काठमाडौं ।
निर्माण व्यवसायी संघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा पक्राउ परेका मुख्य योजनाकार गुन्डा नाइके समीरमानसिंह बस्नेतले कारागारभित्र मोबाइल प्रयोग गर्ने गरेको शंका प्रहरीले गरेको छ ।
निर्माण व्यवसायीमाथि केही दिनअघिबाट समीर समूहको नाम लिएर इन्टरनेटबाट फोन गरेर रकम माग गर्दै धक्की आउन थालेपछि समीरमाथि प्रहरीले निगरानी बढाएको थियो ।
अनुसन्धान गर्ने क्रममा सुन्धारा कारागारभित्रको लोकेसनबाट एउटा मोबाइल नम्बर समीरलाई यसअघि सहयोग गर्ने विभिन्न व्यक्तिसँग सम्पर्क भएको देखिएको हो । यो नम्बरबाट समीरले नै आफ्ना सहयोगीसँग सम्पर्क गरेको प्रहरीको शंका छ ।
‘कारागारको लोकेसनबाट एउटा नम्बर यसअघि समीरलाई सहयोग गर्ने विभिन्न व्यक्तिसँग सम्र्पक भएको देखिएको छ । हामी थप अनुसन्धान गरिरहेका छौं,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले थपे, ‘यो नम्बर समीरले चलाएको हुन सक्ने शंका छ ।’
निर्माण व्यवसायीमाथि धम्की आएको उजुरी व्यवसायीले गृह मन्त्रालयदेखि प्रहरी प्रधान कार्यालयसम्म दिएका छन् । धम्कीबारे प्रहरीको केन्द्रीय अनुुसन्धान ब्युरो (सीआईबी) महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार सुन्धारा कारागारमा राखिएका अर्का गुन्डा नाइके रमेश बाहुन भनेर चिनिएका सुजन पौडेल, नेपालगन्ज क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधि गर्दै आएका रिगल ढकालकै समूले निर्माण व्यवसायीबाट रकम असुल्न धक्की दिएको हो ।
दुई वर्षअघि २३ असोज २०७४ मा आफूले मागेको साढे २ करोड रुपैयाँ रकम नदिएको भन्दै समीरको निर्देशनमा गौचनको हत्या भएको थियो । समीर १७ मंसिर २०७४ मा पक्राउ परेका थिए । यसरी नै रमेश बाहुन २०७१ सालमा हत्या र लागूऔषध कारोबार अभियोगमा पक्राउ परेका थिए । रिगल र समीर हाल सुन्धारा कारागारको गोलभित्र छन् ।
उनीहरूको घाम ताप्ने बहानामा कारागारभित्र नियमित भेटघाट हुने गरेको प्रहरीको भनाइ छ । यसअघि समीर नख्खु कारागारबाट मुस्ताङ सरुवा भएका थिए । तर, उनकी श्रीमती माया शेरचनले प्रहरीले इन्काउटर गर्न मुस्ताङ सरुवा गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् ।
सर्वाेच्च अदालतमा उपस्थित हुन बोलाइएका समीर हालसम्म पनि सुन्धारा कारागारमै छन् । त्यस्तै, हत्या अयियोगमा जुम्ला कारागार राखिएका रिगललाई केही महिनाबाट सुन्धारा कारागारमा ल्याइएको हो ।
-shilapatra
Write your Comment