काठमाडाैं ।
सरकारले बारा र पर्सा जिल्लामा हावाहुरीबाट प्रभावित घर पुनर्निर्माणका लागि सेनालाई करिब ८५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार बारा र पर्साका १४ सय ५३ घरहरुको पुनर्निर्माणका लागि ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ नेपाली सेनालाई उपलब्ध गराउने निर्णय सरकारले गरेको छ ।
जनता आवास कार्यक्रमको मोडलअनुसार हुरीप्रभावित क्षेत्रका घर पुनर्निर्माण गरिने सरकारले बताएको छ ।
सरकारले यसअघि नै बारा र पर्सामा हावाहुरीबाट क्षतिपुगेका घर पुनर्निर्माणको जिम्मा सेनालाई दिने निर्णय गरिसकेको छ । गत वर्ष १७ चैतमा बारा र पर्सामा आएको हावाहुरीले २९ जनाको मृत्यु भएको थियो भने ६ सय जना घाइते भएका थिए ।
कतारका लागि नेपाली राजदूत फिर्ता
सरकारले कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
राजदूतलाई किन फिर्ता बोलाउन लागिएको भन्ने प्रश्नमा सरकार प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री बाँस्कोटाले भने, ‘सरकारलाई फिर्ता बोलाउन आवश्यक लाग्यो, बोलायो ।’
सरकारले आफ्नो आवश्यकताअनुसार गर्ने बताउँदै उनले भने, ‘सरकारले जे आवश्यकता महसुस गर्छ, त्यहीअनुसार गर्छ । सरकारको कार्यक्षेत्रभित्र पर्ने हुनाले किन कसो भन्ने सोध्नु पर्दैन ।’
कोइराला शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्त गरेका राजदूत हुन् ।
सरकारले आगामी आवदेखि संघ र प्रदेश सरकारको बजेटको मोडालिटी एउटै बनाउने निर्णयसमेत गरेको छ । आर्थिक अनुशासन कायम गर्ने भन्दै यस्तो निर्णय गरिएको हो ।
-shilapatra
Write your Comment