बुटवल ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ज्योतिषीहरुले बकवास गर्दै हिँडेको भन्दै आक्रोश पोखेका छन् । दक्षिणाको लोभमा ज्योतिषीहरु प्रयोग भएको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे ।
जितगढीमा शनिबार आयोजित विजयोत्सव समारोहमा प्रधानमन्त्री ओलीले भने, ‘जनतामा जान छाडेर कतिपय दक्षिणावाला ज्योतिषीलाई उचाल्दै यसो भन्दिनुपर्यो भन्न थालेका छन् तर, कोही भ्रममा पर्ने छैन । उनले अघि भने, ‘असार लागेपछि के हुन्छ, पानी पर्छ ।’
उनले राप्रपा र विप्लव समूहमाथि पनि निशाना साँधे । राप्रपातर्फ संकेत गर्दै उनले कतिपयले भने धर्मका नाममा राजनीतिलाई अल्मल्याउन खोजेको बताए ।
‘उपद्रो गर्नुलाई केहीले क्रान्ति ठानेका छन्’ नेकपा विप्लव समूहतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संविधानविरोधी र अपराधपूर्ण क्रियाकलाप समेत भइरहेका छन्, त्यस्ताको वहकावमा नलाग्न म आग्रह गर्छु ।’
मुलुकले सुशासन र विकासको बाटो समातेको भन्दै उनले अब अल्मलिन नसकिने बताए । नेपाल दुनियाँको गरीब देश हो भन्ने पहिचान बदल्ने आफ्नो अभिष्ट रहेको भन्दै ओलीले समृद्ध नेपाल सुखी नेपाली नारा त्यत्तिकै अघि नसारिएको बताए ।
नेपाली सेनाको प्रशंसा गरेका प्रधानमन्त्री ओलीले नेपाली सेनालाई वंश र व्यक्तिसँग जोडेर हेर्न नहुने धारणा राखे ।
समारोहमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जितगढी जस्तै नेपालले युद्ध जितेका स्थानहरुको संरक्षण र विकास गर्ने अभियान जितगढीबाट शुरु भएको बताए ।
कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कांग्रेस प्रमुख सचेतक बालकृष्ण खांण, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी लगायतले जितगढीलाई ऐतिहासिक सम्पदा स्थल र पर्यटकीय स्थलका रुपमा विकास गर्न संघ ,प्रदेश र स्थानीय सरकारबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।
-0nlinekhabar.com
Write your Comment