बारा ।
वंशजका आधारमा नागरिकता लिन बारा जिल्ला प्रशासन कार्यालयमा सर्वसाधारणको भीड लागेको छ। तर, सर्वोच्च अदालतले भने नागरिकता वितरण रोक्न फेरि अर्को आदेश जारी गरेको छ।
२०६३ को नागरिकता टोलीबाट जन्मको आधारमा नागरिकता पाएका अभिभावक सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गर्न गृहमन्त्रालयले परिपत्र गरेको थियो। गत चैत १९ गते गरिएको परिपत्रसँगै जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिने युवाको भीड लागेको हो।
गृहमन्त्रालयले २०६३ को टोलीबाट जन्मको आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानलाई नागरिकता दिन २०७० चैत ३० गतेदेखि रोक लगाएको थियो। जसले गदौ बाराका २५ हजारभन्दा बढी युवाले नागरिकता पाएका थिएनन्। उनीहरू नागरिकता नहुँदा समस्या खेप्दै आएका थिए।
जसले गर्दा १७ वर्ष उमेर पुगेका नेपाली किशोर तथा युवा उच्च शिक्षा अध्ययन तथा बैकिङ कारोबार गर्नबाट रोकिएका थिए। त्यस्तै, औद्योगिक क्षेत्र तथा वैदेशिक रोजगारीमा जान पनि उनीहरूलाई समस्या हुँदै आएको थियो।
गृहमन्त्रालयको परिपत्रपछि जिल्ला प्रशासन कार्यालय बाराले १३ बुँदे निर्देशिका बनाएको छ। जसमा वडा कार्यालयको सिफारिस, नाता प्रमाणित घर जग्गाको सिफारिसलगायत कागजपत्र ल्याउनु पर्ने उल्लेख छ। ति सबै कागजपत्र पेश गरेपछि पनि कर्मचारीले कयौं दिन झुलाउने गरेको करैयामाई गाऊँपालिका–१ मधुवनका रमुद हजराले बताए। कयौं दिनदेखि नागरिकता लिनेहरू सदरमुकामै बस्दै आएका छन्।
-kathmandupress
Write your Comment