जनकपुरधाम ।
धनुषाका श्रवण यादव (जोगकुमार बर्बरिया यादव) को नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सोमवार सार्वजनिक गरेको सूचीमा धनुषा जिल्ला सचिवका रूपमा उल्लेख छ ।
पूर्व माओवादीका पुराना र अनुभवी नेता श्रवण नेकपाका केन्द्रीय कमिटी सदस्य समेत हुन् । पार्टी एकता अघि उनी माओवादी धनुषा जिल्ला कमिटीमा नभएर केन्द्रीय कमिटीमा थिए ।
जिल्ला कमिटी अध्यक्ष थिए, झल्खु यादव । लामो समयसम्म मिल्न नसकेको जिल्ला कमिटी एकता टुंग्याउने क्रममा दुवै पार्टीका जिल्ला अध्यक्षमध्ये एकलाई अध्यक्ष र अर्कालाई सचिव बनाउने गरी सहमति भयो ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उक्त सहमतिलाई आइतवार पार्टी सचिवालयले पनि अनुमोदन गर्यो ।
उक्त सहमति अनुसार धनुषाको जिल्ला नेतृत्व एमालेको भागमा परेकाले पूर्व एमालेका तत्कालीन जिल्ला अध्यक्ष राजकिशोर यादव नेकपाको जिल्ला अध्यक्ष बने ।
जिल्ला सचिव पूर्व माओवादीको भागमा पर्यो । पूर्व माओवादीका तत्कालीन अध्यक्ष सचिव हुँदा झल्खु यादवको नाम हुनुपर्ने हो । तर, नेकपाले सोमवार सार्वजनिक गरेको सूचीमा श्रवण यादवको नाम छ ।
सूचीमा नाम आउँदा श्रवण आफ्नो घटुवा भएको ठानेर असन्तुष्ट छन् भने आफ्नो नाम नआएकोमा झल्खुको पनि असन्तुष्टि छ ।
श्रवण र उनका छोरा (उदय बर्बरिया यादव, मेयर, शहीदनगर नगरपालिका) दुवैको मोबाइल अफ छ । धनुषाकै पूर्व माओवादी नेता एवं प्रदेश सभा सदस्य रामचन्द्र मण्डल पार्टीले कमजोरी गरेको बताउँछन् । ‘पार्टीको केन्द्रीय सदस्य भएको मान्छे जिल्ला कमिटीमा कसरी बस्न सक्छ ? पार्टीले त्यसलाई सच्याउनु पर्नेहुन्छ,’ मण्डलले लोकान्तरसँग भने ।
केन्द्रीय कमिटीमा रहेर पनि जिल्ला सचिव मनोनित हुने श्रवण एक्ला भने होइनन् । तर उनलाई अन्यलाई जस्तो साविक जिल्ला अध्यक्ष भएकाले सचिव बन्नै पर्ने बाध्यता छैन ।
सोही कारण असन्तुष्ट बनेका श्रवण मोबाइल अफ गरेर बसेका छन् ।
तनावमा झल्खु !
यता झल्खुको आफ्नै गुनासो छ ।
‘कार्यदलले पनि मेरो नाम सिफारिस गर्यो । साविकको अध्यक्षको हिसाबले नीतिगत रूपमा मेरो नाम हुनुपर्ने हो,’ पूर्व माओवादीका जिल्ला अध्यक्ष रहेका झल्खुले लोकान्तरसँग गुनासो गरे, ‘जीवन कमरेड (श्रवण यादव)को नाम सिफारिस नै भएको थिएन, कसरी यस्तो भयो ?’
उनले थपे, ‘नेताको खल्तीबाट नाम जाँदो रहेछ, यो अन्याय नै हो ।’
झल्खुले २०७० सालदेखि धनुषामा आफू नै माओवादी पार्टीको अध्यक्ष रहेको बताए ।
-lokantar
Write your Comment