सेलाङ डाँडा पुग्नेबित्तिकै घामले ‘बाई–बाई’ ग¥यो । लामा र फिक्का छाया विलय भइहाले । देखियो, हाडे उनिउँको जंगल फाँडेर बसाइएको तीन चकला बस्ती । हाडे उनिउँले नै छाए–बारेको करिब डेढ सय वटा झुप्रा । माथिबाट हेर्दा बस्ती निकै सुन्दर देखिन्थ्यो । पारिपट्टि जुगल हिमाल, वरिपरि हरियो बुट्यानको झाडी, बीचमा लस्करै मिलाएर बनाइएका झुप्रा, तल एउटा सानो खहरे खोला ।
लाग्यो, गाउँमा त हावा नै खाएर पनि बाँच्न सकिन्छ । तर, सत्य फरक रहेछ ।
क्रमशः भोक र थकाइले गाँज्न थाल्यो । जुगल हिमालबाट आएको सिरेटोले हिर्काउन थाल्यो । अनि बिस्तारै बस्तीतिर झ-यौं ।
तीनचार वटा झुप्रामा चियायौं । झुप्रा मान्छेविहीन रहेछन् । एकैछिन त आत्तियौं । किनकि, हामी सेलाङमै रात बिताउने योजनामा थियौं । साँझ छिप्पिन थालिसकेको थियो, फर्कने सम्भावना थिएन । अब कहाँ बस्ने, के खाने ?
बस्ती छेवैको चउरमा पुगेर बस्यौं । कोही आउने आसमा तलमाथि हेरिरह्यौं । त्यतिकैमा एक महिला तलतिरबाट आउँदै गरेको देख्यौं । थोरै भए पनि खुसीको सञ्चार भयो ।
रिपोर्टिङ गर्नु थियो– भूकम्पपछि सात गाउँबाट विस्थापित भएर सिन्धुपाल्चोकको सेलाङस्थित जंगलमा बसिरहेका भूकम्पपीडितबारे ।
उनी नजिकै आइपुगेपछि हामीले ‘नमस्ते’ भन्यौं । उहाँ बेस्मारी लजाउनुभयो । बोल्नुभएन । अनि, म उठेरै उहाँछेउ पुगें र भनें, ‘दिदी, हामी काठमाडौंबाट आएको, तपाईंहरूसँग भेट्न भनेर ।’
उहाँले अझै मुख खोल्नुभएन । मुस्कुराउनुभयो । केही बेरपछि उहाँले तामाङी लवजमा भन्नुभयो, ‘म त राम्रोसँग नेपाली बोल्न जान्दिनँ’ ।
फेरि विनम्रतापूर्वक बिस्तारै भनें, ‘दिदी, हामी तपाईंहरूलाई भेट्न काठमाडौंबाट आएको । तपाईंहरूसँग केही कुरा गर्नु थियो, त्यसैले । अनि, दिदीको घरचाहिँ कुन हो नि !’
चोर औंलाले एउटा टहरो देखाउँदै भन्नुभयो, ‘घर त छैन सार । हामी ऊ त्यो छाप्रोमा बस्छौं । सारहरू पनि यतै आइज न !’
दिदीको पछि लाग्यौं । उहाँ एउटा सानो झुप्रोअघि पुग्नुभयो र बोरा काटेर बनाएको ढोका खोल्नुभयो । भित्र पस्न अनुरोध गर्नुभयो । भुप्रोभित्र पस्नेबित्तिकै हामी स्तब्ध भयौं । ढोकाजस्तोको छेवैंमा तीनतिर ढुंगा राखेर बनाएको अँगेनु, अँगेनुमाथि कोदोको ढिँढोको माम्री कटकटिएको पुरानो, कालो फलामे कराही, अँगेनुको छेवैंमा एक–दुईवटा सिल्भरका थाल, बोटुका र अम्खोरा लडिरहेको, एकापट्टि कुनामा नल–पराल ओच्छ्याएर त्यसमाथि राखिएको कालो÷मैलो डस्ना, एउटा सुकिलै ब्ल्याङ्केट (सायद कसैले राहत दिएको होला), एउटा कुनामा कुखुरा छोप्ने डोको र अरू केही खिच्रिमिच्रि ।
दुईटा कुखुराका पोथी डोकोभित्र कराइरहका थिए । दिदीले पोथीलाई छाडिदिनुभयो । पोथीहरू हान्निँदै आएर ढिँढोको माम्री ठुङे र स्वच्छन्द हुँदै बाहिरिए ।
दिदीले टुसुक्क अँगेनुको छेवैमा बस्दै भन्नुभयो, ‘सरहरूलाई भोक लाग्यो होला, के खान्छ त ?’
भोक नै हरायो ।
‘भर्खर खाजा खाएर आएको, केही नखाने,’ भन्यौं ।
तर, उहाँको मन मानेन, त्यहीं ढिँडोको माम्री र नुनखुर्सानी सिल्भरको थालमा हालेर दिनुभयो । बेवास्ता गर्नै सकेनौं । कुखुराले जुठो हालेको ढिँढोको माम्री खाँदा पनि हामीलाई दिगमिग लागेन । दिदीको प्रेमले पखालिदियो, सायद ।
दिदीले आधा बित्ता लामो सुर्ती बेर्नुभयो । मैले सल्काएर दिदीलाई नै दिएँ । खरो सुर्तीले मुखै सुकायो । दिदीसँग मागेर आधा अम्खोरा पानी पिएँ ।
दिदीले भन्नुभयो, ‘सरहरूले त जाँड खाँदैन होला, खानी भए छ ।’
मन लाग्यो औधी । दिदीले फिर्के लगाएर दुई बोटुका जाँड हाल्नुभयो । त्यसपछि सुरु भयो, हामीबीच खास दोहोरो वार्ता ।
‘दिदीको घरचाहिँ कहाँ थियो नि !’
‘ऊ….पारि गोल्चेमा । यहाँबाट हिँडेर जाने हो भने हामी आइमाईलाई दुई दिन लाग्छ,’ यति भन्दैमा दिदीको आँखा रसाइसकेको थियो ।
‘भूकम्पले तपाईंको केके बिगा-यो दिदी ?’ नम्र हुँदै साधें ।
‘संसारै लग्यो सार । १८ वर्षको छोरो म-यो, तीन वर्षकी छोरी, घरबार सबै लग्यो सार !’ दिदीले एकपटक घुँक्क गर्नुभयो अनि घोप्टो पर्दै डाँको छाड्नुभयो ।
मलाई व्यर्थै सोधेछुजस्तो लाग्यो । पाप्रा बस्न लागेको घाउ खुर्केर खुर्सानी दलिदिएजस्तो लाग्यो । अनि आफैंले मलम लगाउने प्रयास गरें, ‘नरुनुस् दिदी, सबैतिर यस्तै भएको छ ।’
सायद दिदीलाई केही ढाडस मिल्यो । मुन्टो उठाएर पछ्यौराको फेरले आँसु पुस्नुभयो । आँसु गालामा लडीबुडी गरेर च्यापुबाट छातीमा खस्यो । सिँगान चुहिँदै थियो । ठूलो बुलाकी बेस्मारी हल्लने गरी सिँगान पुछ्नुभयो । आँखा रसायो ।
एकछिन मौनता छायो ।
दिदीको सुँक्कसुँक्क आवाजबाहेक केही सुनिएन ।
दिदी आफैंले भन्न थाल्नुभयो, ‘मलाई त कालले पनि पत्याएन सार । हामी बिहानको मेलो सकेर खाना खाँदै थियौं । गोठमा गाई कराएपछि म घाँस हाल्न बाहिर निस्केको थिएँ …।’
धेरै बेरपछि यति भन्नुभयो, ‘अनि मेरो त संसार गयो सार ।’
दिदी एकोहोरो घुँक्कघुँक्क मात्रै गरिरहनुभयो । मैले भनें, ‘दिदी सम्हालिनुस् । जे नहुनु थियो, भइसक्यो । सबैतिर यस्तै भएको छ । आफूलाई सम्हाल्नुस् ।’
दिदीको रोदन केही कम भयो । अनि मैले सोधें, ‘अनि यहाँ कहिले र कसरी आउनुभयो ?’
उहाँले बेलीबिस्तार लगाउनुभयो ।
कहाँ जाने केही टुंगो छैन । मनभरि भत्केको घर र पुरिएका छोराछोरीको भारी सम्झना बोकेर दिदी सेलाङ गाविसमा पर्ने फराकिलो चौरमा आइपुग्नुभयो । जहाँ थुप्रै विस्थापित थिए । सबैको पीडा उस्तै, वेदना उस्तै ।
सबैले मिलेर चौरमा बस्ने निधो गरे । जंगलबाट स्याउला ल्याएर छाप्रो बनाए ।
दिदीले भन्नुभयो, ‘चार दिनपछि गाउँ गएर छोराछोरीको शव उत्खनन गर्यौं । भत्केको घरनजिकै छोराछोरीलाई गाडेर फेरि जंगल फर्कियौं ।’
मुटुका टुक्राजस्ता छोराछारी वियोगको पीडा छ । बस्ने ठाउँ छैन, खानेकुरा छैन । घर भत्के पनि आफ्नो गाउँ फर्कन सक्ने स्थिति छैन । पहिरो खसिरहेको थियो । गाउँको जमिन चिराचिरा परेको छ । यताउता नदी छ, तर पुल छैन । गाउँको पानीको मुहान सुकेको छ । त्यसैले गोल्चे र त्यसआसपासका विस्थापित मिलेर सेलाङमा झुप्रोहरूको बस्ती बनाए । वर्षामा झुप्रोमा पानी परेर भिजेरै भोकभोकै रात बिताउनुप-यो । हिउँमा हिउँको सिरानी हालेर सुत्नुप-यो ।
दिदीबाट भूकम्पको उपद्रो सुन्दै गर्दा लाग्यो, आँसु पिएर बाँचेकाहरूलाई किन गिज्याउन आउँछ, चाडपर्वहरू पनि !
जुगल हिमालको सिरोटेले पीडा दिन्छ । उनीहरूसँग यति धेरै वेदना छ, शब्दले वर्णन गर्नै सकिँदैन । जहाँ छाप्रो हालेर बसेका छन्, त्यो जग्गा आधा सरकारी हो भने आधा व्यक्तिको नाममा छ । उनीहरू त्यहाँ पनि कतिन्जेल बस्न पाउने हो, टुंगो छैन।
अभावै अभाव छ, पीडैपीडा छ, अन्योलै अन्योल छ । सपना कि विपना ? केही पत्तो छैन । सरकार कहाँ छ ? सरकारले के गर्ने हो ? मेही थाहा छैन ।
एउटा झुप्रोभित्रको मात्रै वास्तविकता होइन यो । यहाँका हरेक झुप्रोभित्र यस्तै यस्तै असंख्य पीडा छ ।
कुराकानी गर्दागर्दै दिदीले अँगेनुमा कराही बसालेर कोदोको पिठो मुछ्नुभयो । सिस्नो पकाउनुभयो । दिदीका श्रीमान् अबेला आउनुभयो । हामीले सँगै खाना खायौं ।
त्यही बस्यौं । सुत्यौं, अँगेनुछेवैमा एउटा थोत्रो मान्द्रो ओच्छ्याएर ।
हामी भोलिपल्ट सेलाङको विस्थापित बस्तीका झुप्रा चहार्यौं । हरेक झुप्रोमा उस्तै दर्दनाक र कारुणिक पीडा । पीडा सुनेर मन भारी भयो । पीडाको पोको बोकेर काठमाडौं फर्कियौं । अहिले पनि आँखाको डिलमै छ, त्यो करुण दृश्य ।
-shilapatra
Write your Comment