बारामा जनता आवास कार्यक्रम – राहतभन्दा आहत बढी

बारा जिल्लामा गत बर्षबाट सूरु भएका ९ सय ९३ वटा घरमा ९ मात्रै पूर्ण रुपमा तयार भएको र बाँकी अधुरो रहेको कार्यालयको जानकारीमा छ ।

पुष्पराज खतिवडा

 ७ बैशाख २०७६, शनिबार २३:३४  मा प्रकाशित
१४० पाठक संख्या


बारा ।

कलैया उपमहानगरपालिका २१ भोडाहाका जोगेन्द्र मल्लीक ५४ बर्षका भए । छोराबुहारी नातीनातिना गरी सातजनाको परिवार छ मल्लीकको । बाँसका भकारी, मान्द्रो, पंखा लगायतका सामाग्री बनाउने काम गर्दै आएका मल्लीक बस्दै आएको घर आधा लडिसकेको छ । बर्षायाम लाग्नै लाग्दा अब बालबच्चा कहाँ लगेर जोगाउने भन्ने चिन्ताले मल्लीकलाई सताइरहेको छ ।

उनको कमाईले घरको पुनः मर्मत गर्ने अवस्था छैन । आर्थिक अवस्था दयनिय छ । छाप्रो कुनबेला लड्ने हो ठेगान छैन ।

जनता आवास कार्यक्रमले अघिल्लोे बर्षबाट बनाई दिन थालेको दुईकोठे घर अधुरै छ । ‘घरको अवस्था यस्तो छ, सरकारले बनाईदिने भनेको घर दुईबर्ष हुन लाग्यो, खै बनाइदिएन । आँधीहुरी आई रहन्छ, कुनबेला के हुन्छ’, मल्लिकले भने , ‘छिटै तयार होलाकी भनेर छाप्रो नि मर्मत गरिएन, बर्खाको चिन्ता छ ।’
जोगेन्द्रसँगै उनका छोरा रमेशपनी बाँसको सामाग्री बनाउने काम गर्दछन् । रमेशका १ छोरा र ३ छोरी गरी १० बर्ष मुनीका चार सन्तान छन् । कमजोर आर्थीक अवस्थाका कारण स्कुल जाने उमेरका दुई छोरीहरु समेत स्कुल जादैनन् ।

रमेशकी जेठी छोरी १० बर्षिया सुगान्धी कुमारीले भने बुवाले किताब कापी किनिदिन नसकेका कारण स्कुल नगएको गुनासो गरिन ।
तर रमेशको भने बाँसका सामाग्री बनाएको आम्दानीले घरखर्च समेत नपुग्ने गुनासो छ । उनी भन्छन् ‘बाँसको काम गर्दा अलीअली कमाई हुन्छ , कमाईले परिवारको खानपान मै मुस्कील हुन्छ , कसरि किनीदिनु कापी कलम ?’

‘बालबच्चा साना छन् हावाहुरी र पानी आउँदा यिनीहरुलाई अर्काको घरमा लगेर लुकाउने गरेका छौं । कम्तीमा सरकारले धमाधम काम गरिदिएको भए , बालबच्चा घरमै छाडेर ढुक्कले कमाउन पाईन्थ्यो रमेशले सुनाए ।’ उनले थपे ।

मल्लिक परिवारको आर्थीक अवस्था दयनिय छ । बच्चाहरु स्कुल जाने वातावरण बनाउन नै छैन । धेरै पटक लैजाने प्रयास गरेपनी असफल हुनु परेको स्थानिय दलित अगुवा विजय रामले बताए ।

स्कुलमा सबै सामाग्री ब्यवस्थापन गरेपनी घरयासी समस्याका कारण बालबालिकाहरुलाई स्कुल पठाउन मल्लिक परिवारले सकेको छैन, रामले भने ।
मल्लिक जस्तै जिल्लाका अधिकांश विपन्न समुदायको अवस्था दयनिय छ । निर्माणधिन घरको र बसोबासको अवस्था उस्तै छ ।
उनीहरुको बसोबासका लागि सरकारले अघि सारेको कार्यक्रम ब्यवस्थापनमा जिम्मेवार निकायले लापरवाही गरेको कलैया उपमहानगरपालिका २१ का अध्यक्ष पुनदेव प्रसाद रौनियारको गुनासो छ ।

गतबर्षको असोजबाट बढीमा ६ महिनामा सम्पन्न हुने गरी निर्माण सुरु गरिएकोमा दुई बर्ष हुनै लाग्दा समेत घर नबनेको जोगेन्द्रकी भाउजु ज्योतीया मल्लीकको पिँडा पनी टिठ्लाग्दो छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको जनता आवास कार्यक्रमले जिल्लाका ९ सय ९३ विपन्न दलित परिवारका लागि कार्तिक महिना भित्र हस्तान्तरण गर्ने गरी २ कोठे घर बनाईदिन सुरु गरेको थियो । यद्यपी हालसम्म एकचौथाई काम समेत भएको छैन ।

बारा जिल्लामा गत बर्षबाट सूरु भएका ९ सय ९३ वटा घरमा ९ मात्रै पूर्ण रुपमा तयार भएको र बाँकी अधुरो रहेको कार्यालयको जानकारीमा छ ।
शहरि विकास तथा डिभिजन कार्यालय पर्साका डिभिजन ईन्जीनियर सरोज कुमार गोईतले सम्बन्धित सबैका अधुरा घरहरुको निर्माण कार्यमा कार्यालय लागेको बताए ।

उनले स्थानिय भवन निर्माण समितिको खातामा पैसा पठाउने काम चाँडै सुरु हुने बताए । कतिपय घर पाएकाहरुले आफुले गर्नुपर्ने काममा समेत नगरिदिँदा समेत कामले गती लिन नसकेको गोईतको भनाई छ ।

Write your Comment