देशभर ज्यानमारा दुर्घटना : चालकको मृत्युसँगै घटना सामसुम, किन हुँदैन अनुसन्धान ?

रातोघर

 ८ बैशाख २०७६, आईतवार २३:४७  मा प्रकाशित
२२८ पाठक संख्या



काठमाडौं ।

 गत असार २२ गते मनाङमा एउटा टिप्पर दुर्घटना हुँदा २० जनाको मृत्यु भयो । सबैजना टिप्परको पछाडि ढालामा बसेका थिए ।

मृतक २० जनाका परिवारलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँका दरले १ करोड रुपैयाँ सडक निर्माण कम्पनी विरुवा कन्सट्रक्सनले राहत रकम दिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी इन्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) तुलबहादुर कार्कीले बताए ।

‘अन्य घाइतेमध्ये १० जना अझै पनि उपचारको क्रममा छन् । ७ जना उपचारपछि घर फर्किसकेका छन् । घाइतेको उपचार खर्च विरुवा कन्ट्रक्सनले व्योहोरिरहेको छ,’ उनले भने ।

घटनामा चालकको समेत मृत्यु भएकाले अरू कुनै पनि कारवाही नभएको उनले बताए ।

२०७५ फागुन १७ गते दार्चुलामा जीप दुर्घटना हुँदा ११ जनाले ज्यान गुमाए । गत साउन ११ गते त्रिशूली नदीमा बस खस्दा ७ जनाको मृत्यु भयो ।

माथि उल्लेखित दुर्घटना उदाहरण मात्रै हुन् । २०७५ वैशाखदेखि चैत्र मसान्तसम्म देशैभर ११ हजार ९ सय १८ वटा दुर्घटना भए । दुर्घटनामा परेर १९ हजार ६ सय ७३ वटा सवारी साधनमा २ हजार ५ सय ६४ जनाले ज्यान गुमाएको तथ्याङ्क प्रहरीसँग छ ।

काठमाडौं उपत्यकामा मात्रै ६ हजार २ सय ८२ वटा दुर्घटना भएका छन् । जसमा १ सय ९२ जनाको मृत्यु भएको छ भने ४ हजार ५ सय ३० जना घाइते भएका ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्तले बताए ।

चालकको मृत्यु भएपछि सामसुम !

चालककै मृत्यु हुनेगरी हुने दुर्घटनामा कारवाहीका लागि स्पष्ट कानूनी व्यवस्था छैन । सोही कारण यस्ता दुर्घटनामा मृतक परिवारलाई राहत उपलब्ध भएपछि उक्त फाइल बन्द गरिदिने गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

दुर्घटनामा मुख्य दोषी चालकलाई ठहर्‍याउने कानूनी व्यवस्थाले चालकको नै मृत्यु भएको अवस्थामा थप अनुसन्धानका लागि बाटो नै बन्द हुन्छ ।

दुर्घटनामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ आकर्सित हुने गरेको छ । उक्त ऐनमा दुर्घटनामा चालकलाई कारवाही गर्ने व्यवस्था उल्लेख छ ।

ऐनको दफा १६१ उपदफा (३) मा भनिएको छ- ‘कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दुईहजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’

नियतवश दुर्घटना गराएको देखिएमा चालकलाई हुने सजाय अलि कडा छ । उक्त दफाको उपदफा (१) मा भनिएको छ – ‘कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरूप एक्काइस दिनभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई जन्मकैद हुनेछ । कसैले ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरेकोमा ज्यान मर्न पाएको रहेनछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार पाँच वर्षदेखि बाह्र वर्षसम्म कैद हुनेछ ।’

किन हुन्छ दुर्घटना ?

प्रायःजसो प्रहरीको आँखा छलेर छत तथा क्षमताभन्दा बढी यात्रु राख्दा धेरै दुर्घटना हुने गरेको बताउने गरिएको छ । सडक यातायातसँग सम्बन्धित निकायले सचेत नहुँदासम्म दुर्घटना कम नहुने प्रहरीका पूर्वएआईजी जयबहादुर चन्दले बताए ।

‘जबसम्म देशका सबै सम्बन्धित निकाय जस्तैः सडक विभाग, यातायात मन्त्रालय, यातायात व्यवसायी, स्वयं हामी सचेत हुँदैनौं र कर्तव्य ठान्दैनौं, तबसम्म दुर्घटना कम हुँदैनन्,’ उनले भने ।

‘पुलिस वा ट्राफिक पुुलिसलाई मात्रै दोष दिएर नहुने बताउँदै प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले समुदाय, स्वयं व्यक्तिमा जनचेतना हुनु जरुरी रहेको बताए । ‘सडक विभाग, स्थानीय निकाय, सडक बनाउने इन्जिनियरदेखि अनुगमन गर्ने सबै सम्बन्धित निकायले ध्यान दिनुपर्छ,’ उनले भने ।

दुर्घटना कम गर्न प्रहरीले देशैभर सामुदायिक प्रहरी अभियान चलाएको छ । अभियानका क्रममा प्रहरीले मादक पदार्थ सेवन र दुर्घटना कम गर्ने सम्बन्धमा जनचेतना जगाउँदै आएको छ ।

‘विवाह तथा कुनै कार्यक्रममा गाडी लैजाँदा चालकलाई हामी कति प्राथमिकता दिन्छौं ? यो पनि महत्त्व राख्छ । चालकलाई असर पर्ने गरी क्रियाकलाप गर्ने, जबर्जस्ती छतमा चढ्ने पनि हामीले गर्नु हुँदैन,’ प्रवक्ता सुवेदीले भने ।

सवारी साधनबाट सरकारले वार्षिक २ अर्बभन्दा बढी राजस्व उठाउँदै आएको छ । तर पनि सडक विस्तार, स्तरोन्नति, सडकको राम्रो परीक्षण तथा मूल्यांकन नगरिकनै यातायात व्यवसायीलाई सवारी रुट परमिट दिँदा पनि दुर्घटना भएको देखिएको छ ।

-lokantar

Write your Comment