काठमाडौं–हेटौँडा सुरुङ मार्ग बनेन, सर्वसाधारणको करोडौं डुब्यो

रातोघर

 ५ बैशाख २०७६, बिहीबार २१:५९  मा प्रकाशित
१६० पाठक संख्या



भीमफेदी (मकवानपुर) ।

आठ वर्षअघि मकवानपुर जिल्लाभरि एउटा सुखद समाचार फैलियो – काठमाडौंबाट कुलेखानी हुँदै एक घण्टामै हेटौँडा पुग्ने सुरुङ मार्ग निर्माण हुने।

त्यो समाचार सुनेर सबैभन्दा बढी उत्साहित भए, भिमफेदीका स्थानीय वासिन्दाहरू। किनकि, काठमाडौं–कुलेखानी–हेटौँडा    सुरुङ  मार्ग बनेपछि भीमफेदी गाउँ एउटा व्यापारिक केन्द्रको रुपमा उदाउने आशा उनीहरूको थियो।

यो ५८ किलोमिटर मार्गमा तीन वटा सुरुङ बनाइने तय भएको थियो। तीमध्ये सबैभन्दा लामो र मुख्य सुरुङ कुलेखानीबाट सुरुभई भिमफेदीमा टुङ्गिने थियो।

भीमफेदीवासीहरू दिनदिनै सुरुङ टुङ्गिने ठाउँ हेर्न जान्थे। आगन्तुकहरूलाई पनि त्यहीँ लगेर पुलकित हुँदै भन्थे – यहीँ बन्ने सुरुङ द्वारबाट गाडीहरू फुत्त–फुत्त बाहिर आउनेछन्।

तिनै उत्साहित भीमफेदीवासीहरूमध्ये एक थिए – माधवदास श्रेष्ठ। २०७५ सालभित्र काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्ग बनेपछि भिमफेदी आयात–निर्यातको केन्द्र हुने र आफ्नो व्यापार पनि बढ्ने सपना उनले देखे।

काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्ग निर्माणमा निजी क्षेत्रले चासो देखायो। यसैले, सरकारले निजी क्षेत्रको पहल र संलग्नतामा बनको नेपाल पूर्वाधार विकास कम्पनीलाई २०६९ सालमा यो मार्ग बनाउने जिम्मा दियो।

यो कम्पनीले सर्वसाधारणबाट पैसा उठायो। मकवानपुरका वासिन्दाले गच्छे अनुसार लगानी गरे। कतिले कुखुरा–बाख्रा बेचेको र पेट काटेर जोगाएको पैसा समेत यो कम्पनीमा लगानी गरे।

भीमफेदीका स्थानीय माधवदास श्रेष्ठले पनि १० हजार रुपैयाँ खोजखाज गरी सेयर खरिद गरे। उनका दाइ केशवराज श्रेष्ठले त १० लाख रुपैयाँ नै हाले। तर, २०७१ सालमा सुरु भई गत साल सम्पन्न भइसक्नुपर्ने काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्ग अझै सुरु भएको छैन।

श्रेष्ठ दाजुभाइ र उनीहरूजस्ता सर्वसाधारणको करोडौ रुपैयाँ यो बन्दै नबनेको सुरुङको अँध्यारोमा हराएको छ। उनीहरू निराश र आक्रोशित छन्।

पूर्वाधार कम्पनीका संस्थापक अध्यक्ष थिए –नेपाल उद्योग वाणिज्य महासंघका तत्कालीन अध्यक्ष कुशकुमार जोशी।

काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्गमा सर्वसाधारणको लगानी र स्वामित्व जुटाउन जोशी आफैं मकवानपुरका विभिन्न गाउँ पुगे। स्थानीय अगुवाहरूसँग छलफल गरे। यो परियोजना सम्पन्न भएपछि मकवानपुर जिल्लाकै कायापलट हुने सपना उनले बाँडे।

जोशीको जोसिलो कुरा सुनेर हौसिएका स्थानीय अगुवाहरूले गाउँ–गाउँका किसान र मजदुरहरूलाई पनि नेपाल पूर्वाधार विकास कम्पनीमा लगानी गर्न आग्रह गरे। कतिले विदेशमा रहेका आफन्तलाई समेत फोन गरेर काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्गमा लगानी गर्न आग्रह गरे।

त्यसबेला भिमफेदी एक गाविस थियो। अहिले गाउँपालिका भएको छ। छेउछाउका अन्य पाँच गाविसहरू पनि भिमफेदी गाउँपालिकामै समाहित भएका छन्। भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाका अनुसार कतिपय सर्वसाधारणले त लालपुर्जा धितो राखी ऋण लिएर समेत लगानी गरेका छन्।

लामा भन्छन्, ‘गाउँलेहरू हामी जनप्रतिनिधिहरूलाई दिनहुँजसो आफ्नो लगानीबारे सोध्छन्। तर, हामीसँग कुनै जवाफ छैन। हाम्रो आँखामा समेत छारो हालियो।’

लामाका अनुसार भिमफेदी गाउँपालिकाका मात्रै ३ हजारभन्दा बढी परिवारले १० हजारदेखि १० लाख रुपैयाँसम्मका पूर्वाधार विकास कम्पनीमा लगानी गरेका छन्। ‘एक दशक हुन लागिसक्यो, न सुरुङ बन्ने छाँट छ, न स्थानीय वासिन्दाको पैसा फिर्ता गर्ने कुरा नै हुन्छ,’ उनले भने।

पूर्वाधार विकास कम्पनीले ३४.८ अर्ब रुपैयाँमा काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्ग सम्पन्न हुने अनुमान गरेको थियो। यसका लागि करिब ३६ करोड रुपैयाँ भिमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाका स्थानीयवासी र अन्य केही व्यवसायीबाट उठाएको थियो।

तर, आठ वर्ष वित्दा पनि पूर्वाधार विकास कम्पनीले थप लगानी जुटाउन सकेको छैन। यसैले, यो सुरुङ मार्गको निर्माण नै सुरु भएको छैन।  यसबीच, पूर्वाधार विकास कम्पनीका पदाधिकारीहरूले विदेशी लगानी खोज्ने बहानामा विदेश भ्रमण गर्दै मकवानपुरका स्थानीय वासिन्दाबाट उठाएको रकम खर्च गरेका छन्। प्रतिफल भने शून्य छ। केही दिनअघि मात्रै भएको विशेष साधारण सभामा पूर्वाधार विकास कम्पनीले काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्गका लागि हालसम्म ३६ करोड रुपैयाँ उठेको र त्यसमध्ये ३० करोड रुपैयाँ खर्च भइसकेको बिवरण लगानीकर्ताहरूलाई दिएका थिए। कम्पनीले आगामी असार १५ गते साधारणसभा गर्दैछ।

वडाध्यक्षकै एक लाख डुव्यो
भिमफेदी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष सिताराम थापाले पनि सुरुङ मार्ग बन्ने आशामा १ लाख रुपैयाँ पूर्वाधार विकास कम्पनीमा लगानी गरेका थिए। तर, स्थानीयबाट संकलित ३६ करोड रुपैयाँमध्ये ३० करोड रुपैयाँ खर्च भइसकेको, स्वदेश–विदेशबाट थप लगानी जुटिनसकेको र सुरुङ मार्गको सुरसार नै नरहेकोले आफ्नो लगानी लगभग डुबिसकेको निष्कर्षमा उनी पुगेका छन्।

तर, कुशकुमार जोशीको ठाउँमा केही समयअघि मात्रै गैरआवासीय नेपाली (एनआरएनए) का अध्यक्ष भवन भट्ट पूर्वाधार कम्पनीका अध्यक्ष नियुक्त भएकाले झिनो आशा भने बाँकी रहेको थापा बताउँछन्।

रेमिट्यान्स पनि डुब्यो
काठमाडौं–कुलेखानी–हेटौँडा सुरुङ मार्ग निर्माण हुने समाचार फैलिँदा भिमफेदी गाउँपालिका–६का नवराज राना दुबईमा काम गर्दै थिए। उनले विदेशबाटै पैसा पठाई आमाको नाममा १० हजार र श्रीमतीको नाउँमा १० हजार रुपैयाँको सेयर किने।

रानाले निराश हुँदै भने, ‘सुरुङ मार्ग बन्छ, विकास हुन्छ भनेर पैसा पठाएँ, तर न सुरुङ मार्गको कुनै सुरसार छ, न हाम्रो पैसा नै फिर्ता हुन्छ।

सरकारी कर्मचारी नै पीडित 
भिमफेदी गाउँपालिका वडा नं. ६ को वडा कार्यालयमा कार्यरत प्रविण थापाले पनि १० हजार रुपैयाँको सेयर किनेका थिए। उनी आफ्नो पैसा फसेकोमा निराश र आक्रोशित छन्।

‘पूर्वाधार कम्पनीका अधिकारीहरू केही समयअघि अब चाहिँ सुरुङ मार्ग बन्ने भयो भन्दै थप लगानी खोज्दै आएका थिए, तर मैले यसपालि चाहिँ तिनलाई पत्याइनँ,’ थापाले भने।

-kathmandupress

Write your Comment