झुक्यायो सरकारले !

भन्छन्ः एक किलो मासु ल्यायो दसैं, कुम्लो बोकी बसाइँ !

रातोघर

 १० बैशाख २०७६, मंगलवार ०५:४५  मा प्रकाशित
१८७ पाठक संख्या


काठमाडौं ।

वनस्थलीबाट करिब साढे दुई किलोमिटर उत्तर–पश्चिम इचंगुनारायणमा पाँचवटा ठूला भवन छन् । झट्ट हेर्दा व्यापारिक प्रयोजनका लागि बनाइएका जस्ता लाग्छन् ।

भवनमा खानेपानी, शौचालय, बिजुली, पार्किङ, बगैंचा, बैठक हलदेखि बालबालिकाका लागि चौरसम्मको सुविधा छ । ६ रोपनी ८ आनामा निर्मित ती सुविधासम्पन्न भवन ६ वर्षदेखि खाली छन् ।

भवन बिक्री नभएर खाली भएका होइनन् । न बिक्रीका लागि नै बनाइएका हुन् । भूमिहीन भएकै कारण नदी किनारामा कष्टकर जीवन बिताइरहेका सुकुमबासीलाई सुरक्षित आवासमा सार्ने योजनाअनुसार भवन निर्माण गरिएका हुन् ।

सुकुमबासी भने अझै नदी किनारामै छन् ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपत्यकाका सडक विस्तार गर्ने र नदी किनारका बस्ती हटाउने योजना सार्वजनिक गरे । भट्टराईको योजनाअन्तर्गत सरकारले २०६९ सालमा गरिब तथा सुकुमबासीका लागि भवन निर्माण गरेको हो ।

सरकारी योजनाअनुसार सहरी विकास तथा भवन निर्माण विभाग काठमाडौंको नेतृत्वमा न्यून आय भएका र सुकुमबासीका लागि आवास निर्माण गरियो ।

१२ करोड रुपैयाँ लगानी गरेर भवन निर्माण गरिएको हो । दुई स्थानमा निर्माण गरिएका भवनमध्ये एउटामा १ सय १ र अर्कोमा १ सय ३५ वटा गरी २ सय ३६ वटा फ्ल्याट छन् ।

सुकुमबासीलाई बेच्न खोजियो सरकारी फ्ल्याट

६ वर्षअगाडि सरकारले सुकुमबासीका लागि भवन बनाएको सुनेर सुकुमबासी बस्तीमा खुसी छायो । उनीहरूले आफ्नै घरमा बस्न पाइने सपना देखे । त्यसपछि थापाथलीका सुकुमबासीले बिनाअवरोध आफ्नो बस्तीमा डोजर चलाउन दिए । तत्कालीन सरकारले थापाथलीलगायतका उपत्यकाका धेरै सुकुमबासी बस्ती भत्कायो ।

तर, सरकारले सुकुमबासीलाई नयाँ घरमा बस्ने वातावरण बनाइदिएन । उनीहरू नदी किनारामै फर्किन विवश भए । भवन निर्माणको ६ वर्ष बित्दा पनि सुकुमबासीले भवन प्रयोग गर्न पाएनन् ।

सुकुमबासीले ती भवनमा स्थानान्तरण हुन अनेक प्रयास गरे । सकेनन् । बरु उनीहरूसँग पैसा मागियो ।

‘हामीलाई त्यहाँ लाने भनियो, तर, त्यो फ्ल्याट आफ्नो नाममा गर्ने भए १९ लाख रुपैयाँ तिुर्नपर्ने शर्त राखियो,’ थापाथलीकी कमला लामाले सरकारी भवनमा सुकुमबासी नजानुको कारण बताइन् ।

‘नामसारी नगर्ने भए मासिक ५ हजार भाडा तिर्नुपर्छ भने,’ कमला भन्छिन्, ‘त्यति रुपैयाँ तिर्न सक्ने भए त हामी काठमाडौंमै भाडामा बस्थ्यौं नि !’

सुकुमबासीले फ्ल्याटको मूल्य तिर्न नसकेपछि भवन खाली रहेको तत्कालीन इचंगुनारायण टाउन प्लानिङ समितिका सचिव राजीव लामाले बताए ।

तर, भवन निर्माणको नेतृत्व गरेको सहरी विकास तथा भवन निर्माण विभाग काठमाडौं डिभिजन कार्यालयले सुकुमबासी पहिचान गर्न नसकिएको बताएको छ । सुकुमबासी पहिचान गर्न नसकिएकै कारण भवन खाली राख्नुपरेको विभाग बताउँछ ।

तर, तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई भने तीन महिना लगाएर काठमाडौं सरहका वास्तविक सुकुमबासी पहिचान गरिएको बताउँछन् ।

‘हामीले तीन महिना लगाएर नदी किनारका सुकुम्बासीको पहिचान गरेका थियौं । सुकुमबासी पहिचान पनि भइसकेका थिए,’ डा. भट्टराईले भने ।

सरकारले सुकुमबासीका लागि बनाइएका ती भवन मुख्यमन्त्री निवासका लागि प्रयोग गर्न खोजेको थियो । तर, मुख्यमन्त्रीले इन्कार गरेपछि सरकार पछाडि हट्यो ।

ती भवनमध्ये एउटा भवनको तल्लो तलामा नागार्जुन नगरपालिका–१ को कार्यालय, सहरी स्वास्थ्य केन्द्र र प्रहरीको अस्थायी पोस्ट सञ्चालित छ ।

नगरपालिकाले ती भवनमा स्वरोजगार तालिम केन्द्र खोल्न संघीय सरकारलाई अनुरोध गरेको छ ।

‘यी भवनमा स्वरोजगार तालिम केन्द्र खोल्नुपर्यो भन्दै हामीले श्रम मन्त्रीलाई आग्रह गरेका छौं,’ नागार्जुन नगरपालिका–ं१ का वडाध्यक्ष रामचन्द्र लामाले भने ।

संघीयता लागू नहुँदै निर्माण गरिएकाले भवनमा स्थानीय तहको अधिकार लाग्ने बताउँछ नागार्जुन नगरपालिका । त्यस्तै, नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेत स्थानीय तहले आफ्नो सुविधाअनुसार भवन प्रयोग गर्ने बताउँछन् ।

‘सुकुमबासीका लागि निर्माण गरिएका भवन आफ्नै क्षेत्रका गरिब नागरिकले प्रयोग गर्न पाउनुपर्ने बताउँछन् वडाध्यक्ष लामा । उनी भन्छन्, ‘निम्न आय भएकालाई दिने भए पनि पहिलो प्राथमिकता यहीकाँ स्थानीयलाई दिनुपर्छ भन्ने हो ।’

‘बाहिरका मान्छे आए भने यहाँको वातावरण पनि बिग्रन्छ । समाजमा केही समस्या हुन्छ कि ? ’ लामाले भने ।

झुक्यायो सरकारले !

सरकारले घर भत्काइदिएपछि सुकुमबासीले फेरि थापाथलीमै घर बनाए । सरकारले घर बनाइदिने भनेर आफूहरूलाई झुक्याएको बताउँछिन् कमला लामा ।

‘हामी गरिबलाई झुक्यायो सरकारले,’ उनी भन्छिन्, ‘अब त सरकारले हाम्रा लागि केही गर्ला भन्ने आस पनि छैन ।’

अहिले पनि सरकारले आफूहरूलाई हटाउने तयारी गरेको भन्दै लामा भन्छिन्, ‘अहिले पनि २ महिनाबीचमा कतै हटाउने हो भन्ने सुनेको छ ।’

तर, अब सरकारसँग डटेर प्रतिरोध गर्ने तयारीमा छ सुकुमबासी बस्ती ।

‘हामीलाई बारम्बार झुक्याउने ? अब त हामी यहाँबाट कतै जाँदैनौं,’ लामाले भनिन् ।

थापाथली कै सुकुमबासी सुनमाया मगर सरकारले भन्दैमा आफूहरू बसिरहेको ठाउँ नछाड्ने बताउँछिन् ।

उनी भन्छिन्, ‘उनीहरूको काम भन्ने हो, हाम्रो काम बस्ने हो ।’

आफूहरूको नाममा बनेका घरमा बस्न पाउनुपर्ने भन्दै आन्दोलन गर्ने पनि सोचेका थिए सकुमबासीले । तर, आन्दोलन गर्यो भने बसिरहेकै ठाउँबाट पनि उठाउँछ कि भन्ने डरले आफूहरू चुपचाप लागेको बताइन लामाले ।

अब जे जस्तो भए पनि नदी किनारामै सन्तोक मानेर बस्ने बताउँछिन् लामा ।

‘भए पनि ठीकै, नभए पनि ठीकै । मन सन्तोक गरेर बस्नुपर्छ । छैन भनेर रोएर हुने होइन,’ लामाले भनिन् ।

सुकुमबासी बस्ती जहिल्यै उजाडिने बताउँदै लामा भन्छिन्, ‘एक किलो मासु ल्यायो दसैं, कुम्लो बोकी बसाइँ ।’

-shilapatra

Write your Comment