रातभर पेरिस रोइरह्यो, नोत्रे डेम जलिरह्यो

रातोघर

 ४ बैशाख २०७६, बुधबार १०:३८  मा प्रकाशित
३५५ पाठक संख्या



फ्रान्सको राजधानी पेरिसको सौन्दर्य र इतिहासको प्रतीकको रुपमा रहेको ८०० वर्ष पुरानो नोत्रे डेम क्याथेड्रल सोमबार राति जलेर लगभग खरानी भएको छ। यो मध्ययुगीन संरचना माटोमै त मिलेन, तर यसको अग्लो टावर ढडेर भुइँमा लड्यो। काठे छानोको दुइ तिहाइ भाग पनि जलेर खरानी भयो।

स्थानीय समय अनुसार साँझ ६ बजेर ५० मिनेट जाँदा (नेपाली समयअनुसार राति करिब ११ बजे) नोत्रे डेमको छानोमा आगो सल्किएको थियो। एक घण्टाभित्रै आगो फैलिएर टावरसम्म पुग्यो। करिब ५०० अग्नि नियन्त्रकहरू आगो निभाउन खटिए। तर, आगो झन् फैलियो।

नोत्रे डेम क्याथेड्रलमा आगलागी सुरु हुँदा फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोन हालै पेरिसमा भएको राजनीतिक आन्दोलनको विषयलाई लिएर राष्ट्रको नाउँमा सम्बोधन गर्ने तयारीमा थिए। उनी सम्बोधन स्थगित गरी आगलागी भइरहेको स्थानतर्फ दौडिए।

तस्वीरहरूः दि गार्डियन र न्यूयोर्क टाइम्स

तस्वीरहरूः दि गार्डियन र न्यूयोर्क टाइम्स

त्यहाँ हजारौं मानिस पहिले भेला भइसकेका थिए। उनीहरू रोइरहेका थिए। इफेल टावरभन्दा पुरानो र प्रिय स्मारक जलेर खरानी हुन लाग्दा पनि उनीहरू निरीह दर्शक बनेर रुनमात्रै सकिरहेका थिए। पेरिसका मेयरले आत्तिँदै मिडियालाई भने – नोत्रे डेम अब बच्दैन, सब खरानी हुन्छ।

तर, झण्डै चार घण्टापछि पेरिसको अग्नि नियन्त्रण विभागका प्रमुख जाँ क्लाउडी ग्यालेटले सुखद समाचार दिए – नोत्रे डेममा लागेको आगो लगभग नियन्त्रणका आइसकेको छ। तर, यो सुखद समाचार सुनेर पनि पेरिसवासीको आँशु रोकिएन। किनकि, आगोले नोत्रे डेमलाई डढाएर कुरुप बनाइसकेको थियाे।

के हो नोत्रे डेम?
पेरिसका आर्कविसपको मुख्यालय रहेको नोत्रे डेम धार्मिकस्थल मात्रै होइन, विश्वकै एक प्रसिद्ध पर्यटकीय केन्द्र पनि हो। हरेक वर्ष विश्वभरका करिब १३ लाख पर्यटकहरू नोत्रे डेम पुग्ने गरेका छन्। पेरिस पुग्ने पर्यटक नात्रे डेम नगई फर्किदैनन्। नोत्रे डेमको अर्थ हो – आवर लेडी।

नोत्रे डेम कहिले बन्यो?
मध्ययुगीन गोथिक वास्तुकलाको अनुपम नमूना मानिने नोत्रे डेम बनाउन झण्डै दुई सय वर्ष लागेको थियो। किङ लुईस् सातौको पालामा सन् ११६३ मा निर्माण सुरु भएको नोत्रे डेम सन् १३४५ मा मात्रै पूरा भएको थियो।

सन् १७९० को दशकमा फ्रान्सेली क्रान्तिको बेला नोत्रे डेम क्षतिग्रस्त बनेको थियो । तर,  यसको जीर्णोद्वारप्रति फ्रान्सेली नागरिक उदासीन थिए। सन् १८३१ मा प्रकाशित भिक्टर ह्यूगोको उपन्यास ‘हञ्चब्याक अफ नोत्रे डेम’ले यो ऐतिहासिक सम्पदाको दुरावस्थाप्रति फ्रान्सेली नागरिकको ध्यान आकृष्ट गर‍्‍यो। त्यसपछि सन् १८४४ र सन् १८६४ को बीचमा यसको जीर्णोद्वार भयो।

आगोले क्षतिग्रस्त बनाउनुअघि नोत्रे डेम

आगोले क्षतिग्रस्त बनाउनुअघि नोत्रे डेम

सोमबार राति जलेर ध्वस्त भएको टावरको पनि यसै बेला पुनर्निर्माण भएको थियो।

फ्रान्सेली क्रान्तियता नोत्रे डेमले खासै क्षति भोग्नु परेन।  दुई विश्वयुद्धमा पनि कुनै देशले पनि नोत्रे डेममाथि बमगोला बर्साएन। तर, लामो समय जीर्णोद्वार नहुँदा नोत्रे डेम निकै कमजोर बनिसकेको थियो। यसैले, हाल यसको जीर्णोद्वार भइरहेको थियो। जीर्णोद्वारमा संलग्न कामदारको असावधानीले नै आगलागी भएको प्रारम्भिक अनुमान छ।

नोत्रे डेम फ्रान्सेली इतिहासको साक्षी बनेको छ। सन् १४३१ मा इङ्ल्याण्डका हेनरी छैटौंलाई यही क्याथेड्रलभित्र फ्रान्सको राजा घोषित गरिएको थियो। नेपोलियन बोनापार्टलाई पनि यही स्मारकभित्र सन् १८०४ मा सम्राट घोषणा गरिएको थियो।

न्यूयोर्क टाइम्स, दि गार्डियन र अन्य एजेन्सीहरूमा आधारित

Write your Comment