिकामा ठूलो क्षति भएको थियो। साे घटनामा २९ जनाले ज्यान गुमाएका थिए भने सयाैंकाे संख्यामा स्थानीय घाइते भएका थिए। घरबार गुमाएका यहाँका बासिन्दा अहिले पनि टेन्टमुनि रात काट्न बाध्य छन्।

Write your Comment